फाइल तस्बिर
काठमाडौँ । नेकपा एमालेले आगामी ११औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मसिन प्रयोग गर्ने भएको छ । आगामी २७ देखि २९ मंसिरसम्म हुने महाधिवेशनको निर्वाचन प्रक्रियालाई छिटो र छरितो बनाउन एमालेले पुनः विद्युतीय मसिन प्रयोग गर्न लागेको हो ।
एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मतदान प्रक्रियालाई व्यवस्थित र शीघ्र सम्पन्न गर्न भोटिङ मसिनको प्रयोग गर्न लागिएको जानकारी दिए । “हामीले महाधिवेशनमा विद्युतीय मसिनबाट मतदान प्रक्रिया अघि बढाउँदैछौँ । यसले प्रक्रियालाई छिटो छरितो बनाउँछ,” ज्ञवालीले भने, “सेवा प्रदायक कम्पनी छनोट गर्न कोटेसन माग गरिएको छ र केही दिनमै टुङ्गो लाग्नेछ ।”
महाधिवेशनमा सहभागी हुने करिब दुई हजार २७० प्रतिनिधिको सङ्ख्यालाई मध्यनजर गर्दै करिब १०० ओटा विद्युतीय मतदान मसिन आवश्यक पर्ने एमालेले जनाएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब २० मिनेट लाग्ने अनुमान गरिएको छ ।
महाधिवेशनले १५ पदाधिकारीसहित २५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ ।
यसअघि २०७८ मंसिरमा सम्पन्न १०औँ महाधिवेशनमा पनि एमालेले विद्युतीय भोटिङ मसिन प्रयोग गरेको थियो । सो समयमा ५० लाख रुपैयाँ भाडा तिरेर ‘राम-लक्ष्मण इनोभेसन’ ले नेपालमै उत्पादित मसिन प्रयोग गरिएको थियो । यसपटक पनि सोही कम्पनीले सेवा दिने सम्भावना रहेको एमाले स्रोतले जनायो । मतदानका लागि लाग्ने खर्चको विवरण भने कम्पनीसँगको सम्झौतापछि मात्र यकिन हुने बताइएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर १९, २०८२ ८:१९
