close

फ्याक्टचेकः क्रिसमसमा ल्यान्ड क्रुजर दिने भनेपछि लबिम मलको नक्कली पेजमा झुम्मिए नेपाली

हिक्मत आचार्य हिक्मत आचार्य

पुस ८, २०८२ १७:७

फ्याक्टचेकः क्रिसमसमा ल्यान्ड क्रुजर दिने भनेपछि लबिम मलको नक्कली पेजमा झुम्मिए नेपाली

काठमाडौँ । गएको सोमबार रातिदेखि सामाजिक सञ्जालमा ‘लबिम मल’ ले क्रिसमसको अवसरमा कार उपहार दिन लागेको पोस्ट भाइरल भइरहेको छ । ‘लबिम मल’ नामक फेसबुक पेजले पोस्ट राख्दै कमेन्ट गर्नेमध्ये एक जनालाई टोयोटाको ‘ल्यान्ड क्रुजर’ कार उपहार दिने दाबी गरेको छ । 

तर टेकपाना फ्याक्टचेक डेस्कले गरेको तथ्यजाँचबाट यो सूचना मिथ्या रहेको पुष्टि भएको छ ।

दाबी

सोमबार, २२ डिसेम्बर २०२५ राति १०ः५९ बजे ‘Labiim-mall’ नामक फेसबुक पेजमा एउटा पोस्ट अपलोड भयो । जसमा लेखिएको छ, “LABIM MALL.क्रिसमस र नयाँ वर्ष मनाउन, हामी यो अविश्वसनीय टोयोटा ल्याण्ड क्रुजर एक भाग्यशाली विजेतालाई उपहार दिँदैछौं। यो सरल छ: @ टाइप गर्नुहोस् र "हाइलाइटहरूमा थप्नुहोस्" मा क्लिक गर्नुहोस्। यदि बटन नीलो भयो भने, तपाईं चयन हुनुभयो! ड्र डिसेम्बर २५ मा राति ८:०० बजे हुनेछ।” उक्त क्याप्सनसहितको पोस्टमा चार ओटा फोटो पनि राखिएका छन्, जहाँ क्रिसमसमा सजाइएको लबिम मलको फोटो राखिएको छ भने तल ल्यान्ड क्रुजरको गाडीको तीन ओटा फोटो समावेश छन् । 

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १२ हजार बढी रियाक्सन, २८ हजार बढी कमेन्ट र ६४०० पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, (फेसबुकको विज्ञापन लिङ्क भएकाले आर्काइभ भने हुन सकेन) र स्क्रिनशट ।

अनुसन्धान

यो पोस्ट व्यापक रूपमा शेयर भएको पाइएपछि टेकपाना फ्याक्टचेक डेस्कले अनुसन्धानका क्रममा यो पोस्ट सोही पेजले त्यसको ठ्याक्कै १२ घण्टापछि अर्थात् २३ डिसेम्बर २०२५, बिहान १०ः५९ बजे पनि शेयर गरेको फेला पर्‍यो । उक्त पोस्टमा २६६ रियाक्सन, ३७८ कमेन्ट र ३१० पटक शेयर भएको छ ।

यस पोस्टमा माथि क्याप्सनमा @ टाइप गरिसकेपछि ‘Highlights’ अप्सन आउँछ र त्यही अप्सन छानेपछि प्रतियोगितामा सहभागी हुन सकिने भनिएको छ । सहभागी हुने र काम पाउने लोभमा हजारौँ नेपालीले सो पोस्टको कमेन्टमा हाइलाइट्स लेख्दै व्यापक शेयर गरेका छन् ।

केहीले त उक्त पेजको रिभ्युमा सकारात्मक टिप्पणी पनि गरेका छन् । कयौँ पटक उही पोस्ट शेयर भएको पाइएपछि हामीले विस्तृत अनसन्धान गर्‍यौँ । सबैभन्दा पहिले ‘लबिम मल’ले क्रिसमसको अवसरमा यस्तो योजना ल्याए/नल्याएको जाँच गरियो । 

लबिम मलको आधिकारिक वेबसाइट ‘लबिम डटकम डटएनपी’ र त्यसको न्युज एन्ड इभेन्ट सेक्सनमा हेर्‍यौं । त्यस क्रममा पछिल्लो पटक ‘अन्तर्राष्ट्रिय महिला दिवस’सँग सम्बन्धित ब्लग राखेको फेला पर्‍यो । 

क्रिसमसको अवसरमा कुनै योजना ल्याएको जानकारी आधिकारिक वेबसाइटमा फेला परेन । त्यसपछि हामीले वेबसाइटमै मेन्सन गरिएका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम टिकटक अकाउन्ट खोल्यौँ । 

