गर्भावस्थालाई लिएर रास्वपा नेतृ रञ्जु दर्शनामाथि सामाजिक सञ्जालमा साइबर बुलिङ
पुस १७, २०८२ २३:२१
काठमाडौँ । आगामी २१ फागुनका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनको तयारीमा राजनीतिक दलहरू जुटिरहेका बेला सामाजिक सञ्जालमा पनि यसको व्यापक चर्चा भइरहेको छ । यही चर्चाका बीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ रञ्जु दर्शनाको गर्भावस्थालाई जोडेर सामाजिक सञ्जालमा बुलिङ सुरु भएको छ ।
निर्वाचनका लागि रास्वपाले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा दर्शनाको नाम समावेश छ । यसअघि काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर उल्लेख्य मत प्राप्त गरिसकेकी दर्शनाले यसपटक प्रत्यक्षतर्फ नलडी समानुपातिकमा उम्मेदवारी दिएको भन्दै आलोचना सुरु भएको थियो । यसैबिच, गत ३० डिसेम्बरमा दर्शनाले फेसबुकमार्फत ‘बेबी बम्प’ (गर्भवती अवस्थाको पेट) देखिने तस्बिर सार्वजनिक गर्दै आफू आमा बन्न लागेको जानकारी दिएकी थिइन् ।
त्यसपछि, केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले उनको गर्भावस्था र समानुपातिक माध्यमबाट संसद् छिर्ने निर्णयलाई जोडेर नकारात्मक टिप्पणी गर्न थालेका हुन् । कतिपय प्रयोगकर्ताले उनलाई सुत्केरीको बहानामा सांसद बनेर भत्ता खाने दाउ गरेकोदेखि गर्भावस्थामा पनि पद ओगटेर बसेको सम्मका आरोप लगाएका छन् ।
दर्शनाले बुधबार राति कमेडियन हिमेश पन्तसँगको अन्तर्वार्ताका क्रममा खिचिएका तस्बिरहरू सार्वजनिक गरेकी थिइन् ।
उक्त पोस्टमा प्रतिक्रिया दिँदै फेसबुक प्रयोगकर्ता ‘BK Manandhar’ ले व्यङ्ग्य गर्दै लेखेका छन्, “अब यदि चुनाव भयो भने समानुपातिक बाट संसद बनेर सुत्केरी भत्ता र संसद सुबिधा लिएर घरमा आराम गरेर बस्ने त होनि 😃🤣😁 नयाँ पार्टीको बिकास योजना ।”
त्यस्तै, अर्का एक प्रयोगकर्ताले व्यङ्ग्य गर्दै लेखेका छन्, “मेरि श्रीमती जि पनि गर्भवती होईसिन्छ दर्शना जि लौन आदिवासीजनजाति को समानुपातिक कोटामा अटाईदिनु पर्यो ।”
फेसबुक प्रयोगकर्ता ‘Bibek Shah’ ले दर्शनाको गर्भावस्था र सन्तानका कारण भविष्यमा विकासका काममा बाधा पुग्ने आशङ्का व्यक्त गरेका छन् । उनले लेखेका छन्, “2082: म गर्भवती भएर समानुपातिक मा बसेको 2086:मेराे बच्चा भएकाेले मैले देश विकास गर्न सकिन .....भन्न बेर छैन यिनहरुले पछि ।”
बुधबार बिहान ११:२६ मा दर्शनाले रास्वपाको र्याली र चुनावी प्रचारप्रसारमा सहभागी भएको भिडिओ सार्वजनिक गरेकी थिइन् । उक्त भिडिओमा पनि उनको गर्भावस्थालाई लिएर असभ्य टिप्पणीहरू भएका छन् । फेसबुक प्रयोगकर्ता 'CM Rakendra Parajuli' ले “अरू सबै ठिकै होस् । मिसक्यारेज नहोस् । शूभकामना” लेखेका छन् । अर्का प्रयोगकर्ता ‘Ishwor Singh Saud’ ले उनलाई राजनीति छोडेर घरमै बस्न सुझाव दिँदै लेखेका छन्, “तिमी तेल तताएर घरमै बसेर मालिस गरि बस रन्जु मेरो शुझाप ।”
