सेलिब्रेटीको नाममा नक्कली भाइबर/ह्वाट्सएप अकाउन्ट खोल्दै पैसा असुल्ने गिरोह सक्रिय
पुस १०, २०८२ ९:५१
काठमाडौँ । नेपाली चलचित्र र सङ्गीत क्षेत्रका चर्चित कलाकारहरूको नाम र तस्बिर दुरुपयोग गरी आर्थिक ठगी गर्ने गिरोह सक्रिय भएको पाइएको छ ।
अभिनेत्रीहरू स्वस्तिमा खड्का, केकी अधिकारी, गायिका तृष्णा गुरुङ, अभिनेता आकाश श्रेष्ठका नाममा नक्कली सामाजिक सञ्जाल र मेसेजिङ एप (भाइबर/ह्वाट्सएप) अकाउन्ट खोलेर पैसा मागिएको भन्दै कलाकारहरूले सर्वसाधारणलाई सचेत गराएका छन् ।
गायिका तृष्णा गुरुङले आफ्नो नामबाट ९७०८०६२३२२ नम्बर प्रयोग गरी मानिसहरूलाई पैसा माग्ने गरिएको भन्दै सचेत गराएकी छन् । उनले सामाजिक सञ्जालमा स्क्याम अलर्ट जारी गर्दै भनिन्, “यो नम्बरबाट म भएको बहाना गर्दै मानिसहरूलाई पैसाका लागि मेसेज पठाइएको छ । यदि कसैलाई यस्तो शङ्कास्पद सन्देश आएमा त्यो म होइन भनेर बुझ्नुहोला ।”
त्यस्तै, अभिनेता आकाश श्रेष्ठले आफ्नो तस्बिर र नाम प्रयोग गरी भाइबर र ह्वाट्सएपबाट आर्थिक सहयोग मागिएको जानकारी प्राप्त भएको बताएका छन् । ठगी गर्ने व्यक्तिले आकाशको तस्बिर प्रयोग गरी ‘आमालाई स्ट्रक (Stroke) भएको र पैसा तुरुन्तै चाहिने’ भन्दै २५ हजार रुपैयाँसम्म मागेको स्क्रिनशट सार्वजनिक भएको छ । आकाशले प्रविधिको दुरुपयोग गरी पठाइएका यस्ता भ्रामक सन्देशहरूको कुनै प्रतिक्रिया नदिन र सतर्क रहन आग्रह गरेका छन् ।
अभिनेत्री स्वस्तिमा खड्काले पनि आफ्ना नजिकका साथीहरूलाई समेत ह्वाट्सएप र भाइबरमा पैसा माग्दै मेसेज पठाइएको भन्दै भ्रममा नपर्न जानकारी गराएकी छन् । उनले लेखेकी छन्, “मेरो नामको दुरुपयोग गर्दै पैसा माग्ने गरिएको भेटिएको छ, त्यस्ता मेसेजहरूमा नझुक्किनु हुन सबैमा जानकारी गराउँछु ।”
अर्की अभिनेत्री केकी अधिकारीले आफ्नो नाम र तस्बिरको दुरुपयोग गरी पैसा मागिरहेको कार्य कानुनी रूपमा दण्डनीय भएको उल्लेख गर्दै सबैलाई सजग रहन अनुरोध गरेकी छन् ।
पछिल्लो समय प्रविधिको प्रयोग गरी सेलिब्रेटीहरूको पहिचान चोरी (Identity Theft) गरेर सर्वसाधारण र उनीहरूका नजिकका मानिसहरूबाट पैसा ठग्ने शृङ्खला बढेको छ । कलाकारहरूले आधिकारिक जानकारी र पुष्टिबिना कसैलाई पनि पैसा नपठाउन र डिजिटल माध्यममा सचेत रहन अपिल गरेका छन् ।
पछिल्लो अध्यावधिक: पुस १०, २०८२ १०:२९
