close

अस्ट्रेलिया बन्यो १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने पहिलो देश

टेकपाना टेकपाना

मंसिर २४, २०८२ ११:५९

फाइल तस्बिर फाइल तस्बिर

काठमाडौँ । अस्ट्रेलिया १६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विश्वको पहिलो देश बनेको छ । बुधबारदेखि यो नयाँ कानुन लागु गरेसँगै अस्ट्रेलियाको नाममा यो रेकर्ड बनेको हो ।

कम्पनीहरूले उमेर पत्ता लगाउन विभिन्न तरिकाहरू प्रयोग गर्ने बताएका छन् । यसमा प्रयोगकर्ताको व्यवहारबाट उमेर अनुमान गर्ने (age inference), सेल्फीको आधारमा उमेर अनुमान गर्ने, साथै अपलोड गरिएका परिचय पत्र वा लिङ्क गरिएका बैँक अकाउन्ट विवरणहरू चेकजाँच गर्ने लगायत छन् । सामाजिक सञ्जाल व्यवसायहरूको लागि, प्रयोगकर्ता सङ्ख्या स्थिर हुँदै गएको र प्लेटफर्महरूमा खर्च हुने समय घट्दै गएको अवस्थामा यो कानुनको कार्यान्वयनले संरचनात्मक स्थिरताको नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

प्लेटफर्महरूले १६ वर्ष मुनिका प्रयोगकर्तालाई विज्ञापन गरेर खासै आम्दानी नहुने बताए पनि यो प्रतिबन्धले भविष्यका प्रयोगकर्ताहरूको पाइपलाइनमा अवरोध पुर्‍याउने चेतावनी दिएका छन् । प्रतिबन्ध लागु हुनुभन्दा ठीक अ, ८ देखि १५ वर्ष उमेर समूहका ८६ प्रतिशत अस्ट्रेलियालीहरूले सामाजिक सञ्जाल प्रयोग गर्ने गरेको त्यहाँको सरकारले बताएको छ ।

अस्ट्रेलियाको यो कदमलाई धेरै अभिभावक र बाल अधिकार पक्षधरहरूले स्वागत गरेका छन् भने प्रमुख प्रविधि कम्पनी र अभिव्यक्ति स्वतन्त्रताका समर्थकहरूले भने यसको आलोचना गरेका छन् ।

यो नयाँ कानुन विश्वभरका नियामकहरूले नजिकबाट नियालिरहेका छन् । बुधवार मध्यरातदेखि लागु भएको यस कानून अन्तर्गत टिकटक, अल्फाबेटको युट्युब र मेटाको इन्स्टाग्राम र फेसबुक सहित १० वटा ठुला प्लेटफर्महरूलाई बालबालिकाको पहुँच रोक्न आदेश दिइएको छ । आदेश पालना नगरेमा उनीहरूले ४ करोड ९५ लाख अस्ट्रेलियन डलर (३ करोड ३० लाख अमेरिकी डलर) सम्मको जरिबाना तिर्नुपर्नेछ ।

यो प्रतिबन्धको पालना गर्ने बताएपछि १० प्रमुख प्लेटफर्महरू मध्ये एलन मस्कको प्लेटफर्म एक्स अन्तिम बनेको छ । जसले पहुँच रोक्ने उपाय अपनाएको छ । एक्सले आफ्नो वेबसाइटमा भनेको छ, "यो हाम्रो रोजाइ होइन, यो अस्ट्रेलियाली कानुनले आवश्यक बनाएको हो ।" एक्सले आफ्नो उमेर आवश्यकता पूरा नगर्ने जो कोहीलाई स्वचालित रूपमा प्लेटफर्मबाट बाहिर निकाल्ने बताएको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले यसलाई परिवारका लागि गौरवको दिन भनेका छन् । परम्परागत सुरक्षा उपायहरूलाई उछिनेका अनलाइन हानिलाई नियन्त्रण गर्न नीति निर्माता सक्षम छन् भन्ने प्रमाणको रूपमा उनले यो कानुनलाई प्रस्तुत गरेका छन् । अल्बानिजले बुधबारको पत्रकार सम्मेलनमा भनेका छन्, "यसले ठुलो परिवर्तन ल्याउनेछ । यो हाम्रो राष्ट्रले सामना गरेको सबैभन्दा ठुलो सामाजिक र सांस्कृतिक परिवर्तनहरू मध्ये एक हो ।" उनले यो एक गहन सुधार भएको र विश्वभर तरङ्ग ल्याउने बताएका छन् ।

