close

राजावादी ह्याकर समूहको स्वीकारोक्तिः दुर्गा प्रसाईंको उक्साहटमा सरकारी वेबसाइटमा साइबर आक्रमण

टेकपाना टेकपाना

पुस ३०, २०८२ १६:४७

राजावादी ह्याकर समूहको स्वीकारोक्तिः दुर्गा प्रसाईंको उक्साहटमा सरकारी वेबसाइटमा साइबर आक्रमण

काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको पक्षमा सरकारी निकायका वेबसाइटमा शृङ्खलाबद्ध साइबर आक्रमण गर्दै आएको समूह ‘नेपाली फर नेपाल’ का प्रमुख सन्देश अर्याल रहेको खुलासा भएको छ । उनले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो समूहका सबै गतिविधिको खुलासा गरेका हुन् । 

अर्यालले बुधबार अपराह्न चार बजेतिर टेलिग्राम च्यानलमार्फत विज्ञप्ति जारी गर्दै आफू गलत मार्गनिर्देशन र विचारको पछि लागेर राष्ट्र विरोधी कार्यमा संलग्न हुन पुगेको स्वीकार गरेका छन् । विज्ञप्तिमा उल्लेख भए अनुसार ‘नेपाली फर नेपाल’ नामक संस्थाको स्थापना भदौमा भएको जेनजी आन्दोलनपछिको राजनीतिक अस्थिरता र युवाहरूको असन्तुष्टिलाई उजागर गर्ने उद्देश्यले गरिएको थियो । 

सुरुमा युवाहरूको आवाजलाई प्रतिनिधित्व गर्ने र सामाजिक सुधारका लागि काम गर्ने सोच राखिए पनि आन्दोलनले अपेक्षित सफलता नपाएपछि यो समूह दुर्गा प्रसाईंको सम्पर्कमा पुगेको देखिन्छ । प्रसाईंका निकट सहयोगी सुरज खड्कामार्फत अर्यालको टोलीले प्रसाईंसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसै क्रममा प्रसाईंले ७ मङ्सिरमा काठमाडौँमा आयोजना गर्न लागेको प्रदर्शनको तयारीका लागि प्रसाईंकै घरमा बसेर नेपालको साइबर सुरक्षा र प्रणालीमा गम्भीर प्रभाव पार्ने गरी साइबर आक्रमणका योजनाहरू बनाइएको अर्यालले बताएका छन् । साइबर अपरेसनको मुख्य जिम्मेवारी दुर्गा प्रसाईंका व्यक्तिगत सहायक सुशील बरालले सम्हालेको उक्त विज्ञप्तिमा उल्लेख छ । 

बरालकै प्रत्यक्ष निर्देशन र समन्वयमा नेपालका विभिन्न सरकारी तथा महत्त्वपूर्ण डोमेनमा साइबर आक्रमण गर्ने योजना कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । यस कार्यका लागि नेपाल र भारतमा रहेका विभिन्न ‘अपरेसनल टोली’ हरूलाई परिचालन गरिएको र यसको उद्देश्य नेपालको डिजिटल संरचनालाई तहसनहस पार्नु रहेको भनिएको छ । 

“सुशील बराल, जो दुर्गा प्रसाईंका व्यक्तिगत सहायक हुन्, उनले साइबर अपरेसन र योजनाहरूको प्रमुख समन्वय गरिरहेका थिए,” विज्ञप्तिमा भनिएको छ, “सुशील बरालको निर्देशनमा हामीले नेपालका डोमेनमा साइबर आक्रमण गर्ने योजना बनाएका थियौँ । जसको सञ्चालन नेपाल र भारतस्थित विभिन्न टोलीले गरिरहेका थिए ।”

तर, राष्ट्रिय हित, नागरिकको सुरक्षा र लोकतान्त्रिक मूल्य मान्यतालाई मध्यनजर गर्दै आफूहरूले उक्त ध्वंसात्मक आक्रमण नगर्ने र बरु सत्य तथ्य बाहिर ल्याउने निर्णय गरेको अर्यालले खुलाएका छन् ।

सन्देश अर्यालले आफूहरूसँग दुर्गा प्रसाईं र सुशील बरालसँग भएका सबै बैठकका अडियो रेकर्ड, उनीहरूले दिएका विवादास्पद आदेश तथा निर्देशन, साइबर आक्रमणका लागि प्रयोग गरिएका डेटा र उनीहरूबाट प्राप्त भएको आर्थिक सहयोगका कागजातहरू सुरक्षित रहेको बताएका छन् । 

यी सबै प्रमाणहरू नेपाल सरकारलाई बुझाएर अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता उनले जनाएका छन् । संस्थाको प्रमुखको हैसियतले आफ्ना सबै गलत क्रियाकलापको जिम्मेवारी लिँदै अर्यालले आफूहरूले बाटो बिराएको र अब सही मार्गमा फर्कन चाहेको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा अर्यालले आफ्नो संस्था कहिल्यै पनि राष्ट्र विरोधी नभएको, तर परिस्थितिवश गलत निर्णय लिन पुगेको स्वीकार गर्दै क्षमायाचना पनि गरेका छन् । उनले नेपाल सरकार र नेपाली नागरिकको न्यायपूर्ण निर्णयमा विश्वास रहेको बताउँदै आफ्ना सबै प्रमाण र जानकारी सरकारलाई हस्तान्तरण गर्ने र कानुनी प्रक्रियामा सघाउने स्पष्ट पारेका छन् । 

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार बुधबार अपराह्न साढे ४ बजेसम्म आत्मसमर्पण गर्न कोही पनि आइपुगेका छैनन् । 

 

पछिल्लो अध्यावधिक: पुस ३०, २०८२ १६:४७