close

जेन-जी र राजावादीको आवरणमा सरकारी सिस्टममाथि शृङ्खलाबद्ध आक्रमण, दुई युवक पक्राउ

टेकपाना टेकपाना

पुस २०, २०८२ १७:११

जेन-जी र राजावादीको आवरणमा सरकारी सिस्टममाथि शृङ्खलाबद्ध आक्रमण, दुई युवक पक्राउ

काठमाडौँ । जेन-जी विद्रोह र राजावादी समर्थकको आवरणमा सरकारी तथा गैरसरकारी निकायका वेबसाइट ह्याक गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई हालै झापा र सिन्धुपाल्चोकबाट नियन्त्रणमा लिएको हो । 

पक्राउ पर्नेमा झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं. ९ निवासी २० वर्षीय सन्तोष चिमरिया र झापाकै दमक नगरपालिका वडा नं. ९ स्थायी घर भई हाल सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका वडा नं. ९ मा बस्दै आएका १९ वर्षीय विकास पौडेल रहेका छन् ।

साइबर ब्युरोका अनुसार विगत केही महिनादेखि ‘जेन-जी राइजिङ नेपाल’, ‘सीएमडी नेपाल’ र ‘नेपाली फर नेपाल (एनएफएन) लगायतका समूहका नाममा विभिन्न सरकारी कार्यालयका सर्भर र सूचना प्रणालीमा श्रृङ्खलाबद्ध रूपमा डेटा ब्रिच गरी सामाजिक सञ्जालमार्फत प्रचार गर्ने काम भइरहेको थियो । नेपाल मेडिकल काउन्सिल, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग र निर्वाचन आयोग नेपालबाट प्राप्त निवेदनका आधारमा ब्युरोले प्राविधिक विश्लेषण र अनुसन्धान गर्दा उनीहरूको संलग्नता पुष्टि गरेको हो ।

चिमरियालाई २८ मंसिर २०८२ र पौडेललाई १८ पुसमा सिन्धुपाल्चोक पक्राउ गरिएको हो । “निवेदन आएपछि हामीले पञ्जीकरण विभाग र मेडिकल काउन्सिलको सिस्टम विश्लेषण गर्दा पहिले सन्तोष चिमरियालाई पहिचान गर्‍यौं,” साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले टेकपानासँग भने, “चिमरियाकै माध्यमबाट विकास पौडेलको संलग्नता खुलेको हो । यसमा अहिलेसम्म पौडेलकै भूमिका बढी देखिन्छ । हामी थप अनुसन्धान गरिरहेका छौं ।”

पक्राउ परेका युवकहरूको साथबाट ठुलो परिमाणमा विद्युतीय उपकरण समेत बरामद गरिएको ब्युरोले जनाएको छ । बरामद गरिएका सामग्रीमा चार थान ल्यापटप, १० थान एन्ड्रोइड मोबाइल, एक थान आईफोन, एक थान फिचर फोन, एक थान हार्डड्राइभ र एक थान रिपिटर रहेका छन् । 

पक्राउ परेका युवकलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

‘नेपाल फर नेपाली’, ‘जेन-जी राइजिङ नेपाल’, ‘सीएमडी नेपाल’ त्यही समूह हो जसले टेलिग्राममार्फत विभिन्न सरकारी तथा गैरसरकारी निकायका वेबसाइट ह्याक गरेको सूचना प्रसारण गर्दै आएको थियो । विशेषगरी दुर्गा प्रसाईं र पूर्वराजा ज्ञानेन्द्र शाहको समर्थन गर्दै तयार पारिएका पोस्ट यस समूहले नियन्त्रणमा लिएका वेबसाइटमा राख्दै आएको थियो ।

पछिल्लो अध्यावधिक: पुस २०, २०८२ १७:३२