close

भारतीय निखिल कामतको पडकास्टमा एलन मस्क, यसकारण हुँदैछ सामाजिक सञ्जालमा चर्चा

टेकपाना टेकपाना

मंसिर १४, २०८२ १४:३१

भारतीय निखिल कामतको पडकास्टमा एलन मस्क, यसकारण हुँदैछ सामाजिक सञ्जालमा चर्चा

काठमाडौँ । भारतीय स्टार्टअप जेरोधाका संस्थापक निखिल कामतले आफ्नो पडकास्ट ‘पिपल बाइ डब्लूटीएफ’को आगामी अतिथिको रूपमा टेस्ला तथा स्पेसएक्सका सीईओ एलन मस्कलाई प्रस्तुत गर्ने भएका छन् । कामतले शुक्रबार साँझ सामाजिक सञ्जालमा एक ‘ब्ल्याक एन्ड ह्वाइट’ टिजर भिडिओ शेयर गर्दै मस्कसँगको अन्तर्वार्ताको पुष्टि गरेका हुन् ।

करिब डेढ मिनेट लामो उक्त प्रोमो भिडिओमा विश्वका सबैभन्दा धनी व्यक्ति मस्क र कामत आमने-सामने बसेर कुराकानी गरिरहेको देखिन्छ । भिडिओको क्याप्सनमा कामतले मस्कलाई ट्याग गर्दै लेखेका छन्, “धैर्यताको फल मीठो हुन्छ । भविष्य धैर्य गर्नेहरूकै हो ।”

सार्वजनिक टिजरमा कामतले मस्कको शारीरिक बनावटबारे ठट्टा गर्दै कुराकानी सुरु गरेका छन् । “तपाईं मैले सोचेभन्दा धेरै ठुलो र बलियो हुनुहुँदो रहेछ,” कामत भन्छन् । भिडिओमा दुवैजना कफी पिउँदै हँस्सीमजाक गरिरहेको देखिन्छ ।

अन्तर्वार्तामा मस्कको ‘एक्स’ अक्षरप्रतिको प्रेमदेखि ‘म्याट्रिक्स’ चलचित्रसम्मका विषयमा चर्चा भएको छ । कामतले सोधेको ‘यदि तपाईं म्याट्रिक्सको कुनै पात्र हुनुपर्ने भए को बन्नुहुन्थ्यो ?’ भन्ने प्रश्नमा मस्कले हाँस्दै जवाफ दिएका छन्, ‘आशा छ एजेन्ट स्मिथ (चलचित्रको पात्र) होइन, उ मेरो हिरो हो ।’

मस्कले अक्टोबर २०२२ मा ४४ अर्ब डलरमा ट्वीटर किनेपछि यसको नाम परिवर्तन गरेर एक्स राखेका थिए । यो पडकास्टको १६औं एपिसोड हुनेछ । यद्यपि यसको प्रसारण मिति अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

कामतले टिजर सार्वजनिक गरेलगत्तै सामाजिक सञ्जालमा यो भिडिओ वास्तविक हो कि एआईले बनाएको हो भन्ने बहस सुरु भएको थियो । रोचक कुरा त के छ भने मस्ककै कम्पनीको एआई च्याटबट ‘ग्रोक’ले समेत यसलाई ‘एआई जेनेरेटेड भिडिओ’ भनेर गलत विश्लेषण गरेको थियो । यद्यपि यो भिडिओ वास्तविक भएको पुष्टि भइसकेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले निखिल कामतको अतिथि छनोटको प्रशंसा गरेका छन् । एक प्रयोगकर्ताले यसलाई ‘जीटीए सिक्स भन्दा पहिले आएको अनपेक्षित क्रसओभर’ भन्दै टिप्पणी गरेका छन् भने अर्का एक प्रयोगकर्ताले लेखेका छन्, “निखिल कामतले भारतीय पडकास्टको परिदृश्य नै बदलिदिएका छन् ।”

निखिल कामतले ‘डब्लूटीएफ’ र ‘पिपल बाई डब्लूटीएफ’ गरी दुई ओटा पडकास्ट सञ्चालन गर्दै आएका छन् । यसअघि उनले माइक्रोसफ्टका बिल गेट्स, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, ओपनएआईका साम अल्टम्यान, युट्युबका सीईओ निल मोहन र अभिनेता रणवीर कपुर जस्ता विश्वचर्चित व्यक्तित्वसँग अन्तर्वार्ता लिइसकेका छन् ।

कामत एक अर्बपति उद्यमी हुन् । फोर्ब्सका अनुसार उनको सम्पत्ति २.५ अर्ब डलर रहेको छ । यता विश्वकै सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्कको सम्पत्ति ४८२ अर्ब डलरभन्दा बढी छ । यी दुवै उद्यमी आफ्नै बलबुँताले अर्बपति बनेका हुन् । अन्य इन्फ्लुएन्सर र पडकास्टरभन्दा पृथक शैली र विषयवस्तुमा केन्द्रित भई अन्तर्वार्ता लिने भएकाले स्टार्टअप तथा उद्यम क्षेत्रका व्यक्तिले यस पडकास्टको विशेष प्रतीक्षा गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर १४, २०८२ १४:३१