close

मार्क जुकरबर्गको मेटाभर्स बन्यो प्रविधि उद्योगकै महँगो गलत कदम, फेसबुकलाई ७० अर्ब डलर घाटा

टेकपाना टेकपाना

मंसिर २१, २०८२ १५:१०

मार्क जुकरबर्गको मेटाभर्स बन्यो प्रविधि उद्योगकै महँगो गलत कदम, फेसबुकलाई ७० अर्ब डलर घाटा

काठमाडौँ । फेसबुकका संस्थापक मार्क जुकरबर्गको एउटा कदम प्रविधि उद्योगको अहिलेसम्मकै महँगो साबित हुन पुगेको छ । मेटा प्लेटफर्म्स इंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका जुकरबर्गले मेटाभर्सका लागि फेसबुकको रिब्रान्डिङ गरेको चार वर्षमा उनको कम्पनीले ७० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी भएको हो ।

यससँगै उनी अब नयाँ रणनीतिमा अगाडि बढेका छन् । प्रविधि उद्योगको इतिहासमा यो सबैभन्दा महँगो गलत कदम बनेको छ । सन् २०२१ मा मार्क जुकरबर्गले फेसबुकलाई मेटाको रूपमा पुनर्गठन गर्दै मेटाभर्सलाई कम्पनीको अर्को ठुलो फड्को हुने घोषणा गरेका थिए । जहाँ मानिसहरूले काम गर्ने, सामाजिकीकरण हुने र आफ्नो जीवनको धेरै भाग बिताउने उनले बताएका थिए ।

जुकरबर्गले मेटाभर्सलाई मोबाइल इन्टरनेटको उत्तराधिकारीको रूपमा प्रस्तुत गरेका थिए र मेटा पहिलो मेटाभर्स (metaverse-first) कम्पनी हुने बताएका थिए । क्रिप्टोमा विशेषज्ञता राख्ने लगानी फर्म ग्रेस्केलले पनि मेटाभर्सलाई ट्रिलियन डलर आम्दानीको अवसर (trillion-dollar revenue opportunity) भनेर सो कुराको चर्चा गरेको थियो ।

तर ब्लूमबर्गका अनुसार लगभग पाँच वर्षपछि मेटाको रियालिटी ल्याब्स डिभिजनले सन् २०२१ देखि ७० अर्ब अमेरिकी डलरभन्दा बढी घाटा बेहोरेको छ । भर्चुअल वातावरण, ग्लिची अवतार, महँगा हेडसेट र करिब ३८ जनाको सानो प्रयोगकर्ता आधार (सन् २०२२ को तथ्याङ्क) मा यति ठुलो रकम खर्च गरिएको हो । धेरै मानिसहरूका लागि मेटाभर्सको भ्यालु प्रपोजिसन (value proposition) अस्पष्ट रहनु नै मुख्य समस्या रह्यो । यसले उपभोक्ताहरूलाई आफ्नो फोन वा ल्यापटप छोड्ने कुनै पर्याप्त आधार (must-have reason) नै दिन सकेन ।

यसबाट ठुला प्रविधि कम्पनीहरूले समेत रणनीतिक महत्त्वाकाङ्क्षा, बजारको समय र उचित मूल्याङ्कन बिना लिएका ठुला निर्णयले पूँजीको ठुलो विनाश गर्न सक्ने पुष्टि गरेको छ । अब भने जुकरबर्ग रियलिटी ल्याब्सको बजेट ३० प्रतिशतसम्म कटौती गर्ने तयारीमा छन् । ब्लुमबर्गका अनुसार यो कटौतीले ४ अर्ब देखि ६ अर्ब अमेरिकी डलरसम्म खर्च कम गर्न सक्छ । यो कटौतीको मार होराइजन वर्ल्ड्स भर्चुअल प्लेटफर्मदेखि क्वेस्ट हार्डवेयर युनिटसम्म सबैमा पर्नेछ ।

वाल स्ट्रिटले मेटाको यो कदमलाई स्वागत गरेको छ । यो खबर बाहिरिएपछि मेटाको शेयर ४ प्रतिशतभन्दा धेरैले बढ्यो, जसले कम्पनीको बजार मूल्यमा करिब ६९ अर्ब अमेरिकी डलर थपिएको छ । लगानीकर्ताले वर्षौँदेखि मेटाभर्सको प्रयासलाई महँगो विचलन भएको गुनासो गर्दै आएका थिए ।

मेटाले मेटाभर्सलाई पूर्ण रूपमा समाप्त नगरेको भए पनि कम्पनीले केही लगानी मेटाभर्सबाट एआई चस्मा र वेयरेबल (पहिरन योग्य) उपकरणहरू तर्फ सारिरहेको बताएको छ । यद्यपि अहिलेका लागि एआई नै नयाँ आकर्षण र लगानीको क्षेत्र बनेको छ ।

मेटाले यो वर्ष एआईमा करिब ७२ अर्ब अमेरिकी डलर खर्च गर्ने अपेक्षा गरिएको छ । जुन सन् २०२१ यता मेटाभर्समा गुमाएको रकमसँग लगभग बराबरी हो । कम्पनीको पछिल्लो प्रतिवेदनमा 'मेटाभर्स' शब्द एक पटक पनि प्रयोग नगरिएको बताइएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २१, २०८२ १५:१०