रोनाल्डोले गरे गुगलको प्रतिस्पर्धी एआई कम्पनी ‘पर्प्लेक्सिटी’ मा लगानी, बन्यो यस्तो इन्टर्याक्टिभ टाइमलाइन
मंसिर १९, २०८२ १२:१७
काठमाडौँ । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अरविन्द श्रीनिवासको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) स्टार्टअप कम्पनी ‘पर्प्लेक्सिटी एआई’ मा लगानी गरेका छन् । कम्पनीले बिहीबार एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको लगानी र विश्वव्यापी साझेदारीको घोषणा गरेको हो ।
गुगलको निकटतम प्रतिद्वन्द्वी मानिएको पर्प्लेक्सिटीले एआईयुक्त सर्च इन्जिन उपलब्ध गराएको छ । त्यसैको सिको गर्दै गुगलले आफ्नो सर्च इन्जिनमा एआई मोड फिचर ल्याएको छ । यही कम्पनीमा पोर्चुगलका स्टार फुटबलर रोनाल्डोले लगानी गरेका हुन् । उनले कति लगानी गरेका छन् भन्ने खुलाइएको छैन । यद्यपि लगानीको घोषणा गरे लगत्तै व्यापक रूपमा रोनाल्डोले यसको प्रचार प्रसार गरिरहेका छन् ।
पर्प्लेक्सिटीका अनुसार रोनाल्डोको ‘सधैं आफूलाई निखार्ने बानी’ र ‘उत्कृष्टता खोज्ने मानिसका लागि बनेको यो एआई’ को उद्देश्य एउटै भएकाले सहकार्य गरिएको हो । रोनाल्डो आफैँ पनि यस प्लेटफर्मका नियमित प्रयोगकर्ता भएको पर्प्लेक्सिटीले उल्लेख गरेको छ । उनले विभिन्न अवार्ड कार्यक्रमका भाषण र ठुला घोषणा जस्ता महत्त्वपूर्ण क्षणमा पर्प्लेक्सिटीको सहयोग लिने गरेका छन् ।
सामाजिक सञ्जाल एक्समा एक पोस्ट गर्दै रोनाल्डोले पर्प्लेक्सिटी एआईमा लगानी गर्न पाएकोमा आफू ‘गौरवान्वित’ भएको बताएका छन् ।
आफ्नो घोषणामा रोनाल्डोले यो निर्णय एक दीर्घकालीन सोचको सुरुवात भएको बताएका छन् । यस साझेदारी अन्तर्गत ‘पर्प्लेक्सिटी एक्स सीआर७’ (Perplexity x CR7) डिजिटल हब सञ्चालनमा ल्याइएको छ । यसले रोनाल्डोको दुई दशकभन्दा लामो फुटबल यात्रालाई एकै ठाउँमा समेटेको छ ।
यो हब एक इन्टर्याक्टिभ एक्सपिरियन्स प्रदान गर्न तयार पारिएको कम्पनीले जनाएको छ । यहाँ क्लिक गरेर उक्त इन्टर्याक्टिभ पेजमा पुग्न सकिन्छ । यस पेजमा रोनाल्डोका प्रशंसकले रोनाल्डोको करियर अन्वेषण गर्न, दुर्लभ तस्बिरहरू हेर्न, क्युरेट गरिएका प्रश्नहरू ब्राउज गर्न, उनका प्रतिष्ठित गोल र तिनका पछाडिका कथाबारे जानकारी लिन सक्नेछन् ।
साझेदारीको क्रममा भविष्यमा थप सामग्री, अनुभव र विशेष सामाग्रीहरू पनि थपिने कम्पनीले जनाएको छ । यसअघि २६ नोभेम्बरमा पर्प्लेक्सिटीले अमेरिकामा आफ्ना प्रयोगकर्ताका लागि डेस्कटप र वेब एपमा एआई शपिङ असिस्टेन्ट (AI Shopping Assistant) सुरु गरेको थियो । यो सुविधा केही हप्ताभित्रै आईओएस र एन्ड्रोइड एपमा पनि उपलब्ध हुने बताइएको छ । कम्पनीका अनुसार यो शपिङ असिस्टेन्टले प्रयोगकर्ताको सामान्य बोलीचालीको भाषा बुझेर प्रोडक्ट सुझाउनेछ ।
पछिल्लो अध्यावधिक: फागुन २७, २०८२ २१:५६
