देशभरका मतदाताको नामावली रहेको डेटा बेच्दै निर्वाचन आयोग, मूल्य १० हजार रुपैयाँ
पुस २५, २०८२ १८:५४
काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई देशभरका मतदाता नामावलीको विद्युतीय स्वरूपमा उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ मार्फत आयोगमा दर्ता भएका दलहरूलाई १० हजार रुपैयाँमा देशभरको मतदाता नामावलीको विवरण उपलब्ध गराउने व्यवस्था गरेको हो ।
कुनै दलले एउटा प्रदेशको मतदाता नामावली विवरण लिन चाहेमा पाँच हजार रुपैयाँ शुल्क बुझाउनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । यसका लागि दलका प्रतिनिधि तथा उम्मेदवारहरूले दलको औपचारिक पत्र र तोकिएको शुल्क सहित आयोगमा निवेदन दिनु पर्नेछ ।
स्वतन्त्र उम्मेदवारहरूले भने आफैँले निवेदन दिएर निर्वाचन आयोगबाट मतदाताहरूको विवरण लिन सक्नेछन् । निवेदनको आधारमा आयोगले जन्ममिति, नागरिकता नम्बर तथा मोबाइल नम्बर बाहेकको मतदाता नामावली हार्डड्राइभ वा पेनड्राइभमा राखेर प्रतिनिधिहरूलाई दिन सक्नेछ ।
निर्देशिकामा भनिएको छ, “निर्वाचन अधिकृतले कुनै मतदाता, दलको प्रतिनिधि वा उम्मेदवारले मतदाता नामावली हेर्न वा आफ्नै खर्चमा सार्न चाहेमा मतदाता नामावली च्यात्न, बिगार्न वा केरमेट गर्न नपाउने गरी हेर्न वा सार्न दिनु पर्नेछ ।”
जिल्लाभर तथा कुनै एक निर्वाचन क्षेत्रको मतदाता नामावली विवरण भने तीन हजार रुपैयाँ तिरेर विद्युतीय रूपमा लिन सक्ने उक्त निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार कुनै मतदाताले आफ्नो मतदाता नामावली लिन चाहेमा निर्वाचन कार्यालयले विवरण उपलब्ध गराउने छ ।
दश रुपैयाँ शुल्क लिएर आवेदन दिएका मतदाताको मात्र विवरण आउने गरी मतदाता नामावलीको प्रतिलिपि उपलब्ध गराइनेछ । मतदाता नामावलीको विवरण लिनका लागि दिनुपर्ने निवेदनको ढाँचा निर्देशिकाको अनुसूची-१ मा राखिएको छ ।
निवेदनका आधारमा दिइने विवरणमा मतदाताको नाम, लिङ्ग, ठेगाना र मतदान स्थलको विवरण उपलब्ध हुने निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । उनले भने, “नामावलीको विवरणमा मतदान स्थलको विवरण मुख्य हो । वैवाहिक स्थिति, फोटो, जन्म मिति लगायतका व्यक्तिगत विवरणहरू उपलब्ध गराईँदैन ।”
पछिल्लो अध्यावधिक: पुस २५, २०८२ १८:५४
