बालेनका बुबाको निधनको समाचारमा र श्रद्धाञ्जलीमा र्यापर यमबुद्धका बुबाको तस्बिर प्रयोग
मंसिर १५, २०८२ १४:१०
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) का बुबा डा. रामनारायण शाहको निधनपछि उनलाई श्रद्धाञ्जली दिने क्रममा केही मूलधारका सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबाट गम्भीर त्रुटि भएको पाइएको छ । आइतबार निधन भएका शाहको समाचार र श्रद्धाञ्जली पोस्टमा बालेनका बुबा भन्दै दिवङ्गत र्यापर यमबुद्ध (अनिल अधिकारी) का बुबा अम्बिकाप्रसाद अधिकारीको तस्बिर प्रयोग गरिएको हो ।
सन् २०२२ मा काठमाडौँमा यमबुद्धको सालिक र पार्क निर्माण गर्ने विषयमा भएको भेटघाटका क्रममा खिचिएको सामूहिक तस्बिरबाट अधिकारीको फोटो ‘क्रप’ गरी सञ्चार माध्यम र सामाजिक सञ्जाल पेजहरूले प्रयोग गरेका हुन् । भादगाउँले टोपी लगाएका ती व्यक्ति बालेनका बुबा नभई यमबुद्धका बुबा भएको पुष्टि भएको छ ।
असम्बन्धित व्यक्तिको तस्बिर राखेर श्रद्धाञ्जली दिएपछि सामाजिक सञ्जालमा सञ्चार माध्यमहरूको चर्को आलोचना भइरहेको छ । यही विषयलाई लिएर यम बुद्धको परिवारसँग मिलेर काम गरिरहेको यम बुद्ध फ्यान क्लबले समेत आपत्ति जनाएको छ ।
“लाइक र भ्युज पाउने होडबाजीमा प्रायः धेरै नेपाली मिडियाहरूले बालेन शाहका बुबाको निधन भन्दै यम बुद्धका बुबाको तस्बिरमा पोस्ट्याएका छन्,” वाईबी फ्यान्स क्लबले भनेको छ ।
सेतोपाटी, अनलाइनखबर, रुटिन अफ नेपाल बन्दको वेबसाइट आरओएनबीपोस्ट (आर्काइभ लिङ्क), सुत्र टिभी, शिलापत्र, नेपाल लाइभ, न्युजअफनेपाल, खबरहब, प्रशासन लगायतका सञ्चार माध्यमले सुरुमा उक्त गलत तस्बिर सम्प्रेषण गरेका थिए । सामाजिक सञ्जालमा आलोचना बढेपछि केही सञ्चार माध्यमले उक्त तस्बिर सच्याएर समाचार अपडेट गरेका छन् ।
बालेनका प्रेस सल्लाहकार सुरेन्द्र बजगाईंले सामाजिक सञ्जालमा भाइरल भइरहेको ‘भादगाउँले टोपी लगाएको ब्ल्याक एन्ड ह्वाइट फोटो’ यमबुद्धका बुबाकै भएको स्पष्ट पारेका छन् । टेकपानासँग कुरा गर्दै बजगाईंले भने, “अहिले समाचारमा अधिकांश सञ्चार माध्यमले राखेको फोटो यमबुद्धका बुबाको हो ।”

पछिल्लो अध्यावधिक: मंसिर १५, २०८२ १८:१०
