close

अश्लील कन्टेन्ट फैलाएको भन्दै ग्रोकलाई प्रतिबन्ध लगाउने पहिलो देश बन्यो इन्डोनेसिया

टेकपाना टेकपाना

पुस २६, २०८२ १९:११

अश्लील कन्टेन्ट फैलाएको भन्दै ग्रोकलाई प्रतिबन्ध लगाउने पहिलो देश बन्यो इन्डोनेसिया

काठमाडौँ । इन्डोनेसिया विश्वकै धनी व्यक्ति एलन मस्कको एआई कम्पनी एक्सएआईले निर्माण गरेको च्याटबट ‘ग्रोक’ माथि प्रतिबन्ध लगाउने पहिलो देश बनेको छ । एआईमार्फत अश्लील र आपत्तिजनक सामग्री उत्पादन हुने जोखिम बढेको भन्दै इन्डोनेसिया सरकारले शनिबारदेखि यस टुलमाथि अस्थायी रोक लगाएको हो ।

इन्डोनेसियाको सञ्चार तथा डिजिटल मन्त्रालयले ‘ग्रोक’ बाट सहमति बिना नै यौनजन्य ‘डिपफेक’ सामग्री र नग्न तस्बिर सिर्जना भइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ । मन्त्री मेउतिया हाफिदले एक विज्ञप्ति जारी गर्दै भने, “डिजिटल स्पेसमा सहमति बिना बनाइने यौनजन्य डिपफेक सामग्रीलाई सरकारले मानव अधिकार, मर्यादा र नागरिकको सुरक्षाको गम्भीर उल्लङ्घनका रूपमा लिएको छ ।” मन्त्रालयले यस विषयमा थप छलफल गर्न सामाजिक सञ्जाल एक्सका अधिकारीलाई समेत बोलाएको द गार्डियनले जनाएको छ ।

ग्रोक एआईको दुरुपयोगलाई लिएर इन्डोनेसिया मात्र होइन, अस्ट्रेलिया र बेलायतका सरकारले पनि कडा आपत्ति जनाएका छन् । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले शनिबार क्यानबेरामा पत्रकारसँग कुरा गर्दै एआईको प्रयोग गरी कसैको अनुमति बिना यौनजन्य सामग्री बनाउनु ‘घृणित कार्य’ भएको बताए । उनले सामाजिक सञ्जालले सामाजिक उत्तरदायित्व नदेखाएको भन्दै आलोचना समेत गरेका छन् ।

त्यस्तै, बेलायती प्रधानमन्त्री किर स्टारमरले पनि यसअघि नै एक्समा प्रसारित यस्ता सामग्रीलाई लिएर मस्कलाई नियामक कारबाही र जरिवानाको चेतावनी दिएका थिए ।

ग्रोकमा रहेको सुरक्षा कमजोरीका कारण यसले बालबालिकाका नग्न तस्बिर र हिंसात्मक सामग्री समेत उत्पादन गर्न थालेपछि चौतर्फी आलोचना भएको थियो । यसैलाई मध्यनजर गर्दै एक्सएआईले बिहीबारदेखि तस्बिर निर्माण र सम्पादन गर्ने सुविधा केवल सशुल्क ग्राहकका लागि मात्र सीमित गरेको छ ।

एलन मस्कले एक्स मार्फत ग्रोक प्रयोग गरेर गैरकानूनी सामग्री बनाउने जोसुकैले पनि कानुनी सजाय भोग्नुपर्ने चेतावनी दिएका छन् । 

इन्डोनेसियाको कडा कानुन

विश्वकै ठूलो मुस्लिम जनसङ्ख्या भएको देश इन्डोनेसियामा अनलाइनमा अश्लील सामग्री सम्प्रेषण गर्ने विरुद्ध निकै कडा कानुन छ । सोही कानुनी प्रावधानका आधारमा सरकारले ग्रोकमाथि प्रतिबन्ध लगाएको हो ।

अस्ट्रेलियाको ई-सेफ्टी वाचडगले पनि ग्रोक मार्फत यौनजन्य सामग्री बनाउने क्रम बढेको भन्दै यस्ता सामग्री हटाउन एक्सलाई आदेश दिने र अटेर गरे कारबाही गर्ने चेतावनी दिइसकेको छ । एआई प्रविधिको दुरुपयोग रोक्न विश्वभरका नियामक निकाय अहिले ग्रोक र मस्कको प्लेटफर्म एक्स माथि निगरानी बढाइरहेका छन् ।

पछिल्लो अध्यावधिक: पुस २६, २०८२ २०:४२