close

क्लासिक टेकले ब्यान्डविथको ३० करोड नतिरेपछि एनसेलले तोड्यो सम्झौता, अब कसरी चल्छ इन्टरनेट ?

उन्‍नत सापकोटा उन्‍नत सापकोटा

पुस ११, २०८२ १३:१३

क्लासिक टेकले ब्यान्डविथको ३० करोड नतिरेपछि एनसेलले तोड्यो सम्झौता, अब कसरी चल्छ इन्टरनेट ?

काठमाडौँ । करोडौँ रुपैयाँ बक्यौता नतिरेको भन्दै एनसेलले क्लासिक टेकसँगको ब्यान्डविथ खरिद बिक्रीसम्बन्धी सम्झौता तोडेको छ । ब्यान्डविथ खरिद बापत ३० करोड रुपैयाँभन्दा बढी रकम नतिरेको भन्दै कम्पनीले केही दिन अघि मात्र दुई पक्षीय सम्झौता तोडेको हो । 

सम्झौता टुटेसँगै अब एनसेलले क्लासिक टेकलाई इन्टरनेट ब्यान्डविथ दिने छैन । सरकारी बक्यौता नतिरेको र अनुमतिपत्र नवीकरण नगराई अवैध रूपमा इन्टरनेट सेवा दिइरहेको क्लासिक टेकले एनसेललाई एक वर्षदेखि ब्यान्डविथको भुक्तानी दिएको छैन । 

पटकपटक बक्यौता भुक्तानी गर्न पत्राचार गरे पनि क्लासिक टेकले त्यसलाई बेवास्ता गर्दै आएको थियो । सरकारी बक्यौता तिर्न नसक्दा आफ्नो १६ चैत २०८० मा नेटवर्क सेवा प्रदायकको लाइसेन्स गुमाएको क्लासिक टेकले करिब दुई वर्षदेखि एनसेलबाट ब्यान्डविथ लिएर इन्टरनेट सेवा दिँदै आएको थियो ।

दुई कम्पनी बिच भएको मास्टर सर्भिस एग्रिमेन्ट १२ चैत २०८० देखि कार्यान्वयनमा आएको थियो । ब्यान्डविथ खरिद बिक्रीका लागि भएको सोही एग्रिमेन्ट एनसेलले तोडेको हो ।

“केही दिनअघि क्लासिक टेकसँगको ब्यान्डविथ बिक्री सम्बन्धी सम्झौता तोडिएको छ । त्यसको औपचारिक जानकारी एनसेलले क्लासिक टेकलाई गराइसकेको छ । त्यसपछि एनसेलले ब्यान्डविथ सप्लाई पनि बन्द गरिसकेको छ । बक्यौता ३० करोड रुपैयाँ नाघिसकेको छ,” स्रोतले भन्यो ।  

टेकपानाले ४ पुसमा “क्लासिक टेकमा फस्यो एनसेलको २० करोड माथि, ब्यान्डविथको पैसा नतिरेकै भयो एक वर्ष बढी” शीर्षकमा समाचार प्रकाशित गरेको थियो । ११ भदौ २०८२ मा क्लासिक टेकको इन्टरनेट सेवाको लाइसेन्सको म्याद पनि समाप्त भइसकेको छ । दूरसञ्चार ऐन अनुसार अनुमतिपत्र नलिई इन्टरनेट तथा दूरसञ्चार सेवा दिनै पाइँदैन, दिएमा त्यो गैरकानुनी मानिन्छ ।

केही दिन अघि टेकपानाले पठाएको ईमेलको जवाफमा एनसेलले एक वर्षदेखि ब्यान्डविथको भुक्तानी नपाए पनि क्लासिक टेकका ग्राहकहरूको इन्टरनेटमा पहुँच पाउने अधिकारको सम्मान गर्दै ब्यान्डविथ आपूर्तिलाई निरन्तर दिइरहेको जिकिर गरेको थियो । तर, ब्यान्डविथको करोडौँ रकम भुक्तानी गर्ने भरपर्दो आधार क्लासिक टेकले पेस गर्न नसकेपछि एनसेलले सम्झौता तोडेको हो ।







 

 

पछिल्लो अध्यावधिक: पुस ११, २०८२ १३:५८