सामाजिक सञ्जालमा अब फलोअर्सभन्दा एल्गोरिदम बलियो, क्रियटरले कसरी उठाउन सक्छन् फाइदा ?
पुस १५, २०८२ ११:२८
काठमाडौँ । सामाजिक सञ्जालको बदलिँदो स्वरूपसँगै ‘क्रियटर इकोनोमी’मा नयाँ चुनौती र अवसर थपिएका छन् । पछिल्लो समय सामाजिक सञ्जाल पूर्ण रूपमा ‘एल्गोरिदम’ मा निर्भर हुन थालेपछि क्रियटरले पोस्ट गर्दैमा उनीहरूका फलोअर्सले सामग्री सजिलै देख्छन् भन्ने ग्यारेन्टी लगभग सकिएको छ ।
टेकक्रन्चसँग कुरा गर्दै एलटीकेकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एम्बर भेन्ज बक्सले भनिन्, “सन् २०२५ यस्तो वर्ष रह्यो, जहाँ एल्गोरिदमले बजारमा पूर्ण नियन्त्रण कायम गर्यो । यसले गर्दा फलोअर्सको सङ्ख्याको महत्त्व लगभग शून्य बराबर हुन पुगेको छ ।”
यो अवस्थालाई ध्यानमा राख्दै क्रियटरले आफ्ना फलोअरसँग सम्बन्ध कायम राख्न नयाँ र भिन्न उपाय अपनाउन थालेका छन् । एकातिर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सिर्जना गरेका कमसल सामग्रीको बाढी आएको छ भने अर्कोतिर अडियन्स वास्तविक र विश्वसनीय क्रियटरतर्फ बढी आकर्षित भइरहेका छन् ।
एआईको भीडमा ‘वास्तविक मानिस’ माथिको विश्वास बढ्दो
नर्थवेस्टर्न युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार क्रियटरमाथिको जनविश्वास अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले वृद्धि भएको छ । सीईओ बक्सका अनुसार एआईको बढ्दो प्रयोगले गर्दा मानिस अब वास्तविक जीवनका अनुभव भएका ‘ह्युमन क्रियटर’ (मानव सर्जक) लाई बढी विश्वास गर्न थालेका छन् । यही कारणले गर्दा करिब ९७ प्रतिशत मार्केटिङ प्रमुखले आगामी वर्ष इन्फ्लुएन्सर मार्केटिङमा बजेट बढाउने तयारी गरेको उनी सुनाउँछिन् ।
“यदि तपाईँले मलाई २०२५ को सुरुमा ‘क्रियटरमाथिको विश्वास बढ्ला कि घट्ला?’ भनेर सोध्नुभएको भए, म सम्भवतः ‘घट्छ’ भन्थेँ होला,” बक्सले भनिन्, “किनभने मानिसले यो एउटा उद्योग हो भन्ने बुझिसकेका छन् र यसले कसरी काम गर्छ भन्ने कुरा पनि उनीहरूलाई राम्ररी थाहा छ । तर वास्तवमा एआईले मानिसलाई ती वास्तविक व्यक्तिमाथि विश्वास गर्न प्रेरित गर्यो, जोसँग वास्तविक जीवनका वास्तविक भोगाइ र अनुभव छन् ।”
एल्गोरिदमको यो युगमा टिकिरहन क्रियटरले नयाँ रणनीति अपनाएका छन् । ‘क्यारेट फाइनान्सियल’ का सह-संस्थापक एरिक वेईका अनुसार चर्चित क्रियटरले अहिले ‘डिस्कर्ड’ जस्ता माध्यमबाट किशोर-किशोरीलाई पैसा दिएर आफ्ना सामग्रीका छोटा क्लिप बनाउन र फैलाउन लगाउने गरेका छन् । यसो गर्दा एल्गोरिदमलाई ती कन्टेन्टप्रति अडियन्सको चासो छ भन्ने हुन्छ र कन्टेन्ट भाइरल हुन्छ ।