यी ह्यान्डलमा क्रिसमसको अवसरमा सजाइएको लबिम मलको फोटो फेला पर्‍यो । तर, कार उपहार दिने भन्ने कुनै पनि योजनाको जानकारी वा पोस्ट फेला परेन ।

हामीले वेबसाइटमै राखिएको कार्यालयको नम्बरमा सम्पर्क गरेर योजनाबारे बुझ्ने प्रयास गर्‍यौँ । “हामीले कार उपहार दिने त्यस्तो कुनै योजना ल्याएका छैनौँ, त्यो नक्कली पेजबाट झुक्यानमा पार्न विज्ञापन गरिएको छ,” वेबसाइटमा उल्लिखित नम्बरमा सम्पर्क गर्दा जवाफ आयो । 

हामीले कार उपहार दिने दाबी गर्दै पोस्ट राख्ने उक्त पेज विश्लेषण गर्‍यौँ । ३१ सय बढी फलोअर भएको सो पेजमा तीन पटक मात्र पोस्ट राखिएको छ । १७ मार्च २०२५ मा खोलिएको उक्त पेजले क्रिसमसको अवसरमा प्रयोगकर्तालाई लक्षित गर्दै प्रलोभनमा पार्ने रणनीति अपनाएको देखिन्छ । 

फेसबुकको कुनै पनि पोस्टमा @ टाइप गरिसकेपछि ‘Highlights’ को अप्सन छानेर कमेन्ट गर्दा उक्त पोस्टको नोटिफिकेसन कमेन्ट गर्ने व्यक्तिसँग जोडिएका वा फलो गर्ने अकाउन्टलाई जान्छ । त्यसरी नोटिफिकेसन देखेर अरू प्रयोगकर्ताले पनि कमेन्ट र शेयर गर्छन् ।

 

हामीले यस पेजले कस्तो लिङ्क उपलब्ध गराउँछ वा प्रयोगकर्तालाई कसरी स्क्याम गर्छ भन्ने बुझ्न मेसेज पठाएका छौँ । तर, रेस्पोन्स आएको छैन (प्राप्त भएमा त्यसको अपडेट यहाँ गर्नेछौँ) । विभिन्न पक्षबाट विश्लेषण गर्दा ‘क्रिसमसको अवसरमा लबिम मलले ल्यान्ड क्रुजर कार उपहार दिने’ दाबी गर्दै फैलाइएको पोस्ट मिथ्या रहेको पुष्टि हुन्छ । 

दाबी

क्रिसमस र नयाँ वर्षको अवसरमा ‘लबिम मल’ ले फेसबुक पोस्टमा कमेन्ट गर्ने र 'हाइलाइट्स' मा थप्नेमध्ये एक जना भाग्यशाली विजेतालाई टोयोटाको ‘ल्यान्ड क्रुजर’ कार उपहार दिने ।

दाबीकर्ता

‘Labiim-mall’ (लबिम मल) नामक अनधिकृत फेसबुक पेज ।

तथ्य 

लबिम मलको आधिकारिक वेबसाइट (labim.com.np) र आधिकारिक सामाजिक सञ्जालमा कार उपहार दिने सम्बन्धी कुनै पनि सूचना वा योजना राखिएको छैन । लबिम मल प्रशासनले टेलिफोन सम्पर्कमा आफूले कार उपहार दिने त्यस्तो कुनै योजना नल्याएको र उक्त विज्ञापन नक्कली भएको स्पष्ट पारेको छ । 

त्यस्तै दाबी गर्ने फेसबुक पेज (Labiim-mall) १७ मार्च २०२५ मा मात्र खोलिएको र यसमा केवल तीन ओटा पोस्ट मात्र रहेका छन् । आधिकारिक पेज सक्रिय हुँदाहुँदै एउटा पोस्टका लागि स्पेलिङ बिगारेको नाम राखेको पेज नक्कली भएको पुष्टि हुन्छ । 

त्यसैगरी पोस्टमा भनिएको ‘@Highlights’ कमेन्ट गर्ने तरिका धेरैभन्दा धेरै प्रयोगकर्तालाई अनावश्यक नोटिफिकेसन पठाएर पोस्ट भाइरल बनाउने र फिशिङ लिङ्कमार्फत डेटा चोरी गर्ने एउटा ‘स्क्याम’ भएको देखिन्छ । 

निष्कर्ष

क्रिसमसको अवसरमा लबिम मलले ल्यान्ड क्रुजर कार उपहार दिने भनी फैलाइएको सूचना मिथ्या हो । यो प्रयोगकर्तालाई प्रलोभनमा पारेर व्यक्तिगत जानकारी चोरी गर्ने वा अकाउन्ट ह्याक गर्ने उद्देश्यले फैलाइएको ‘फिशिङ स्क्याम’ हुन सक्छ । 

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस ९, २०८२ १०:४९