close

टेकपाना फ्याक्टचेकः भेनेजुएलाका राष्ट्रपतिपछि ट्रम्पले ओलीलाई उठाउन लागेको भन्दै स्क्याम पोस्ट भाइरल

हिक्मत आचार्य हिक्मत आचार्य

पुस २४, २०८२ १८:२६

टेकपाना फ्याक्टचेकः भेनेजुएलाका राष्ट्रपतिपछि ट्रम्पले ओलीलाई उठाउन लागेको भन्दै स्क्याम पोस्ट भाइरल

काठमाडौँ । पछिल्ला केही दिनदेखि सामाजिक सञ्जाल फेसबुकमा अमेरिकी राष्ट्रपति डोल्ड ट्रम्प र नेपालका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको फोटो जोडेर एउटा पोस्ट भाइरल भइरहेको छ । समाचारको लिङ्क जस्तो देखिने उक्त पोस्टमा अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएपछि अब ‘ओली’लाई उठाउने तयारी गरिरहेको दाबी गरिएको छ । 

टेकपानाले गरेको तथ्यजाँचबाट यो पोस्ट भ्रामक देखिएको छ । प्रयोगकर्तालाई ‘क्लिकबेट’ शीर्षक प्रयोग गरी स्क्याम साइटमा पुर्‍याउने उद्देश्यले यस्तो पोस्ट राखिएको पनि पुष्टि भएको छ ।

दाबी

फेसबुकमा ‘Phai-Futtey’ नामक पेजले ६ जनवरी २०२५ बेलुका ८ः२४ बजे ‘आयो पो त’ क्याप्सन राख्दै एउटा स्क्रिनशट पोस्ट गरेको छ । उक्त स्क्रिनशटको माथिपट्टि क्याप्सन देखिन्छ । जहाँ लेखिएको छ, “भेलेजुवाका रास्ट्रपति पछि कलिला बालबालिका हत्या गरेको आरोपमा ओलिलाई उठाउने ट्रम्पको चेतावनी अब तिमि पन उ See more….

त्यसभन्दा तल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र नेपालका पूर्वप्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीको फोटो जोडेर राखिएको छ । 

त्यसभन्दा तल लिङ्क भएको साइटको नाम ‘Videoo.link’ देखिन्छ भने त्यसको मुनी “भेलेजुवाका रास्ट्रपति पछि कलिला बालबालिका हत्या गरेको आरोपमा ओलिलाई उठाउने ट्रम्पको चेतावन” लेखेको देखिन्छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा तीन हजार बढी रियाक्सन, ५१८ कमेन्ट र १९७ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले अनुसन्धानका क्रमममा फेसबुकमा ‘भेलेजुवाका रास्ट्रपति’, ‘कलिला बालबालिका हत्या’, ‘आरोपमा ओलिलाई’, ‘ट्रम्पको चेतावन’ जस्ता कीवर्ड राखेर हेर्‍यो । त्यस क्रममा विभिन्न नेपाली फेसबुक ग्रुपमा एउटा समाचारको लिङ्क जस्तो देखिने पोस्ट व्यापक शेयर भइरहेको फेला पर्‍यो ।

राजु घिमिरे नामक फेसबुक प्रयोगकर्ताले आफू मोडरेटर रहेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी बौद्धिक समुह’ भन्ने फेसबुक ग्रुपमा पोस्ट शेयर गरेको फेला पर्‍यो । ६ जनवरी २०२५, बेलुका ७ः५८ बजे शेयर गरेको उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “भेलेजुवाका रास्ट्रपति पछि कलिला बालबालिका हत्या गरेको आरोपमा ओलिलाई उठाउने ट्रम्पको चेतावनी अब तिमि पन उ See more…” त्यसमा तलपट्टि डोनाल्ड ट्रम्प र केपी शर्मा ओलीको फोटो राखिएको छ । त्यसभन्दा तल ‘VIDEOO.LINK’ नामक वेबसाइटको लिङ्क छ । र, समाचारको शीर्षकमा माथि उल्लेख भएकै क्याप्सन राखिएको छ ।

हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट । 

 

राजु घिमिरेले यही लिङ्क ‘Rabi Lamichhane Fan’, ‘बालेन शाहलाई सबैले सहयोग गरौ - Balen Shaha’, ‘कमला घिमिरे फ्यान - Kamala Ghimire’, ‘ABC इन्द्रेणी FANS’, ‘Raju Pariyar Fan Club’ लगायतका अन्य दर्जनौँ ग्रुपमा शेयर गरेको पाइयो । (हेर्नुहोस् स्क्रिन रेकर्ड)

 

यही लिङ्क ‘A24’, ‘नेपाली news’, ‘a5’ जस्ता पेजबाट अन्य ग्रुपमा शेयर गरेको देखियो । अनुसन्धानका क्रममा यी पेज र राजु घिमिरे नामक प्रयोगकर्ताले शेयर गर्ने लिङ्क, पोस्ट एउटै  प्रकृतिको छ । यसबाट राजु घिमिरेले नै यी पेज चलाएको जस्तो देखिन्छ । त्यस्तै अञ्जानमै एउटा ग्रुपमा शेयर गर्नु स्वभाविक मान्न सकिएला । तर, आफू मोडरेटर वा एड्मिन नभएका अन्य दर्जनौँ ग्रुपमा उही पोस्ट शेयर गरेको देखिएकाले यो लिङ्क राजु घिमिरेले नै सञ्चालन गर्ने गरेको देखिन्छ । 

शीर्षकमा कतै पनि ‘केपी शर्मा ओली’ नाम उल्लेख छैन । नाम ‘ओली’ मात्र राखिएको छ । तर, फोटोमा भने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको फोटो राखिएको छ । यसबाट शीर्षकमा राखिएको ओलीले पूर्वप्रधानमन्त्री ओलीलाई नै इङ्कित गरेको देखिन्छ ।

सामान्यत लिङ्कहरू शेयर गर्दा ‘techpana.com’, ‘bbc.com’, ‘forbes.com’ देखिने सेक्सनमा ‘Videoo.link’ भन्ने डोमेनको लिङ्क देखिएकाले यो समाचारको साइट नभई तेस्रो पक्षको शंकास्पद साइट जस्तो देखिन्छ । अब यस लिङ्कले प्रयोगकर्तालाई कता लैजान्छ भन्ने जाचौँ । सामान्यतः यसमा क्लिक गर्नासाथ रिडाइरेक्ट भएर बेटिङ, एडल्ट र अन्य अवैध साइटमा पुर्‍याएको पाइयो । 

यसबाट के पत्ता लाग्यो भने यो लिङ्क फैलाउने व्यक्तिले ‘सीटीआर’ अर्थात क्लिक थ्रु रेटको लिङ्क राखेका छन् । यो यस्तो विज्ञापन लिङ्क हो, जसले लिङ्कमा भिजिटर आए वापत पैसा दिन्छ । त्यसैको लोभमा सोसल मिडिया प्रिभ्यु एडिट गर्न सकिने लिङ्कबाट क्लिक बेट फोटो र लिङ्क राखेको देखियो । वास्तवमा यो कुनै पनि समाचार साइट होइन । 

‘Videoo.link’ लिङ्कबाट सञ्चालन हुने अन्य यूआरएल ‘daady.link’ नामक प्लेटफर्मले सञ्चालन गर्ने गरेको देखिन्छ । यो यूआरएल फरवार्ड गर्ने एउटा प्लेटफर्म हो । त्यसमा क्लिक गरेपछि तपाईँलाई त्यो लिङ्क बनाउनेले जुन वेबसाइटमा चाह्यो त्यता पठाउन सक्छ । 

