close

कम्प्युटर विज्ञान उप-प्राध्यापक परीक्षामा अयोग्यलाई पास गराइएको भन्दै त्रिवि सेवा आयोगमा ताला

टेकपाना टेकपाना

पुस १४, २०८२ २१:५८

कम्प्युटर विज्ञान उप-प्राध्यापक परीक्षामा अयोग्यलाई पास गराइएको भन्दै त्रिवि सेवा आयोगमा ताला

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा तालाबन्दी गरिएको छ । मङ्गलवार हुन लागेको उप-प्राध्यापक पदको कम्प्युटर विज्ञान विषयको परीक्षामा योग्यता नपुगेका उम्मेदवारहरूको नाम समेत स्वीकृत गरिएको भन्दै कम्प्युटर विज्ञान विद्यार्थी सङ्घले ताला लगाएको हो ।

विद्यार्थीहरूले आइतबार राति सेवा आयोगसँगै विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयमा समेत तालाबन्दी गरेका थिए । तर, डिन कार्यालयले माग सम्बोधनका लागि सघाउने मौखिक प्रतिबद्धता जनाएपछि त्यहाँको ताला खोलिएको कम्प्युटर विज्ञान विद्यार्थी सङ्गठनका अध्यक्ष निश्चल बुढाथोकीले बताए । सेवा आयोगमा भने तालाबन्दी कायमै छ ।

त्रिवि सेवा आयोगले गत २१ जेठमा कम्प्युटर विज्ञानका १४ जनासहित १०२ ओटा विषयका उपप्राध्यापक पदका लागि विज्ञापन खुलाएको थियो । कम्प्युटर विज्ञान विषयको उपप्राध्यापकका लागि एमएस्सी सीएसआईटी वा एमएस्सी सीएस अध्ययन गरेका व्यक्तिहरू मात्र योग्य हुनुपर्ने बुढाथोकीको दाबी छ । तर, आयोगले अन्य विश्वविद्यालयबाट फरक विषय पढेका उम्मेदवारहरूलाई समेत परीक्षाका लागि योग्य ठहर गर्दै नामावली सार्वजनिक गरेकोमा उनीहरूले आपत्ति जनाएका छन् ।

अध्यक्ष बुढाथोकीले भने, “त्रिविको कम्प्युटर विज्ञानको पाठ्यक्रमसँग नमिल्ने आईटी विषय पढेका उम्मेदवारहरूलाई पनि यस पटक आयोगले समावेश गरेको छ । यो नियमविपरीत छ ।”

उनका अनुसार गत असारमा ‘कम्प्युटर विज्ञान विषय समिति’ले सेवा आयोगको परीक्षामा सहभागी हुन एमएस्सी सीएस र एमएस्सी सीएसआईटी पढेको हुनुपर्ने निर्णयसहितको कार्यविधि तयार पारेको थियो । उक्त कार्यविधिमा एमएस्सी सीएसआईटी कार्यक्रम सञ्चालनका लागि सोही विषय वा सो सरहको उपाधि प्राप्त गरेका शिक्षक हुनुपर्ने उल्लेख छ । कार्यविधिमा भनिएको छ, “एमएस्सी सीएसआईटी वा सो सरहको उपाधि प्राप्त गरी त्रिवि नियमानुसार योग्यता पूरा गरेका प्रति सेक्सन न्यूनतम ५ जना पूर्णकालीन शिक्षक नियुक्ति गर्नुपर्नेछ ।”

विद्यार्थी सङ्गठनका अनुसार ‘सो सरह’ भन्नाले एमएस्सी सीएलाई मात्र बुझाउँछ । तर, आयोगले अन्य असम्बन्धित आईटी विषयका उम्मेदवारलाई पनि प्रवेश पत्र दिएको उनीहरूको भनाइ छ । यस्तै, विगतका विज्ञापनमा अयोग्य ठहरिएका उम्मेदवारलाई यस पटक योग्य मानिएको भन्दै उनीहरूले आर्थिक चलखेलको समेत शङ्का गरेका छन् ।

विद्यार्थीहरूको मुख्य माग विगतमा अयोग्य ठहरिएका उम्मेदवारहरूको छानबिन गरी उनीहरूलाई परीक्षाबाट रोक्नुपर्ने र यदि योग्य ठहरिएका हुन् भने त्यसको लिखित कारण आयोगले दिनुपर्ने भन्ने छ ।

यस विषयमा त्रिवि सेवा आयोगका प्रमुख विष्णु अर्यालले भने विज्ञापन जेठमा खुलेको र विषय समितिले कार्यविधि असारमा मात्र पठाएकाले नयाँ कार्यविधि मान्न नसकिने बताए । उनले भने, “जेठमा विज्ञापन भइसकेपछि असारमा आएको कार्यविधि प्राज्ञिक परिषद्‌बाट पास नभई लागू गर्न सकिँदैन । परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेकाले अब अदालतको आदेश बिना नामावली हेरफेर गर्न सम्भव छैन ।”

अर्यालले अन्य विषयमा पनि समकक्षताका आधारमा उम्मेदवार छनोट गर्ने गरिएको र कम्प्युटर विज्ञानमा पनि त्यसै गरिएको दाबी गरे । यद्यपि, विद्यार्थीहरूले भने योग्य उम्मेदवारले मात्र प्रतिस्पर्धा गर्न पाउनुपर्ने अडान राख्दै तालाबन्दी जारी राखेका छन् । उपकुलपति कार्यालयसँग समन्वय हुन नसक्दा यो विवाद अझै सुल्झिएको छैन ।

पछिल्लो अध्यावधिक: पुस १४, २०८२ २१:५८