close

चेपाङ विद्यार्थीले बनाएको स्याटलाइट अन्तरिक्षमा पुगेपछि प्रधानमन्त्रीले गरिन् प्रशंसा

टेकपाना टेकपाना

मंसिर २६, २०८२ १७:८

चेपाङ विद्यार्थीले बनाएको स्याटलाइट अन्तरिक्षमा पुगेपछि प्रधानमन्त्रीले गरिन् प्रशंसा

काठमाडौँ । चितवनका चेपाङ समुदायका विद्यार्थीहरूले निर्माण गरेको नानो स्याटलाइट ‘स्लिपर्स टु स्याट’ सफलतापूर्वक अन्तरिक्षको निर्धारित कक्षमा पुगेकोमा प्रधानमन्त्री सुशीला कार्कीले खुशी व्यक्त गरेकी छन् । शुक्रबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै प्रधानमन्त्री कार्कीले यस कार्यमा संलग्न संलग्न विद्यार्थी तथा समूहलाई बधाई दिइन् ।

चिनियाँ रकेट ‘लिजियान-१ वाई११’ (काइनेटिका-१) मार्फत नेपाली स्याटलाइट बुधबार अन्तरिक्षमा प्रक्षेपण गरिएको थियो । अन्तरिक्ष प्रतिष्ठान नेपालको प्राविधिक सहयोग र चितवनको नवोदय माध्यमिक विद्यालयमा अध्ययनरत चेपाङ समुदायका विद्यार्थीहरूको सहभागितामा स्याटलाइट निर्माण गरिएको हो ।

चिनियाँ रकेटले नेपालको यो सानो स्याटलाइटसहित चीन, यूएई र इजिप्टका अन्य ८ स्याटलाइटहरूलाई पनि सफलतापूर्वक अन्तरिक्षमा पुर्‍याएको छ ।

यस उपलब्धिपछि प्रधानमन्त्री कार्कीले सीमित स्रोत र साधनका बाबजुद चेपाङ समुदायका विद्यार्थीले गरेको यो प्रयास प्रशंसनीय रहेको उल्लेख गरेकी छिन् । “सीमित सुविधाबिचको दैनिक जीवन र शैक्षिक परिवेशमा रहेर चितवनका चेपाङ समुदायका भाइबहिनीहरूले फत्ते गरेको यो प्रयास सुन्दर र प्रशंसनीय छ । देशका हरेक बालबालिका र युवामा विज्ञान-प्रविधिप्रति रुचि बढाउन यसले प्रेरणा दिनेछ,” उनले भनेकी छन् ।

यो स्याटलाइटको तौल १ किलो २० ग्राम रहेको छ । आयताकार (ट्युब) ढाँचामा बनाइएको स्याटलाइटमा ५ मेगापिक्सेलका दुई ओटा क्यामेरा जडान गरिएका छन् । परियोजनाका म्यानेजर ऋषभ अधिकारीका अनुसार यसले अन्तरिक्षबाट नेपालको वनस्पति र जलस्रोतको अवस्थाबारे तस्बिर तथा तथ्याङ्क संकलन गर्नेछ ।

साथै, यसमा भूकम्प जानुअघि आउने सूक्ष्म तरङ्गहरूको अध्ययन गर्ने प्रविधि, दिशा नियन्त्रण गर्ने चुम्बकीय प्रणाली र एमेच्योर रेडियो कम्युनिकेसन सिस्टम पनि जडान गरिएको छ । सूर्यको किरणको चक्रका कारण यो स्याटलाइट करिब डेढ वर्षसम्म अन्तरिक्षमा रहने अनुमान गरिएको छ । 

यो परियोजनामा कक्षा ७ र ८ मा अध्ययनरत ९ जना विद्यार्थीहरू प्रत्यक्ष संलग्न थिए भने १२० भन्दा बढी विद्यार्थीलाई आधारभूत इलेक्ट्रोनिक्स र कोडिङको तालिम प्रदान गरिएको थियो ।

पछिल्लो अध्यावधिक: मंसिर २६, २०८२ १७:२१