close

लिभिङ टुगेदर बस्दा खिचेका अश्लील फोटो-भिडिओको आडमा प्रोफेसरले गरे विद्यार्थीलाई ब्ल्याकमेल, असुले ११ लाख

टेकपाना टेकपाना

पुस २५, २०८२ ११:३९

लिभिङ टुगेदर बस्दा खिचेका अश्लील फोटो-भिडिओको आडमा प्रोफेसरले गरे विद्यार्थीलाई ब्ल्याकमेल, असुले ११ लाख

काठमाडौँ । आफ्नै पूर्व विद्यार्थी तथा सहकर्मीसँगको अन्तरङ्ग भिडिओ र तस्बिर सार्वजनिक गरिदिने धम्की दिएर लाखौँ रुपैयाँ असुली गरेको आरोपमा एक पूर्व प्राध्यापक विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले बिहीबार सुनसरीको धरान उपमहानगरपालिका-१८ बस्ने ४५ वर्षीय अवनिन्द्र चक्रवर्ती विरुद्ध विद्युतीय कारोबार र आपराधिक लाभ सम्बन्धी कसुरमा मुद्दा दायर गरेको हो ।

पीडित रूपा कार्की (परिवर्तित नाम) हाल संयुक्त राष्ट्रसङ्घ (यूएन) अन्तर्गत एक अफ्रिकी देशमामा स्वास्थ्य विशेषज्ञको रूपमा कार्यरत छिन् । सन् २०१४ मा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनस्वास्थ्य विषयमा स्नातकोत्तर गर्दा चक्रवर्ती उनका प्रोफेसर रसुपरभाइजर थिए ।

अभियोग पत्रका अनुसार उनीहरूबिच सन् २०१६ देखि २०२० सम्म निकट सम्बन्ध रहेको र लिभिङ टुगेदरमा समेत बसेको खुल्न आएको छ । चक्रवर्तीले गरेको बयानका क्रममा भनेका छन्, "हामीहरूबिच पटक पटक लेनदेन हुने गरेको थियो । उनले बिवाह गर्ने भए पहिलेको श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नुपर्ने भने पछि मैले सो समेत गरी विवाह प्रस्ताव राख्दा उनले विवाह गर्न नमान्ने, मसँग सम्पर्कमा नै नरहने, मेरो फेसबुक, इन्स्टाग्राम अकाउन्ट ब्लक गर्ने गरेकीले मैले आफ्नो लेनदेनको रकम फिर्ता माग्ने उद्देश्य राखि ईमेल लेखेर रकम मागेको थिएँ ।"

तर केही जवाफ नदिएपछि आफूहरूको अश्लील भिडिओ रहेको हार्ड डिस्क चोरी भएको भन्दै विभिन्न नामबाट आफूले नै डर त्रास देखाउन विभिन्न मेसेजहरू पठाएरको उनले बताएका छन् ।

यसरी अश्लील फोटो भिडिओको आडमा चक्रवर्तीले विभिन्न फेक इमेल मार्फत रूपालाई धम्की दिन थाले । उनले "तेरो बाबुलाई यी फोटोहरू पठाइ दिन्छु", "यूएनमा इमेल गरेर जागिर खाइदिन्छु", "सामाजिक सञ्जालमा भाइरल बनाइदिन्छु" भन्दै अनेकथरी मेसेज पठाएर मानसिक तनाव दिएर रकम मागेका थिए ।

इज्जत जाने डर र मानसिक दबाबमा परी रूपाले दुई पटकमा ११ लाख रुपैयाँ चक्रवर्तीलाई बुझाएको अभियोग पत्रमा उल्लेख छ । ११ लाख दिँदा पनि थप रकम माग्दै धम्की दिन नछाडेपछि अन्ततः रूपाले साइबर ब्युरोमा उजुरी दिएकी थिइन् ।

प्रहरीको साइबर ब्युरोले प्राविधिक अनुसन्धान गर्दा धम्कीपूर्ण इमेल पठाउन प्रयोग भएको आईपी एड्रेस र बैङ्क खाताको विवरण अवनिन्द्र चक्रवर्तीकै भएको पुष्टि भयो । प्रहरीले धरानस्थित उनको घरबाट खानतलासी गरी घटनामा प्रयोग भएका मोबाइल, ल्यापटप र पेनड्राइभ लगायतका उपकरणहरू बरामद गरेको छ ।

बयानका क्रममा चक्रवर्तीले आफूले पीडितसँगको सम्बन्धका क्रममा खर्च भएको रकम उठाउन हार्डडिस्क चोरी गरेको र इमेलमार्फत धम्की दिएर पैसा मागेको स्वीकार गरेका छन् ।

सरकारी वकिल कार्यालयले प्रतिवादी अवनिन्द्र चक्रवर्ती विरुद्ध दुईवटा कसुरमा सजाय माग गरेको छ । जसमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय र मुलुकी अपराध संहिता, २०७४ को दफा २५३ (आपराधिक लाभ) अन्तर्गत ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना माग दाबी लिइएको छ ।

साथै पीडितबाट असुल गरिएको ११ लाख रुपैयाँ बिगो जफत गरी पीडितलाई क्षतिपूर्ति भराउन समेत माग गरिएको छ ।

 

पछिल्लो अध्यावधिक: पुस २५, २०८२ ११:५०