close

टेरामक्स प्रकरण: अख्तियारका विज्ञ ज्ञवालीलाई बकपत्रका लागि झिकाउन विशेष अदालतको आदेश

टेकपाना टेकपाना

पुस १४, २०८२ १०:२७

टेरामक्स प्रकरण: अख्तियारका विज्ञ ज्ञवालीलाई बकपत्रका लागि झिकाउन विशेष अदालतको आदेश

 

काठमाडौँ । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स (टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम) खरिद प्रकरण मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाट विज्ञको रूपमा प्रतिवेदन तयार पारेका व्यक्तिलाई बकपत्रका लागि झिकाउन आदेश दिएको छ । आइतबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र हेमन्त रावलको इजलासले २४ पुसमा अख्तियारका विज्ञ केशव ज्ञवालीलाई झिकाउन आदेश दिएको हो । 

जसलाई कानुनी भाषामा ‘जिरह’ गर्ने भनिन्छ । सो दिन मुद्दामा प्रतिवादी बनाइएकाहरूका वकिलले अख्तियारका विज्ञ ज्ञवालीसँग सवाल-जवाफ गर्नेछन्  । ज्ञवाली लाइसेन्स खारेजीमा परेको यूटीएलका पूर्व-कर्मचारी समेत हुन् । अख्तियारले विशेष अदालतमा दायर गरेका सूचना प्रविधिसम्बन्धी अधिकांश मुद्दामा ज्ञवालीलाई विज्ञको रूपमा काम गराउने गरेको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) का साथै अरू मुद्दामा अख्तियारको विज्ञको रूपमा उनले काम गर्दै आएका छन् । 

टेरामक्स भ्रष्टाचार प्रकरणमा अख्तियारले पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १८ जना विरुद्ध गएको जेठमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । टेरामक्स खरिद कार्यमा अनियमितता गरेको आरोपमा नेपाली काँग्रेसका नेतासमेत रहेका बस्नेतसहित दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षहरू दिगम्बर झा, पुरुषोत्तम खनाल र अन्य १४ व्यक्ति र दुई कम्पनीलाई विपक्षी बनाइएको छ । 

विशेष अदालतमा दायर उक्त मुद्दामा आयोगले प्रतिवादीहरूबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दाबी गरेको छ ।

पछिल्लो अध्यावधिक: पुस १४, २०८२ १०:२७