फेसबुक विज्ञापन गरेरै बालेनसँग जवाफदेहीता माग्दै ‘चेन्ज नेपाल’, १० हजार हस्ताक्षर बटुलेपछि बुझाउने
पुस २७, २०८२ ११:३४
काठमाडौँ । ‘चेन्ज नेपाल’ नामक संस्थाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग जवाफदेहीता माग्न अनलाइन पेटिसन (हस्ताक्षर) सुरु गरेको छ । मूलधारका सञ्चार माध्यमसँग बालेनको प्रत्यक्ष अन्तर्वार्ताका लागि औपचारिक अनुरोध गर्नका लागि अनलाइनबाट प्रयोगकर्ताहरूको हस्ताक्षर सङ्कलन सुरु गरेको हो ।
यसका लागि चेन्ज नेपालले फेसबुकमा एक पोस्ट स्पोन्सर गरेर नै गरेर पेटिसन सब्मिटका लागि आह्वान गरेको छ । अनलाइन र अफलाइन गरेर १० हजार हस्ताक्षर बटुलेपछि पेटिसन बालेनलाई बुझाउने योजना बनाएको ‘चेन्ज नेपाल’ का सह-संस्थापक शिव कँडेलले बताए ।
स्थानीय तह निर्वाचन २०७९ बाट काठमाडौँको मेयर पदमा निर्वाचित भए यता सञ्चार माध्यमहरूसँग बालेनले खुलेर अन्तर्वार्ता दिएका छैनन् । यसले गर्दा जनतासँग बालेनको दुरी बढेको उनले बताए । उनले भने, “उहाँलाई जनताले भावी प्रधानमन्त्रीको रूपमा देखि रहँदा उहाँले खुलेर आफ्ना एजेन्डाहरू जनताहरू समक्ष राख्न आवश्यक छ ।”
पेटिसनमा समेत चेन्ज नेपालले बालेनलाई भनेको छ, “तपाईं स्थानीय तहमा निर्वाचित भएदेखि परिवर्तनकारी नेतृत्व शैलीको सुरुवात गर्नु भएको छ । सामाजिक सञ्जालको सदुपयोग गर्दै जनतासँग प्रत्यक्ष जोडिनु भएको छ । तर, प्रत्यक्ष सञ्चार स्वस्थ लोकतन्त्रको एउटा खम्बा मात्र हो । यो जत्तिकै महत्त्वपूर्ण खम्बा स्वतन्त्र र सूक्ष्म प्रश्नहरूको जवाफ दिनु पनि हो ।”
मूलधारका मिडियामार्फत प्रत्यक्ष अन्तर्वार्ता दिएर लामो समयदेखि शाहको मिडियासँग रहेको मौनतालाई तोड्नु पर्ने माग उक्त पेटिसनमार्फत राखिएको छ । शाहलाई अन्तर्वार्तामार्फत महानगरपालिकामा मेयरको कार्यकालमा रहँदा गरेका कामहरूको स्पष्ट समीक्षा दिन, राजनीतिक र दार्शनिक आधारहरूको स्पष्ट व्याख्या गर्न अनुरोध गरिएको छ ।
यस्तै युवा पुस्ताका अपेक्षाहरूलाई पूरा गर्ने बारे बनाएको रणनीति सहित भावी प्रधानमन्त्रीको रूपमा ‘नयाँ नेपाल’ बनाउन तयार पारेको विस्तृत खाका प्रस्तुत गर्न पनि चेन्ज नेपालले अनुरोध गरेको छ ।
जेनजी आन्दोलनपछि पुनः सक्रिय भएको चेन्ज नेपाल
‘चेन्ज नेपाल’ सन् २०२० देखि नै सुरु गरेको सह-संस्थापक कँडेलले बताए । जहाँ उनी सहित उज्जल खनाल सह-संस्थापकको भूमिकामा छन् । उनले भने, “खासमा म बीएससी फिजिक्स र उज्जल बीबीएको विद्यार्थी हो । तर, हाम्रो प्रविधिमा पनि प्लस टु पढ्दादेखि नै रुचि थियो । हामीले सेल्फ लर्निङबाट सिकेर चेन्ज नेपाल सुरु गरेका हौँ ।” पाँच वर्ष पहिले प्रविधिमार्फत राजनीतिक विषयमा जनताका मुद्दा उठाउन चेन्ज नेपाल सुरु गरेको भएपनि पनि बिचमा खासै यसमा काम गर्न नसकेको उनले सुनाए ।
उनले भने, “जेनजी आन्दोलनपछि चाहिँ चेन्ज नेपाललाई पुनः सक्रिय बनाउनु पर्छ भन्ने महसुस गर्यौँ । हामीले एप समेत तयार पारेका छौँ ।” एन्ड्रोइड र एप्पल डिभाइसका लागि चेन्ज नेपालको एप सार्वजनिक भइसकेको छ ।
चेन्ज नेपालबाट नेताहरूलाई गुगलमा स्टारसहित रिभ्यु दिए जस्तै गरेर रिभ्यु दिने व्यवस्था समेत मिलाइएको छ । कँडेलले भने, “यहाँ कुनै नेताले गरेका राम्रा काम, नराम्रा गतिविधि सबै कुरा खुलेर रिभ्यु गर्न सकिन्छ । यस्तो रिभ्यु हामीभन्दा पछिका पुस्ता समेतले हेरेर नेताहरूले कस्तो काम गरेका रहेछन् भनेर थाहा पाउन सक्नेछन् ।”
यस्तै चेन्ज नेपालले दीर्घकालीन रूपमा नेपालको मतदान प्रणालीमा नै सकारात्मक प्रभाव पार्न सक्ने गरी विद्युतीय भोटिङको विषयमा पनि अनुसन्धान गरिरहेको उनले बताए । उनले भने, “अन्तरिम सरकार बनेपछि अन्तरदेशीय मतदान प्रणालीका बारेमा धेरै कुरा उठे । तर पनि यो निर्वाचनमा त्यो सम्भव भएन । अनलाइनबाट भोटिङको प्रणाली विकासमा हामीले काम गरिरहेका छौँ ।”
पछिल्लो अध्यावधिक: पुस २७, २०८२ १२:४९
