काठमाडौँ । शनिबार सामाजिक सञ्जालमा एमालेको ११औं महाधिवेशनमा ठुलो जनसागर उर्लिएको भन्दै एमाले पक्षधरले सार्वजनिक गरेको फोटोले व्यापक चर्चा पायो । एमालेका नेता महेश बस्नेतले उक्त फोटो राखेपछि यसले सामाजिक सञ्जालमा चर्को बहस निम्त्यायो ।
एमाले पक्षधरले उक्त फोटो वास्तविक भएको दाबी गरेका छन् भने सञ्चार माध्यमले भिड कम भएको बेलाको फोटो राखेर गलत प्रचार गरेको आरोप लगाएका छन् । टेकपानाले गरेको अनुसन्धानबाट पनि उक्त फोटो भ्रामक रहेको पुष्टि भएको छ ।
टेकपानाले समाचार तयार पार्दा उक्त फोटो वास्तविक नभएको निष्कर्ष निकालेको छ । भक्तपुरको सल्लाघारी चौरमा लाखौँको सङ्ख्यामा मानिस देखिने उक्त तस्बिरमा बचनराज जोशीको वाटरमार्क छ । यही फोटोलाई महेश बस्नेतले आफ्नो सामाजिक सञ्जालमा राखे । त्यसपछि नेकपा एमालेका अन्य कार्यकर्ता तथा सदस्यले पनि सोही फोटो शेयर गर्दै ठुलो सङ्ख्यामा समर्थक उर्लिएको दाबी गरे ।
विभिन्न सञ्चारमाध्यमले उक्त फोटो सम्पादित र असान्दर्भिक भएको बताएपछि बचनराज जोशी उक्त फोटो शनिबारकै कार्यक्रमको भएको पुष्टि गर्न जोडतोडले लागिपरेका छन् । उक्त फोटो ‘एआई’ सिर्जित हो भन्ने कुरा बाहिर आएपछि जोशीले सामाजिक सञ्जालमा लेखेका छन्, “विरोधीहरूलाई सबै कुरा एआई लाग्नु स्वभाविक हो । उनीहरूले विरोध गर्न अन्य कुनै मसला नभेटेपछि एआई हो भन्न निकै सजिलो छ । यो ड्रोनबाट लिएको भिडिओलाई के भन्छन् होला अब ?” तर, यो भिडिओ पनि एआई सिर्जित हो भन्ने तमाम आधारहरू छन् ।
पहिलो, बचनराज जोशीको प्रोफाइल विश्लेषण गरौं:
आफूलाई पत्रकार बताउने जोशीले शनिबार दिउँसो २ः०७ बजे उक्त फोटो पोस्ट गरेका छन् । त्यो पनि एउटा मात्र ड्रोन शट । त्यसपछि सोझै सञ्चार माध्यममा आएका समाचारको खण्डन गर्दै राखेको भिडिओ देखिन्छ । त्यसअघि उनको टाइमलाइनमा कहिल्यै ड्रोन शट राखेको देखिँदैन । ‘कामना टीभी’ नामक सञ्चार माध्यमका अध्यक्ष रहेका उनले उक्त सञ्चार माध्यममा पनि कतै ड्रोन शट प्रयोग गरेका छैनन् । एमालेको महाधिवेशनमा सहभागी पत्रकार भनिएका व्यक्तिसँग एउटा बाहेक अर्को ड्रोन शट नहुनु आफैँमा शंकास्पद छ ।
अब उक्त फोटोको प्राविधिक विश्लेषण गरौं:
गुगल रिभर्स इमेज सर्च गर्दा उक्त फोटो शनिबारपछि मात्र अपलोड भएको पाइयो । त्यसअघि उक्त फोटो कतै प्रयोग भएको देखिंदैन । ‘फेक इमेज डिटेक्टर’ले यो फोटो कम्प्युटरबाट तयार पारिएको (एआई) वा मोडिफाई गरिएको हुनसक्ने बतायो ।
यसमा कुनै पनि एआई टुलको वाटरमार्क भने देखिँदैन । तर, एमाले महाधिवेशनको वास्तविक ड्रोन शटको फोटो ‘च्याटजीपीटी’मा अपलोड गरेर ‘त्यसमा भएको खाली ठाउँ मान्छेले भर’ भन्ने प्रम्प्ट दिँदा आएको नतिजा दुरुस्तै बचनराज जोशीले दाबी गरेको तस्बिरसँग मेल खायो ।
यतिसम्म कि एआई फोटो पत्ता लगाउने प्लेटफर्म 'हाइभ मोडेरेसन' पनि झुकियो र हामीले च्याटजीपीटीको सहायताले तयार पारेको फोटो ५.९ प्रतिशत मात्र एआई सिर्जित हुनसक्ने देखायो ।
