close

फ्याक्टचेकः नझुक्किनुस् ! बालेनले कुलमानलाई अवसरवादी भनेका छैनन्, भाइरल पोस्ट एडिटेड हो

हिक्मत आचार्य हिक्मत आचार्य

पुस २६, २०८२ २२:२६

फ्याक्टचेकः नझुक्किनुस् ! बालेनले कुलमानलाई अवसरवादी भनेका छैनन्, भाइरल पोस्ट एडिटेड हो

काठमाडौँ । शनिबार दिउँसोदेखि काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले निवर्तमान मन्त्री कुलमान घिसिङलाई ‘अवसरवादी’ भनेको दाबीसहितको एउटा पोस्टले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । बालेनको आधिकारिक फेसबुक पेजबाट पोस्ट भएजस्तो देखिने उक्त स्क्रिनशटमा कुलमान घिसिङको विषयलाई जोडेर विभिन्न आरोप लगाइएको छ ।

टेकपाना फ्याक्टचेक डेस्कले उक्त पोस्ट भ्रामक रहेको पुष्टि गरेको छ । बालेनले कुलमानका विषयमा हाल सार्वजनिक रूपमा कुनै पनि धारणा वा टिप्पणी सार्वजनिक गरेका छैनन् । भाइरल भइरहेको पोस्ट एडिटेड हो ।

दाबी

फेसबुकमा ‘XD Facts’ नामका प्रयोगकर्ताले शनिबार १० जनवरी २०२६ दिउसो ४ः४१ बजे एक स्क्रिनशट पोस्ट गरेका छन् । उक्त पोस्टको क्याप्सनमा ‘Kulman Ghising 😢 Balen Shah 🔔’ मात्रै राखेका छन् । त्यसभन्दा तल कुलमान घिसिङको फोटो रहेको फेसबुक पोस्ट स्क्रिनशट गर्ने फोटो राखिएको छ । माथिपट्टि बालेनको फेसबुक पेजको भेरिफाइड मार्क राखिएको छ । तल क्याप्सनमा लेखिएको छ, “भीरमा जाने गोरुलाई राम राम भन्न सकिन्छ तर काँध हाल्न सकिँदैन। यदि कुलमान घिसिङले पदकै लालचमा पार्टी एकतामा असहमति जनाएका हुन् भने, उनी देशप्रेमी होइनन् -अवसरवादी मात्र हुन् ।”

यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा १६०० बढी रियाक्सन छ भने २४१ ओटा कमेन्ट आएका छन् । त्यस्तै ६९ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले बालेन शाह र कुलमान घिसिङसँग सम्बन्धित शनिबारको पोस्ट खोज्यो, तर फेला परेनन् ।

पहिले यो चर्चा पाइरहेको पोस्टको विश्लेषण गरौं । फोटो झट्ट हेर्दा नै फेसबुक पेजको नाम, भेरिफिकेसन मार्क र टाइम पछिबाट थपिएको स्पष्ट देखिन्छ । त्यस्तै फेसबुकमा अपलोड हुने कुनै पनि पोस्ट सामान्यतः सरल तरिकाले राख्दा बीचमा अलाइन हुँदैन । त्यसबाहेक प्रोफाइल आइकन र क्याक्सनको दूरी पनि निकै कम छ । यसबाट पोस्ट एडिटेड भन्ने स्पष्ट हुन्छ । हेर्नुहोस् फोटो !

यसपछि हामीले फेसबुकमा बालेनको आधिकारिक पेज खोलेर हेर्‍यौं । त्यहाँ अन्तिम पटक बालेनलले सुदन गुरुङलाई धन्यवाद दिएको पोस्ट ३० डिसेम्बर २०२५ मा राखेको फेला पर्‍यो । त्यस यता उनको पेजमा कुनै पोस्ट अपलोड भएको छैन । त्यस्तै उनको फेसबुक अकाउन्टमा ८ जनवरी २०२६ मा 

‘समय फरक हुन सक्छ,

तर सत्य जुन सुकै ,

परिस्थिति ,काल र स्थानमा सधै सत्यनै हुन्छ !

