close

स्टार्टअप कर्जाका लागि आवेदन दिने कम्पनी दोब्बर बढे, बजेट र ऋण सीमा भने कटौती

टेकपाना टेकपाना

मंसिर १०, २०८२ १९:२

स्टार्टअप कर्जाका लागि आवेदन दिने कम्पनी दोब्बर बढे, बजेट र ऋण सीमा भने कटौती

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/०८३ को स्टार्टअप उद्यम कर्जा कार्यक्रमका लागि आवेदन दिने उद्यमीको सङ्ख्या गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ । तर, उद्यमशीलतामा आकर्षण बढिरहँदा सरकारले भने यस कार्यक्रमको बजेट र ऋणको अधिकतम सीमा दुवै घटाएको छ ।

औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका अनुसार मंगलबार (९ मंसिर) सम्म तोकिएको समयसीमाभित्र १० हजार २४३ स्टार्टअप कम्पनीहरूले कर्जाका लागि आवेदन दिएका छन् । यो सङ्ख्या गत आर्थिक वर्षको तुलनामा करिब दोब्बर हो । गत आवमा पाँच हजार १५८ आवेदन परेको थियो ।

प्रतिष्ठानका सूचना अधिकारी मणिराम गौतमका अनुसार यसपटक आठ हजार २०३ कम्पनीले अनलाइनमार्फत र दुई हजार ४१ कम्पनीले भौतिक रूपमा उपस्थित भई आवेदन दिएका छन् ।

उद्यमीहरूको उत्साह बढे पनि सरकारले यस वर्ष कार्यक्रमको बजेट २७ करोड रुपैयाँले घटाएको छ । गत आर्थिक वर्षमा एक अर्ब रुपैयाँ विनियोजन गरिएकोमा यस वर्ष ७३ करोड रुपैयाँ मात्र छुट्याइएको छ ।

त्यस्तै, उद्यमीले पाउने कर्जाको अधिकतम सीमा पनि घटाइएको छ । गत वर्ष पाँच लाखदेखि २५ लाख रुपैयाँसम्म ऋण पाइने व्यवस्था रहेकोमा यस वर्ष अधिकतम सीमा २० लाख रुपैयाँमा झारिएको छ । यद्यपि, ब्याजदर भने ३ प्रतिशतमा यथावत् राखिएको छ ।

सूचना अधिकारी गौतमका अनुसार गत वर्ष २५ लाख रुपैयाँ ऋण पाउने कम्पनीको सङ्ख्या न्यून रहेको र अधिकांशले १५ देखि २० लाखको बीचमा ऋण लिएकाले विज्ञहरूको सुझावमा सीमा घटाइएको हो ।

बजेट र सीमा घटे पनि ऋणीले सुरक्षण कोषमा जम्मा गर्नुपर्ने रकममा भने सरकारले सहुलियत दिएको छ । यसअघि कर्जाको २५ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई घटाएर १० प्रतिशत कायम गरिएको छ । यसले उद्यमीलाई कर्जाको धेरै हिस्सा चलाउन पाउने सुविधा मिलेको छ ।

प्रतिष्ठानले अब प्राप्त आवेदनहरूबाट योग्य कम्पनीहरू छनोट (शर्टलिस्ट) गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ । योग्य कम्पनीहरूको सङ्ख्या धेरै भएमा बजेट बढाउन सरकारलाई दबाब पर्न सक्ने प्रतिष्ठानको आकलन छ ।

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८२ १९:२