वेइले थप स्पष्ट पार्दै भने, “यो क्रम केही समयदेखि चलिरहेको छ । ड्रेकदेखि लिएर विश्वका धेरै ठुला क्रियटर र चर्चित ट्विच स्ट्रिमर काई सेनाटलेदेखि अन्यले पनि यसै गरी लाखौँ ‘इम्प्रेसन’ बटुलेका छन् । यदि कुनै सामग्री चल्ने आधार एल्गोरिदमले तय गर्छ भने ‘क्लिपिङ’ (भिडिओका छोटा अंश काट्ने काम) को ठुलो अर्थ रहन्छ । किनभने राम्रो क्लिप छ भने त्यो जोसुकैको सामान्य अकाउन्टबाट पोस्ट हुँदा पनि भाइरल हुन सक्छ ।”
युवा पुस्ताका लागि कन्टेन्ट उत्पादन गर्ने ‘क्यु-यु मिडिया’का अध्यक्ष ग्लेन गिन्सबर्ग मिम अकाउन्टकै कारण क्लिपिङले व्यपकता पाएको सुनाउँछन् । “क्लिपिङलाई मिम अकाउन्टकै एउटा विकसित रूप मान्न सकिन्छ,” उनी भन्छन्, “अहिले क्रियटरहरूबिच एउटै कन्टेन्टलाई लिएर त्यसलाई व्यापक रूपमा फैलाउने र एउटै ‘आईपी’ (बौद्धिक सम्पत्ति/कन्टेन्ट) मा कसले सबैभन्दा बढी भ्युज ल्याउन सक्छ भनेर प्रतिस्पर्धा गर्ने एउटा होडबाजी नै चलेको छ ।”
बढ्दै निसतर्फको आकर्षण
सामाजिक सञ्जाल अब ‘सामाजिक’ मात्र नरहेको बुझाइ बलियो हुँदै गइरहेको छ । “अहिले ९४ प्रतिशतभन्दा धेरै मानिसलाई सामाजिक सञ्जाल अब सामाजिक रहेन भन्ने लाग्छ,” बक्स भन्छिन्, “तीमध्ये आधाभन्दा धेरै मानिस अहिले साना र निश्चित विषयमा केन्द्रित समुदायतर्फ आकर्षित भइरहेका छन्, जहाँ उनीहरूले वास्तविक मानिससँग कुरा गर्न र घुलमिल हुन पाउँछन् ।”
स्ट्राभा, लिङ्क्डइन र सबस्ट्याक जस्ता विशिष्ट विधामा सक्रिय प्लेटफर्मको लोकप्रियता बढ्दै गएको उनी सुनाउँछिन् । मिस्टर बिस्ट जस्ता ‘म्याक्रो क्रियटर’ बन्न अब कठिन हुँदै गएको विज्ञको तर्क छ । त्यसको सट्टा निश्चित विधा (निस) मा दख्खल राख्ने क्रियटर बढी सफल भइरहेका छन् । उदाहरणका लागि ‘एपिक गार्डेनिङ’ का सञ्चालकले एउटा युट्युब च्यानलबाट सुरु गरेर अहिले अमेरिकाको तेस्रो ठुलो सिड कम्पनी खरिद गर्ने सफलता प्राप्त गरेका छन् ।
विज्ञहरूका अनुसार क्रियटर इकोनोमी अब मनोरञ्जनमा मात्र सीमित छैन । यसले सिमेन्ट मिक्सिङदेखि लिएर कृषि र प्रविधिसम्मका हरेक क्षेत्रमा गहिरो प्रभाव पारिरहेको छ । एल्गोरिदमको उतारचढावका बीच पनि यो उद्योग झन् बलियो र विस्तारित हुँदै गइरहेको छ ।
पछिल्लो अध्यावधिक: पुस १५, २०८२ ११:३६