अस्ट्रेलियाका विद्यालयमा गर्मी बिदा सुरु हुनुअघि अल्बानिजले भिडिओ सन्देश मार्फत बालबालिकालाई नयाँ खेल सुरु गर्न, नयाँ वाद्य यन्त्र सिक्न वा लामो समयदेखि थन्किएको पुस्तक पढ्न आग्रह गरेका छन् ।

यो कानुन लागु हुनुअघि यसबाट प्रभावित अनुमानित १० लाख बालबालिकाहरूमध्ये धेरैले आफ्ना अनलाइन फलोअरहरूलाई बिदाई सन्देशहरू पोस्ट गर्न थालेका थिए । एक किशोरले टिकटकमा लेखेका छन्, "अब सामाजिक सञ्जाल छैन... अब बाँकी संसारसँग सम्पर्क छैन ।" अर्का एक किशोरले भनेका छन्, "जब म १६ वर्षको हुनेछु, तब भेटौँला ।"

प्रतिबन्धले मानसिक स्वास्थ्यमा पार्ने असरलाई लिएर मतहरू विभाजित देखिएका छन् । १४ वर्षीया एनी वाङले प्रतिबन्धको पूर्वसन्ध्यामा यो समलिङ्गी व्यक्तिहरू र विशेष रुचि भएका व्यक्तिहरूका लागि नराम्रो हुन सक्ने बताएको रोयटर्समा उल्लेख छ । उनका अनुसार, त्यस्ता व्यक्तिहरूले अनलाइनमा मात्र आफ्नो समुदाय भेट्न सक्छन् ।

"केही मानिसहरूले आफ्ना भावनाहरू पोख्न र मद्दत प्राप्त गर्नका लागि पनि यसलाई प्रयोग गर्छन्... त्यसैले मलाई लाग्छ कि यो केही मानिसहरूका लागि ठिक भए पनि केही मानिसहरूका लागि यसले उनीहरूको मानसिक स्वास्थ्यलाई बिगारी दिनेछ," उनले भनेकी छिन् ।

अल्बानिजको मध्य-वामपन्थी सरकारले सामाजिक सञ्जालको अत्यधिक प्रयोगबाट युवा किशोर-किशोरीहरूमा गलत सूचना, धम्की र शरीरका तस्विर लगायतले मानसिक स्वास्थ्यमा हुने हानिलाई उद्धृत गर्दै यो ऐतिहासिक कानुन ल्याएको हो । यो कदम दैनिक जीवनमा गहिरोसँग जग गाडिसकेका प्लेटफर्महरूको प्रयोगबाट बालबालिकालाई रोक्न कुनै देशले सक्छ कि सक्दैन भन्ने एक वर्ष लामो बहसपछि आएको हो । यो प्रतिबन्धले विश्वभरका सरकारहरूका लागि लाइभ परीक्षण सुरु गरेको छ । डेनमार्कदेखि न्युजिल्यान्ड र मलेसियासम्मका थुप्रै देशहरूले अस्ट्रेलियाको यो मोडेल अध्ययन गर्न वा नक्कल गर्न सक्ने सङ्केत दिइसकेका छन् ।

पछिल्लो अध्यावधिक: मंसिर २४, २०८२ १२:८