सत्यम् शिवम् सुन्दरम् !!’ पोस्ट राखेको फेला पर्‍यो । 

बालेन र कुलमानको विषयमा बनेका समाचार खोज्ने क्रममा बालेनलले आरोप लगाएको भन्ने कुनै पनि आधिकारिक समाचार सामग्री फेला परेन । गोरखापत्रका अनुसार शनिबार उज्यालो पार्टी नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भङ्ग गरेको थियो । लगत्तै पूर्वमन्त्री घिसिङलाई पार्टीको अध्यक्षमा नियुक्त गरियो । 

यसअघि बालेन र रास्वपाबिच एकता भएको थियो । यही सन्दर्भमा कुलमान र बालेनबिच खटपट भएको देखाउन वा सर्वसाधारणलाई भ्रमित बनाउन उक्त एडिटेड स्क्रिनशट राखेको स्पष्ट हुन्छ । 

हामीले उक्त अकाउन्टलाई विश्लेषण गर्‍याैँ ।‍ त्यसक्रममा बालेनको नामबाट अनेकौं अफवाह फैलाउने गरेको भेटियो । एक लाख ६ हजार बढी फलोअर भएको उक्त अकाउन्टबाट शनिबार मात्र बालेनको नाम जोडेर तीन ओटा पोस्ट राखिएको छ । जहाँ हजारौं रियाक्सन, कमेन्ट र शेयर छन् । 

शनिबार बिहान १० बजे यस अकाउन्टले बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीबारे पोस्ट राखेको जस्तो देखिने स्क्रिनशट राखेको थियो । उक्त स्क्रिनशटमा बालेनले लेख्दै नलेखेको विषय उनकै आधिकारिक फेसबुक पेजबाट पोस्ट भएको देखाइएको छ । सो पोस्टमा १४ हजार बढी रियाक्सन, १२०० बढी कमेन्ट र ५४३ भन्दा बढी शेयर भएका छन् । त्यसबाहेक यस अकाउन्टले हर्क साम्पाङ, रवि लामिछानेको अकाउन्टबाट पोस्ट भएको जस्तो देखिने नक्कली एडिटेड स्क्रिनशट राख्दै आएको देखिन्छ । 

दाबी

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले निवर्तमान मन्त्री कुलमान घिसिङलाई ‘अवसरवादी’ भन्दै आफ्नो फेसबुक पेजमा पोस्ट गरेको दाबी ।

दाबीकर्ता

फेसबुक प्रयोगकर्ता ‘XD Facts’ र उक्त पोस्ट शेयर गर्ने अन्य सामाजिक सञ्जाल प्रयोगकर्ताहरू।

तथ्य

भाइरल भइरहेको स्क्रिनशटमा फेसबुकको भेरिफाइड मार्क, प्रोफाइल आइकन र क्याप्सनको दूरी तथा अलाइनमेन्ट मिल्दैन, जसले यो फोटो डिजिटल रूपमा सम्पादन एडिट गरिएको पुष्टि हुन्छ । त्यस्तै बालेन शाहको आधिकारिक फेसबुक पेज र प्रोफाइलमा कुलमान घिसिङका बारेमा यस्तो कुनै पनि पोस्ट गरिएको छैन । 

उनको पेजमा ३० डिसेम्बर २०२५ र प्रोफाइलमा  ८ जनवरी २०२६ यता कुनै नयाँ सामग्री राखिएको छैन ।

दाबी गर्ने फेसबुक पेज ‘XD Facts’ ले यसअघि पनि बालेन शाह, हर्क साम्पाङ र रवि लामिछाने जस्ता व्यक्तिको नाममा नक्कली स्क्रिनशट बनाएर अफवाह फैलाउने गरेको पाइएको छ ।

निष्कर्ष 

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कुलमान घिसिङलाई ‘अवसरवादी’ भनेको दाबीसहितको पोस्ट झुटो हो । बालेनको आधिकारिक फेसबुक पेजको जस्तो देखिने गरी नक्कली स्क्रिनशट बनाएर सामाजिक सञ्जालमा भ्रम फैलाइएको पुष्टि हुन्छ ।

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्सयुट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: पुस २७, २०८२ ११:४०