close

आतंक सिर्जना गर्नेगरी राजावादी प्रदर्शनमा आउन भन्दै कसले पठायो एक दिनमै ५० लाख एसएमएस ?

हिक्मत आचार्य हिक्मत आचार्य

पुस २९, २०८२ १४:३३

आतंक सिर्जना गर्नेगरी राजावादी प्रदर्शनमा आउन भन्दै  कसले पठायो एक दिनमै ५० लाख एसएमएस ?

काठमाडौँ । आइतबारदेखि एटी अलर्ट र एसआई अलर्टमार्फत लाखौँ नेपालीलाई ३० पुसको राजावादी प्रदर्शनमा सहभागी हुन आह्वान गर्दै एसएमएस गइरहेको पाइएको छ । प्रदेश हटाएर प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भएको सनातनी महान अधिराज्य नेपाल बनाउने अभियान भन्दै एसएमएस गेटवेमार्फत लाखौँ मेसेज पठाइएको हो । 

यी मेसेज पठाउन एसएमएस गेटवे आकाश एसएमएस र एसआई अलर्टको प्रयोग भएको देखिन्छ । यी प्रदायकले सञ्चालन गर्ने एटी अलर्ट र एसआई अलर्टमार्फत निर्देश सेढाईको नाम राखेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ । 

आकाश एसएमएसका सेल्स एन्ड मार्केटिङ म्यानेजर राजन कोइरालाका अनुसार ‘वेदव्यास इन्टरप्राइजेज प्राइभेट लिमिटेड’ नामक कम्पनीसँग व्यावसायिक प्रवर्द्धनका लागि एसएमएस सेवा प्रदान गर्ने सम्झौता भएको थियो । “हामीले विभिन्न कम्पनीलाई एसएमएस पठाउन मिल्ने प्लेटफर्म उपलब्ध गराएका हुन्छौँ,” कोइरालाले टेकपानासँग भने, “वेदव्यास इन्टरप्राइजेजलाई व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले सम्झौता गरी प्लेटफर्म उपलब्ध गराएका हौँ ।”

कोइरालाका अनुसार उक्त कम्पनीले सम्झौता विपरीत रातिको समयमा अचानक राजनीतिक र विवादास्पद सन्देश प्रवाह गरेको हो । “रातको समयमा सम्झौता विपरीत मेसेज पठाएको पाएपछि हामीले तुरुन्तै ब्लक गर्‍यौँ,” कोइरालाले अगाडि भने, “त्यतिबेलासम्म ५० लाख एसएमएस गइसकेको देखिन्छ ।”

वेदव्यास इन्टरप्राइजेजका तर्फबाट निर्देश सेढाईसँग सम्पर्क गर्ने प्रयास भइरहे पनि यो घटनापछि कुरा हुन नसकेको उनको भनाइ छ । प्रदर्शनमा सहभागी हुन भन्दै ५० लाखभन्दा बढी मेसेज गएको कोइरालाले स्वीकार गरे पनि ती नम्बरहरू कहाँबाट प्राप्त भए भन्नेबारे भने उनले अनभिज्ञता प्रकट गरे । उनले भने, “हामीले सिस्टम मात्र उपलब्ध गराउने हो, ती नम्बरहरू उहाँहरूले कसरी पाउनुभयो भन्ने हामीलाई थाहा छैन ।”

तर, सूचना प्रविधि विज्ञहरूले भने अन्धाधुन्ध (र्‍यान्डम) तरिकाले नम्बर टाइप गरेर ५० लाख म्यासेज पठाउन सम्भव नभएको र यस्तो अवस्थामा डेलिभरी दर निकै कम हुने बताएका छन् । विज्ञहरूका अनुसार यति ठुलो डेटा केवल ठुला बैंक, टेलिकम कम्पनी, ई-कमर्स प्लेटफर्म वा सरकारी निकायका डेटाबेसबाट मात्र प्राप्त हुन सक्छ । ५० लाख क्रेडिट टपअप गरेर म्यासेज पठाउनुमा सेवा प्रदायक र सम्बन्धित कम्पनीको ठुलो संलग्नताबिना असम्भव देखिने विज्ञहरूको ठम्याइ छ ।

आकाश एसएमएसका प्रतिनिधि कोइरालाले भने वेदव्यास इन्टरप्राइजेजले लामो समयदेखि सेवा लिइरहेकाले विश्वास गरेको र त्यही आडमा कम्पनीको सेवा दुरुपयोग भएको उल्लेख गरे । उनले भने, “प्लेटफर्म उपलब्ध गराइसकेपछि पनि हामी निगरानी गर्छौँ र अवैध ठहरिए कारबाही गर्छौँ । तर, यस कम्पनीको हकमा रातको समयमा पहिले हाम्रो विश्वास जितेर अन्तिममा लाखौँ अवैध मेसेज पठाउने काम भयो ।”

फिशिङ वा अवैध लिङ्कहरू पठाइँदा पहिचान गरेर बन्द गर्ने मेकानिजम टेलिकम कम्पनीसँग भए पनि यो प्रदर्शनको निम्तो वैध सन्देश जस्तै देखिएकाले रोक्न नसकिएको उनले सुनाए । “यस्ता मेसेज लाखौँ पटक जाँदा पहिचान गर्न सक्ने संयन्त्र टेलिकम कम्पनीसँग पनि हुनुपर्थ्यो,” उनले थपे ।

