पितृ शोकमा रहेका बालेनको फोटो र सन्दर्भ जोडी राजनीतिक प्रचार गरेको भन्दै हर्क साम्पाङको आलोचना
मंसिर १७, २०८२ १५:१७
काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख एवम् श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ विवादमा तानिएका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) पितृशोकमा रहेका बेला उनको तस्बिर र सन्दर्भ प्रयोग गर्दै राजनीतिक भाषणको भिडिओ सार्वजनिक गरेपछि उनको आलोचना भएको हो ।
बुधबार बिहान साम्पाङले सामाजिक सञ्जालमा एक भिडिओ पोस्ट गरेका थिए, जसमा बालेनको तस्बिर ओभरले (overlay) गरिएको छ । बालेनका बुबा डा. रामनारायण साहको सोमबार निधन भएको र बालेन यतिबेला शोकमा रहेको अवस्थामा मानवीय संवेदनाको ख्याल नगरी राजनीतिक लाभका लागि भिडिओ बनाएको भन्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताले साम्पाङप्रति आक्रोश व्यक्त गरेका छन् ।
१२ लाख बढी फलोअर रहेको साम्पाङको फेसबुक पेजमा अपलोड गरिएको १ मिनेट २२ सेकेन्ड लामो भिडिओको सुरुवातमै बालेनको तस्बिर राखिएको छ । साम्पाङले आफ्नो पार्टी प्रचारका क्रममा बालेनको सन्दर्भ कोट्याएका छन् ।
भिडिओमा उनले भनेका छन्, “बालेनजीलाई पनि मैले पार्टी खोल्नका लागि ४/५ चोटी भेटेकै हो, नगरौं नगरौं भन्नुभयो कता जानुभयो ।” उनले आफूले मिलेर जान चाहे पनि बालेनले नचाहेको र यही विषयलाई लिएर मिडिया ट्रायल भइरहेको दाबी गरेका छन् ।
बालेन बुबाको निधनपछि शोकमा रहेको बेला सहानुभूति प्रकट गर्नुको साटो आफ्नो स्वार्थका लागि उनको नाम भजाएको भन्दै साम्पाङको पोस्टमा फेसबुक प्रयोगकर्ताले आलोचना गरेका छन् ।
आशिष नामका एक प्रयोगकर्ताले लेखेका छन्, “बुबा गुमाएको शोकमा छन् बालेन, यस्तो बेला मानवीय संवेदनाको ख्याल त गर्नुपर्छ नि ।” अर्का एक प्रयोगकर्ताले सन्दर्भ जे भए पनि शोकको घडीमा यस्तो कुरा निकाल्नु र प्रचारका लागि प्रयोग गर्नु गलत भएको टिप्पणी गरेका छन् ।
स्वयं साम्पाङकै समर्थकहरूले पनि यसलाई असान्दर्भिक मानेका छन् । ‘श्रम संस्कृति पार्टी समर्थक’ नामक पेजले साम्पाङको भनाइप्रति असहमति जनाउँदै लेखेको छ, “आदरणीय पार्टी अध्यक्ष/मेयर हर्क साम्पाङ ज्यु, अहिले मेयर बालेन शाह शोकमा हुनुहुन्छ । उहाँको बुबाको निधन भएर हिजो पशुपतिमा दाहसंस्कार गरिएको थियो, त्यसैले यो बेला मानवताको नाताले उहाँलक्षित भिडिओ शेयर नगर्नुहोला ।”
सोमबार बालेनका बुबाको ७७ वर्षको उमेरमा उपचारका क्रममा सिभिल अस्पतालमा निधन भएको थियो ।
पछिल्लो अध्यावधिक: मंसिर १७, २०८२ १६:५
