एआई र प्रविधिको प्रयोगबाट नागरिकका समस्या सुल्झाउन सुदन गुरुङले ल्याए ‘द सिभिलियन फोर्स’
पुस १७, २०८२ २३:५७
काठमाडौँ । परिवर्तन चाहने सबै नेपालीहरूलाई एकै ठाउँमा एकीकृत गर्ने भन्दै जेनजी अगुवा सुदन गुरुङ लगायतको पहलमा राष्ट्र एकीकरण अभियान र ‘द सिभिलियन फोर्स’ नामक प्लेटफर्मको घोषणा गरिएको छ ।
बिहीबार राति एक भिडिओ सन्देश जारी गर्दै गुरुङले राष्ट्र एकीकरण अभियान डटकम (rastraekikaranabhiyan.com)को टेस्ट भर्सन सार्वजनिक भएको जानकारी दिएका हुन् । यस प्लेटफर्मले आम जनताका समस्यालाई तल्लो तहदेखि नै संकलन गरी राज्यको केन्द्रसम्म पुर्याउने र समाधान खोज्ने पुलको काम गर्ने उनले दाबी गरे ।
गुरुङका अनुसार यस वेबसाइटमा मुख्यतया दुई प्रकारका एजेन्डाहरूमा काम गरिनेछ । राष्ट्रिय एजेन्डाअन्तर्गत मुलुकको समग्र समस्या, जस्तै; सरकारको अस्थिरता र यसलाई कसरी समाधान गर्ने भन्ने विषयमा सामूहिक छलफल र समाधानको बाटो खोजिने छ । स्थानीय समस्याअन्तर्गत गाउँ-टोलका बाटो, पुल, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत समस्याहरूलाई नागरिकले सिधै रिपोर्ट गर्न सक्नेछन् ।
यस अभियानमा आधुनिक प्रविधिको उच्च प्रयोग गरिने बताइएको छ ।
भर्सन २ मा आर्टिफिसियल इन्टेलिजेन्स (एजेन्टिक एआई) लाई नेपालको संविधान र कानुनका धाराहरू सिकाएर ट्रेन गराइने गुरुङले जानकारी दिए । एआईले नागरिकका समस्यालाई कानुनी आधारमा विश्लेषण गर्नेछ भने विज्ञहरूको टोलीले त्यसलाई प्रमाणीकरण गरी अन्तिम ड्राफ्ट बनाउनेछ । उक्त फाइललाई काठमाडौँमा रहने छायाँ सरकार (Shadow Government) को टोलीले सम्बन्धित मन्त्रालय र विभागहरूमा पुर्याएर कार्यान्वयनका लागि दबाब दिने कार्यविधि तय गरिएको छ ।
भिडिओमा गुरुङले भनेका छन्, “चुनावपछि सधैँ नेताहरू शक्तिशाली हुन्छन्, तर अब जनता शक्तिशाली हुनुपर्छ । यो प्लेटफर्मले नागरिकको आवाजलाई संगठित गरी उनीहरूलाई नै निर्णयकर्ता बनाउनेछ ।”
उनले यो कुनै राजनीतिक दल नभई देश परिवर्तनका लागि उभिएको नागरिकहरूको संगठित शक्ति भएको स्पष्ट पारे ।
हाल इन्टरनेटको पहुँच भएका ठाउँमा यो अभियान केन्द्रित भएको र आगामी दिनमा इन्टरनेट नभएका दुर्गम गाउँ र हिमालपारिका जिल्लाहरूको समस्या कसरी केन्द्रसम्म पुर्याउने भन्ने विषयमा समेत गृहकार्य भइरहेको उनले बताए । “यो हाम्रो पहिलो खुड्किलो मात्र हो,” उनले थपे, “हामी हरेक नेपालीको समस्याको समाधान खोज्नेछौँ ।”
२७ पुसमा औपचारिक सुरुवात
अहिले सार्वजनिक गरिएको संस्करण १० दिनसम्म परीक्षणका रूपमा रहने बताइएको छ । यस अवधिमा प्राप्त हुने सुझाव र प्रतिक्रियाका आधारमा सुधार गरी आगामी २७ पुस (पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस) का दिन यसको भर्सन १ आधिकारिक रूपमा लन्च गर्ने योजना छ । गुरुङले देश-विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई वेबसाइटमा लग-इन गरी यस राष्ट्र निर्माणको महाअभियानमा जोडिन आह्वान गरेका छन् ।
पछिल्लो अध्यावधिक: पुस १८, २०८२ ११:२१