बचनराज जोशीको फोटो र वास्तविक फोटोबिचको तुलना:
१) महाधिवेशनको स्टेज बनाएको ठाउँमा हरियो कार्पेट बिछ्याइएको थियो र त्यसभन्दा अगाडि बार लगाइएको थियो । एमाले कार्यकर्ताले भाइरल बनाएको फोटोमा हरियो कार्पेट नै गायब छ ।
२) ओरिजिनल फोटोमा स्टेज अगाडि अङ्ग्रेजीमा ‘CPN UML’ र नेपालीमा ‘नेकपा एमाले’ ठुलो इम्बोस्ड अक्षरमा राखिएको बोर्ड देखिन्छ । तर, एआई सिर्जित फोटोमा त्यो सबै गायब छ ।
३) स्टेजको बीचमा मन्दिरको आकृति राखिएको थियो । तर, एआई सिर्जित फोटोमा मन्दिर देखिँदैन (मन्दिरको आकृति हो भन्ने छुट्याउनै सकिंदैन । जबकि फोटो त्यसको ठिक माथिबाट खिचिएको जस्तो देखिन्छ)।
४) स्टेजमा नीलो र सेतो रङका कुर्सीहरू छन् । तर एआई फोटोमा निलो खोल लगाएका सबै कुर्सी गायब छन् ।
५) दर्शकदीर्घामा रङ्गीचङ्गी कुर्सीहरू राखिएको वास्तविक फोटोमा देखिन्छ । ती कुर्सी भरिभराउ हुँदा पनि मान्छे कुर्सीमै बसेका हुन् भन्ने स्पष्ट देखिन्छ । तर, एआई सिर्जित फोटोमा दर्शकदीर्घाका सबै कुर्सी हराएका छन् ।
६) एआई फोटोमा दर्शकको सङ्ख्या अस्वाभाविक देखिन्छ र एउटा पनि व्यक्तिको अनुहार वा स्वरूप पहिचान हुँदैन । मान्छेको स्वरूप नै स्पष्ट छैन, जुन एआईको कमजोरी हो ।
७) जोशीको फोटो र वास्तविक ड्रोन शटको एङ्गल मेल खान्छ । तर अन्तिमतिर देखिएका केही घर एआई सिर्जित फोटोमा गायब छन् ।
यी तथ्यबाट बचनराज जोशीले राखेको फोटो च्याटजीपीटी जस्ता एआई टुलबाट मोडिफाई गरिएको पुष्टि हुन्छ । उनले ड्रोनले खिचेको भन्दै अर्को २० सेकेन्डको भिडिओ पनि राखेका छन् । तर, उक्त भिडिओ पनि एआई सिर्जित हो भन्ने आधारहरू छन् । जुन फोटो एआईको सहयोगमा मोडिफाई गरेर भिड देखाइएको थियो, त्यसैलाई ‘इमेज टु भिडिओ’ एआई मार्फत भिडिओमा परिणत गरिएको देखिन्छ । भिडिओमा मान्छे हिँडेको देखिए पनि उनीहरूको चाल अस्वाभाविक छ । हिँड्दै गरेको मान्छे एकाएक गायब हुन्छन् । एआईलाई प्रम्प्ट दिएर जुम गरेको जस्तो देखिने ड्रोन शट बनाइएको छ । वास्तविक ड्रोन शटको चाल र गति अनि एआई सिर्जित भिडिओको चाल र गति स्पष्ट रूपमा छुट्याउन सकिन्छ । अझ रोचक त के छ भने वास्तविक लोकेसनमा स्टेजको बायाँपट्टि बाटो छ । तर एआईले भिडिओमा नभएकै रुख र घर जस्तो देखिने आकृति थपिदिएको छ ।
विभिन्न सञ्चार माध्यममा यो नक्कली फोटो हो भन्ने समाचार आएपछि जोशीले सञ्चार माध्यमले आफ्नो भनाइ नै नराखेको आरोप लगाएका छन् । तर, प्राविधिक विश्लेषणले उनले सार्वजनिक गरेको सामग्री एआई तथा कम्प्युटर सिर्जित भएको पुष्टि गर्छ ।
एमाले नेता महेश बस्नेतले पनि ठुलो भिड देखाउन पटक-पटक एआई सिर्जित फोटो प्रयोग गरेको देखिन्छ । ठुलो भिड देखाउन प्रयोग भएका तस्बिर एआईको सहायताले मोडिफाई गरिएका हुन् । कतिपय फोटोमा ‘जेमिनाई’ को लोगो देखिन्छ भने कतिपय फोटोमा एआईले नेपाली अक्षर नै बिगारेको स्पष्ट हुन्छ ।
पछिल्लो अध्यावधिक: मंसिर २८, २०८२ १३:११