वेदव्यास इन्टरप्राइजेजले महिनौँसम्म आफ्ना सीमित सेवाग्राहीलाई व्यावसायिक सन्देश पठाएको र त्यसबेलासम्म उनीहरूको सामग्री वैध देखिएको कोइरालाले बताए । उनले थपे, “हामीले सेवा प्रयोग गर्नेबेलासम्म कुनै सीमा नराख्ने र अन्तिममा बिलिङ गर्ने सिस्टम लागु गरेका थियौँ, यसमा त्यसैको दुरुपयोग भयो ।”

अधिवक्ता एवम् डिजिटल राइट्स अभियन्ता बाबुराम अर्यालले यसलाई वैयक्तिक गोपनीयता र दूरसञ्चार ऐनको घोर उल्लङ्घन मानेका छन् । अर्यालका अनुसार विज्ञापन ऐनले पनि एक हजारभन्दा बढी व्यक्तिलाई यसरी सामूहिक रूपमा मञ्जुरीविना मेसेज पठाउन बन्देज लगाएको छ । उनले यस्ता गैरकानुनी कार्य गर्ने कम्पनीको लाइसेन्स दूरसञ्चार प्राधिकरणले खारेज गर्नुपर्ने र सम्बन्धित अपरेटरले तत्काल सम्झौता रद्द गर्नुपर्ने तर्क गरे ।

“यहाँ दुरुपयोग भएका नम्बर कहाँबाट सङ्कलन भएका हुन् भन्ने नै खुलेको छैन,” अधिवक्ता अर्यालले भने, “यो वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, विज्ञापन ऐन र दूरसञ्चार ऐनको उल्लङ्घन हो । यसै अनुसार कारबाही हुनुपर्छ ।”

अर्का अधिवक्ता राष्ट्रविमोचन तिमल्सिनाका अनुसार सर्वसाधारणले मोबाइल एप प्रयोग गर्दा गोपनीयता नीति (प्राइभेसी पोलिसी) नबुझी सहमति दिने गरेकाले व्यक्तिगत विवरणहरू तेस्रो पक्षको हातमा पुग्ने गरेका हुन् । निर्वाचन आयोग जस्ता सरकारी निकायले नै गोपनीयताको वास्ता नगरी विवरणहरू उपलब्ध गराउने परिपाटीले गर्दा पनि यस्तो समस्या बल्झिएको उनले बताए ।

“गोपनीयताको हकको जति कुरा गरे पनि व्यवहारमा लागु भएको छैन,” तिमल्सिनाले भने , “हामी कुनै पनि एपको प्राइभेसी पोलिसी नहेरी स्वीकृत गर्छौँ, जहाँ प्रयोगकर्ताको डेटा तेस्रो पक्षलाई दिन सकिने कुरा उल्लेख गरिएको हुन्छ । यस्ता विषयलाई वास्ता नगर्दा तेस्रो पक्षले प्राविधिक रूपमा डेटा सङ्कलन गरिरहेका हुन्छन् ।” उनले अगाडि भने, “दुरुपयोग भएका यी नम्बरहरू कानुनी वा गैरकानुनी कुन माध्यमबाट प्राप्त भए भन्ने बुझ्न बाँकी छ । तर, अन्धाधुन्ध नम्बर मिलाएकै भरमा मात्रै यति ठुलो सङ्ख्यामा एसएमएस पठाउन सम्भव हुँदैन ।”

यस विषयमा प्रतिक्रियाका लागि टेकपानाले निर्देश सेढाईको मोबाइल नम्बरमा सम्पर्क गर्दा फोन उठेन । उनको ह्वाट्सएपमा भने अटो-रिप्लाई मेसेज सेट गरिएको पाइएको छ, जसमार्फत निमन्त्रणा पत्र पठाउने गरिएको छ । उक्त मेसेजमा सेढाईकै नाम उल्लेख गर्दै आगामी ३० पुस २०८२ मा बालुवाटारमा हुने प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ । प्रदर्शन ३० र ३१ पुसदेखि अनिश्चितकालसम्म चल्ने र १० लाख नागरिक सडकमा उतार्ने दाबी गर्दै उक्त मेसेजमार्फत प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ ।

आकाश एसएमएसका अनुसार वेदव्यास इन्टरप्राइजेज प्रालिका सञ्चालक नै निर्देश सेढाई हुन् ।

यता, नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले स्वयं आफूलाई समेत त्यस्तो मेसेज आएको जानकारी दिएका छन् । उनले भने, “हालै मसहित धेरै नागरिकको मोबाइलमा कुनै पूर्वजानकारी, सहमति वा अनुरोधविना यस प्रकारका मेसेजहरू आइरहेका छन् ।” आफ्नो व्यक्तिगत मोबाइल नम्बर प्रयोगकर्ताको अनुमतिविना कसरी सङ्कलन गरियो भन्नेबारे उनले प्रश्न उठाएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख एआईजी डा. मनोजकुमार केसीले कानुनविपरीत कसैलाई भड्काउने कार्य गरेको वा डिजिटल अधिकारको उल्लङ्घन गरेको पाइएमा संलग्नमाथि कानुनी कारबाही गरिने बताएका छन् ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८२ १६:१६