close

एमाले अध्यक्ष ओली र ज्योति मगरको ‘चुम्बन’ तस्बिर नक्कली, एआई दुरुपयोग गरी भ्रामक प्रचार

टेकपाना टेकपाना

पुस ३, २०८२ १५:३९

एमाले अध्यक्ष ओली र ज्योति मगरको ‘चुम्बन’ तस्बिर नक्कली, एआई दुरुपयोग गरी भ्रामक प्रचार

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोकदोहोरी गायिका ज्योति मगरबिच ‘चुम्बन’ भएको जस्तो देखिने तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । तर, उक्त तस्बिर वास्तविक नभई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोग गरी तयार पारिएको हो ।

मंगलबार र बुधबार भृकुटीमण्डपस्थित एमालेको ११औँ राष्ट्रिय महाधिवेशनस्थलमा गायिका मगर पुगेकी थिइन् । त्यहाँ उनले एमालेका केन्द्रीय सदस्य उम्मेदवारहरू पूर्णबहादुर गुरुङ, किरण गुरुङलगायतको पक्षमा मत मागेकी थिइन् । सोही क्रममा उनले अध्यक्ष ओलीसँग पनि भलाकुसारी गरेकी थिइन् । त्यसबेला खिचिएका सामान्य तस्बिर र भिडिओलाई तोडमोड गरी सामाजिक सञ्जालमा भ्रामक रूपमा फैलाइएको हो ।

कतिपयले त्यस्ता सामग्रीलाई विश्वास गरी ओली-मगरबारे नकारात्मक धारणा राखेका छन् । ​टेकपाना तथ्यजाँच टिमले गरेको विश्लेषणअनुसार भाइरल तस्बिरमा ओली र मगरको अनुहार जोडेर अस्वाभाविक दृश्य सिर्जना गरिएको छ । वास्तविक फुटेजमा उनीहरूबिच सामान्य भलाकुसारी मात्र भएको देखिन्छ ।

पछिल्लो समय प्रविधिको दुरुपयोग गरी नेता-कलाकारहरूको चरित्रहत्या गर्ने क्रम बढेको छ । सरोकारवालाहरूले यस्ता ‘डिपफेक’ सामग्रीले व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउने र समाजमा भ्रम सिर्जना गर्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा देखिने यस्ता संवेदनशील सामग्रीको सत्यतथ्य जाँच गरेर मात्र विश्वास गर्न र शेयर गर्न उनीहरूले सुझाव दिएका छन् ।

 


 

पछिल्लो अध्यावधिक: पुस ३, २०८२ १५:५४