त्यस्तो ठाउँ जिमेल, फेसबुक अथवा कुनै बङ्कको वेबसाइट जस्तो देखिने गरी बनाएको पनि हुनसक्छ । उस्तै देखिने भएर झुक्किए तपाईँले आफ्नो युजर नेम र पासवर्ड हाल्नुभयो भने तपाईँको जानकारी ठगकहाँ पुग्छ । त्यसैले कहाँ क्लिक गर्दैछु भनेर ध्यान दिएर मात्र क्लिक गर्नुपर्छ । 

यो प्रयोगकर्तालाई झुक्याएर असान्दर्भिक ठाउँमा पुर्‍याउने लिङ्क हो र त्यहाँ देखिएको फोटो झुक्याउनका लागि राखिएको भन्ने भएपछि यसले राखेको केपी शर्मा ओली र डोनल्ड ट्रम्पको फोटोलाई तथ्यजाँच गरिरहन परेन । यद्यपि हामीले यी विषयमा समाचार सामग्री खोज्दा त्यस्तो कुनै पनि समाचार फेला परेनन्, जहाँ ट्रम्पले ओलीलाई नियन्त्रणमा लिने तयारी गरेको बारे जानकारी राखिएको होस् । यी विभिन्न तथ्यलाई आधार मान्छ ट्रम्पले ओलीलाई नियन्त्रण गर्न लागेको भन्ने सूचना मिथ्या हो भने त्यसलाई देखाउन राखिएको लिङ्क फिशिङ लिङ्क हो ।

दाबी

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएपछि अब कलिला बालबालिका हत्या गरेको आरोपमा नेपालका पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई उठाउने (नियन्त्रणमा लिने) तयारी वा चेतावनी दिएका छन् ।

दाबीकर्ता

फेसबुक पेज ‘Phai-Futtey’, राजु घिमिरे नामका फेसबुक प्रयोगकर्ता र उनले सञ्चालन गरेका ‘A24’, ‘नेपाली news’, ‘a5’ जस्ता पेज । साथै यो सामग्री ‘राष्ट्रिय स्वतन्त्र पार्टी बौद्धिक समूह’, ‘रवि लामिछाने फ्यान’, ‘बालेन शाहलाई सहयोग गरौँ’ जस्ता विभिन्न फेसबुक ग्रुपमा फैलाइएको छ ।

तथ्य

पोस्टमा प्रयोग गरिएको Videoo.link कुनै आधिकारिक समाचार संस्थाको लिङ्क नभई ‘यूआरएल फरवार्ड’ गर्ने प्लेटफर्म हो । उक्त लिङ्कमा क्लिक गर्दा कुनै समाचार खुल्दैन । बरु प्रयोगकर्तालाई झुक्याएर बेटिङ, एडल्ट साइट वा अन्य अवैध साइटहरूमा पुर्‍याउँछ । यो लिङ्क क्लिक थ्रु रेट (सीटीआर) बाट पैसा कमाउने उद्देश्यले फैलाएको देखिन्छ । 

डोनल्ड ट्रम्पले केपी शर्मा ओलीलाई लक्षित गरी त्यस्तो कुनै पनि चेतावनी दिएको वा बालबालिका हत्याको आरोप लगाएको कुनै पनि आधिकारिक समाचार वा रेकर्ड भेटिँदैन । ट्रम्प र ओलीको फोटो जोडेर प्रयोगकर्तालाई आकर्षित गर्न ‘क्लिकबेट’ शीर्षक मात्र राखिएको हो ।

निष्कर्ष

यो झुक्यानमा पार्नका लागि राखिएको झुटो पोस्ट हो । यो केपी शर्मा ओली र डोनल्ड ट्रम्पको नाम प्रयोग गरेर मानिसलाई स्क्याम साइटमा पुर्‍याउने र उनीहरूको व्यक्तिगत जानकारी जोखिममा पार्ने उद्देश्यले फैलाइएको ‘फिशिङ’ अर्थात् ‘स्क्याम पोस्ट’ मात्र हो ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्सयुट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस २४, २०८२ १८:४३