close

रन आउट भए १ करोड, भनेजस्तो खेले १० करोड ! खेलाडीले प्रस्ताव नमानेपछि यसरी समातियो प्रेम जोडी

एनपीएलमा स्पट फिक्सिङ प्रयास

हिक्मत आचार्य हिक्मत आचार्य

मंसिर ६, २०८२ ११:१४

रन आउट भए १ करोड, भनेजस्तो खेले १० करोड ! खेलाडीले प्रस्ताव नमानेपछि यसरी समातियो प्रेम जोडी

काठमाडौँ । करोडौं कमाउने सपना, भारतीय प्रेमीको साथ र नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको ठूलो मञ्च । यही महत्त्वाकाङ्क्षा बोकेर बर्दियाकी रेविका सिंह ठकुरी आफ्ना प्रेमी दिलप्रित सिंहसँगै काठमाडौँ आइपुगेकी थिइन् । तर उनको योजना प्रहरीको फन्दामा परेपछि चकनाचुर भएको छ ।

बर्दियाको बारबर्दिया नगरपालिका-८ मगरागडीकी २४ वर्षीया रेविकाको यो यात्रा केही वर्षअघि भारतको चण्डीगढबाट सुरु भएको थियो । भारतीय नागरिकसँग विवाह गरेकी दिदीको साथ पाउने भएपछि उनी उच्च शिक्षा अध्ययनका लागि उतै बस्न थालिन् । यही क्रममा उनको भेट हरियाणाका दिलप्रित सिंहसँग भयो । क्रिकेटमा गहिरो रुचि राख्ने दिलप्रितसँग रेविकाको सम्बन्ध मित्रताबाट प्रेममा बदलियो र उनीहरू सँगै अगाडि बढ्ने सपना देख्न थाले ।

लामो समयदेखि भारतका विभिन्न अनलाइन बेटिङ प्लेटफर्ममा सट्टेबाजी गर्दै आएका दिलप्रितले आम्दानीको कुरा गर्न थालेपछि रेविका पनि उत्साहित भइन् । उनले नेपालमा चलिरहेको एनपीएललाई सट्टेबाजीमार्फत कमाउने उपयुक्त अवसरको रूपमा देखे । अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने, “दिलप्रित क्रिकेटमा अत्यधिक रुचि राख्ने व्यक्ति रहेछन् । त्यही रुचिलाई उनले विभिन्न प्लेटफर्ममा बेटिङ गरेर कमाउने माध्यम बनाएका रहेछन् ।”

सट्टेबाजीमा सामान्य जितहारको अनुमानमा भन्दा खेलको बीचमा हुने दुर्लभ घटनामा मोटो रकम कमाउने अवसर हुन्छ । जस्तै कुनै खेलाडी निश्चित तरिकाले आउट हुनु, बलरले तोकिएको ओभरमा निश्चित रन दिनु वा नो बल फाल्नु जस्ता घटनाको सम्भावना कम हुने भएकाले यस्तो अनुमान मिलाउँदा कैयौं गुणा बढी रकम जितिन्छ । यही कमाइको लोभमा खेलाडीलाई आर्थिक प्रलोभन देखाएर आफूले चाहेअनुसार खेल्न लगाउनुलाई ‘स्पट फिक्सिङ’ भनिन्छ ।

दिलप्रितलाई नेपाली खेलाडीलाई सजिलै प्रलोभनमा पार्न सकिन्छ भन्ने विश्वास थियो । अनुसन्धान अधिकृत भन्छन्, “उनले हरेक टिमका खेलाडीको प्रोफाइल अध्ययन गरेका रहेछन् । खेलाडीलाई प्रलोभनमा पार्न सकिन्छ भन्नेमा ढुक्क भएपछि उनले यो प्रस्ताव रेविकालाई राखेको देखिन्छ ।”

प्रेमीको योजनामा रेविका सहमत भइन् र खेलाडीलाई सम्पर्क गर्ने जिम्मा लिइन् । उनले आफूलाई भारतीय खेलाडीलाई प्रायोजन गर्ने व्यक्तिको रूपमा चिनाउँदै एनपीएलका खेलाडीलाई इन्स्टाग्राममा मेसेज पठाउन थालिन् । “खेलाडीलाई प्रायोजन गरिदिने प्रस्ताव आउनु स्वाभाविक हो । आफूले पहिले पनि खेलाडीलाई प्रायोजन गरेको प्रमाण देखाएपछि खेलाडीहरू विश्वस्त भए र कुराकानी ह्वाट्सएपमा अगाडि बढ्यो,” अनुसन्धान अधिकृतले भने ।

योजना अनुसार खेलाडीबाट सकारात्मक प्रतिक्रिया आउन थालेपछि दिलप्रित र रेविका ३० कात्तिकमा काठमाडौँ आइपुगे । उनीहरूले सम्पर्कमा रहेका खेलाडीलाई भेट्न बोलाए । तर खेलाडीहरू ‘क्लोज क्याम्प’मा भएकाले बाहिर आउन नसक्ने बताएपछि उनीहरू आफै खेलाडी बसेको होटल पुगे ।

होटलमा भेटेर खेलाडीको मनोभाव बुझेपछि उनीहरूले आफ्नो वास्तविक योजनाको पर्दा खोले । उनीहरूले ‘रन आउट’ भएमा एक करोड रुपैयाँ दिने र आफूले भनेअनुसार अन्य काम गरेमा रकम बढाएर पाँच करोडदेखि १० करोड रुपैयाँसम्म दिने प्रस्ताव राखे । अनुसन्धान अधिकृतका अनुसार, “खेलाडीलाई एक करोड दिएर बेटिङमा १०-२० करोड लगाउँदा अर्बौं कमाउन सकिने उनीहरूको रणनीति थियो ।”

तर, उनीहरूको यो करोडौंको खेलको योजना खेलाडीको इमान्दारिताका कारण तुहियो । प्रस्ताव पाएका खेलाडीले यो सूचना तत्काल आफ्ना टिमका साथीलाई सुनाए र त्यहीँबाट यो खबर काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयसम्म पुग्यो । सूचना पाएलगत्तै प्रहरीले उनीहरूको सूक्ष्म निगरानी सुरु गर्‍यो र एनपीएलको दोस्रो दिन अर्थात् २ मंसिरमा उनीहरूलाई काठमाडौँको लाजिम्पाटबाट नियन्त्रणमा लियो ।

पक्राउ परेका दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँमा पठाइएको छ । प्रहरीले उनीहरूले कति खेलाडीलाई प्रस्ताव राखेका थिए, कसैले स्वीकारेका थिए कि थिएनन् र यो उनीहरूको पहिलो प्रयास थियो वा यसअघि पनि यस्ता गतिविधिमा संलग्न थिए भन्ने विषयमा अनुसन्धान गरिरहेको छ ।

अनसन्धान अधिकृत अगाडि भन्छन्, “अहिलेसम्म उनीहरू आफैँले बेटिङ प्लेटफर्म सञ्चालन गरेको देखिँदैन । उनीहरू अन्य प्लेटफर्ममा सट्टेबाजी गर्नका लागि खेलाडीलाई फिक्सिङमा सामेल गराउने काममा मात्र संलग्न रहेको देखिन्छ ।” बाँकी अनुसन्धान भइरहेको र विस्तारै खुल्दै जाने ती अधिकृतले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८२ ११:३०