टिकटकमा 'Anmol Media' ले सार्वजनिक गरेको एक भिडिओमा दर्शनाले आफू रहरले नभई शारीरिक अवस्थाका कारण धेरै धपेडी गर्न नसक्ने भएकाले समानुपातिक रोजेको बताएकी छिन् । उक्त भिडिओमा 'Nagindra Basnet' नामक प्रयोगकर्ताले लेखेका छन्, “जे होस इनले राम्ररी बच्चा हुर्काउने भईन सरकारी भत्ताले ।”
अर्का फेसबुक प्रयोगकर्ता ‘Bikash Shahi’ ले “मेरो स्वास्थ अवस्थाका कारण समानुपातिक बसे : रन्जु दर्शना” शीर्षकसहित दर्शनाको फोटो शेयर गरेका छन् । उक्त पोस्टमा अधिकांशले होच्याएर कमेन्ट गरेका छन् । दर्शनामाथि आएका नकारात्मक कमेन्टहरू अधिकांश पुरुषहरूले गरेको भन्दै फेसबुक प्रयोगकर्ता ‘Anjana Shrestha’ ले आपत्ति जनाएकी छिन् । उनले लेखेकी छिन्, “माथी देखि तल सम्म कमेन्ट हेर्दा ९९% पुरुषहरुले कमेन्ट गर्नु भाको छ अनि सोच कति गिरेको छ्या छ्या ।”
सामाजिक सञ्जालमा भइरहेका यस्ता नकारात्मक र व्यक्तिगत टिप्पणीहरूप्रति धेरैले आपत्ति समेत जनाएका छन् । फेसबुक प्रयोगकर्ता गीता चिमोरियाले एक स्टाटस लेख्दै यसलाई मातृत्वमाथिको भद्दा मजाक भन्दै कडा विरोध गरेकी छिन् । उनले लेखेकी छिन्, “रञ्जु दर्शनाका बारेमा सामाजिक सञ्जालमा आएका टिप्पणी हेरेर थाहा हुन्छ, नेपालीहरूको औकात ! हामी 'गतिलो' देश डिजर्भ नै गर्दैनौं । तिमीलाई तिम्रो आमाले घाँस काट्दा काट्दै पाखो बारीमा, दाउरा लिन जाँदा जंगलमै पाउन सक्ने । अनि, रञ्जु दर्शनाले गर्भावस्थामा सांसदको दौडमा हिंड्न नसक्ने/नहुने भन्ने छ ? 😡 विचार र क्षमतामा प्रश्न उठाऊ, योगदानमा प्रश्न गर तर, महिलाको शरीर र मातृत्वमाथीको भद्दा मजाक कदापि स्वीकार्य छैन । 😠 विचार नमिल्न सक्छ, पार्टी फरक होला । तर, हरेक आमा उत्तिकै सम्मानित हुन्छन् । छन् । #रन्जु दर्शना रास्वपा हुनुभन्दा पहिला एउटा महिला हुन् र बन्दै गरेकी आमा हुन् । 🙏 गर्भवती महिला र आमाहरूलाई संसदमा निषेध गर्न चाहन्छौ, त्यो हिम्मत छ भने कानुन बनाएर रोक । तर, आफू जन्मिएको कोखलाई बिर्सिएर अर्को एउटा आमा बन्दै गरेको महिलालाई त्यति तल्लो स्तरमा झरेर टिप्पणी नगर ।”
नकारात्मक कमेन्ट आइरहँदा सामाजिक सञ्जालमा दर्शनाको गर्भावस्था र राजनितिक सक्रियता देखाएर निकै बहादुरी देखाएको भन्दै सकारात्मक प्रतिक्रिया दिने प्रयोगकर्ता पनि छन् । उनले गरिरहेको काममा सबै महिलाका लागि गर्व गर्न लायकको रहेको बताएका छन् । गर्भावस्थामा आफ्नो स्वास्थ्यको ख्याल राख्दै चुनावमा सरिक हुन केही प्रयोगकर्ताले सुझाव समेत दिएका छन् ।
पछिल्लो अध्यावधिक: पुस १७, २०८२ २३:२७
