काठमाडौँमा ‘आईसीटीपी २०२६’ सम्मेलन हुँदै, डेढ सय बढी रिसर्च पेपर प्रस्तुत गरिने
मंसिर ५, २०८२ १९:३५
काठमाडौँ । नेपालमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) र फोटोनिक्ससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (आईसीटीपी २०२६) आयोजना हुने भएको छ । काठमाडौँको सोल्टिमोडस्थित होटल हायात सेन्ट्रिकमा आगामी ११ देखि १४ फेब्रुअरी (माघ ८ देखि फागुन २ गते) सम्म उक्त सम्मेलन हुन लागेको हो ।
रिसर्च एन्ड इनोभेसन सेन्टर नेपाल (रिकन) र नेपाल इन्जिनियरिङ कलेजले संयुक्त रूपमा आयोजना गर्न लागेको यस सम्मेलनमा आई ट्रिपल ई (IEEE) नेपाल च्याप्टर र आई ट्रिपल ई फोटोनिक्स सोसाइटी नान्जिङ च्याप्टरले प्राविधिक सहयोग गर्नेछन् । सम्मेलनमा नेपालसहित अन्तर्राष्ट्रिय स्तरका स्नातकदेखि पीएचडी तहसम्मका विद्यार्थी तथा अनुसन्धानकर्ताहरूले १५० भन्दा बढी अनुसन्धान पत्रहरू प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।
सम्मेलनका सचिव ई. विरोध रिजालका अनुसार नेपालमा अनुसन्धानको संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । "विश्वविद्यालयहरूमा अनुसन्धानको संस्कार कम छ, सरकारले पनि पर्याप्त बजेट छुट्याउन सकेको छैन," रिजालले भने, "यो सम्मेलनले नेपालमा पनि अनुसन्धान गर्ने प्रतिभाहरूको कमी छैन भन्ने प्रमाणित गर्नेछ ।"
सम्मेलनमा दक्षिण कोरियाको केएआईएसटीका प्रा.डा. चाङ-ही ली, स्युङ हन हान र प्रा. पुल हो ली, भियतनामको इस्टर्न इन्टरनेसनल युनिभर्सिटीका प्रा.डा. नारायण सी. देवनाथ तथा चीनको नान्जिङ युनिभर्सिटीका प्रा.डा. शिलङ पान र प्रा.डा. सुपिंग झाङ 'की-नोट' स्पिकरका रूपमा सहभागी हुनेछन् ।
सम्मेलनमा आरएफ (रेडियो फ्रिक्वेन्सी) एन्ड फोटोनिक्स, एआई एन्ड मसिन लर्निङ, आईसीटी पोलिसी एन्ड डिजिटल गभर्नेन्स, रिसेन्ट ट्रेन्ड इन कम्प्युटिङ, तथा रोबोटिक्स एन्ड अटोमेसन गरी ६ विधामा अनुसन्धान पत्र प्रस्तुत गरिनेछ । छनोट भएका उत्कृष्ट पत्रहरू आई ट्रिपल ई (IEEE) को जर्नलमा प्रकाशित गरिने आयोजकले जनाएको छ ।
अनुसन्धान पत्र पठाउनका लागि १५ सेप्टेम्बरदेखि नै आवेदन खुला गरिएको छ । ३० नोभेम्बरसम्मको समयसीमा तोकिए पनि यसलाई १५ दिन थप गर्ने तयारी भइरहेको छ । इच्छुक अनुसन्धानकर्ताले riconictp.org मार्फत पत्र बुझाउन सक्नेछन् । १५ डिसेम्बरसम्म छनोटको नतिजा प्राप्त भएपछि मात्र शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
सम्मेलनमा सहभागिताका लागि नेपाली विद्यार्थीलाई १२ हजारदेखि १४ हजार रुपैयाँ र अनुसन्धानकर्तालाई १५ हजारदेखि १८ हजार रुपैयाँ शुल्क तोकिएको छ । सार्क राष्ट्र र अन्य मुलुकका सहभागीका लागि भने शुल्क फरक हुने बताइएको छ । सहभागीहरूले दक्षिण कोरियाको केएआईएसटीद्वारा आयोजित 'ग्लोबल डिजिटल इनोभेसन' कार्यशालामा समेत भाग लिन पाउनेछन् ।
पछिल्लो अध्यावधिक: मंसिर ५, २०८२ १९:३५
