close

सरकारी वेबसाइटमाथि साइबर आक्रमण गर्दै आएको ह्याकर समूहका प्रमुखले गरे ‘आत्मसमर्पण’

टेकपाना टेकपाना

पुस ३०, २०८२ १८:४२

सरकारी वेबसाइटमाथि साइबर आक्रमण गर्दै आएको ह्याकर समूहका प्रमुखले गरे ‘आत्मसमर्पण’

काठमाडौँ । सरकारी वेबसाइटमा शृङ्खलाबद्ध साइबर आक्रमण गर्दै आएको समूह ‘नेपाली फर नेपाल’ का प्रमुख सन्देश अर्यालले ‘आत्मसमर्पण’को घोषणा गरेका छन् । बुधबार सामाजिक सञ्जाल टेलिग्राममार्फत प्रेस वक्तव्य जारी गर्दै अर्यालले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको उक्साहटमा साइबर हमला गरेको स्वीकार गर्दै आफ्नो पहिचान सार्वजनिक गरेका  हुन् । 

उनले टेकपानासँग कुरा गर्दै भने, “हामीले गलत केही पनि गरेका छैनौँ, तर अनधिकृत पहुँच बनाउनु आफैँमा कसुर हो, त्यसैले नेपालको संविधानअनुसार हुने सजाय भोग्न म तयार छु । मैले विज्ञप्ति मार्फत आत्मसमर्पण गरिसकेको छु । पहिचान, सम्पर्क नम्बर र लोकेसन साइबर ब्युरोलाई दिइसकेको हुँदा उहाँहरूले बोलाएको बखत हाजिर हुन तयार छु ।”

अर्यालले दुर्गा प्रसाईंको सचिवालयमा कार्यरत सुरज खड्कामार्फत आफूहरूको सम्पर्क भएको खुलाएका छन् । “७ मङ्सिरमा आन्दोलनका क्रममा चिनजान भएपछि सोही समूहको सहयोग र उक्साहटमा सरकारी वेबसाइटमा आक्रमण सुरु गरिएको हो,” उनले भने । अर्यालले आफूहरूलाई ‘अपराधी’ जस्तो देखाउन खोजिएकाले सहन नसकेर सत्य-तथ्य बाहिर ल्याउन आफू सार्वजनिक भएको उल्लेख गरे । 

उनले दाबी गर्दै भने, “हामीले एउटा पनि डेटा कतै लगेर बेचेका छैनौँ । नेपाल र नेपालीलाई हानि हुने काम हामीबाट भएको छैन । हामीसँग अहिले पनि नेपाल सरकारका १० हजारभन्दा बढी डोमेन र सब-डोमेनको एक्सेस छ । यदि हामीले ड्यामेज नै गर्न चाहेको भए योभन्दा ठुलो क्षति पुर्‍याउन सक्थ्यौँ ।” 

राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागको वेबसाइटबाट फाइलहरू डिलिट गरिएको भनिएको विषयमा स्पष्टीकरण दिँदै उनले ती फाइलहरू केही समयका लागि ‘सिल होल्ड’ मात्र गरिएको र पछि पुनः फिर्ता गरि दिएको बताए । उनले थपे, “त्यति बेला सरकारले नै ह्याक भएको छैन भनेर स्टेटमेन्ट दिएको थियो । त्यसो हो भने अहिले कुन आधारमा हाम्रो टिममाथि मुद्दा चलाइँदै छ त ?”

अर्यालले आफ्नो समूहका सदस्य विकास पौडेल पक्राउ परेपछि र आफूहरूमाथि लागेका आरोपलाई थप प्रस्ट पार्नका लागि यो कदम चालेको बताए । उनले भने, “यदि हामीले गलत नै गरेको भए विकास पौडेल अहिले अदालतबाट धरौटीमा छुट्ने थिएनन् ।” 

साइबर ब्युरोको अनुसन्धानले भेट्न नसकेको अवस्थामा आफ्नो परिचय र नाम सार्वजनिक गर्नु नै ‘आत्मसमर्पण’ भएको अर्यालको जिकिर छ । उनले भने, “मलाई समाउनु छ भने प्रहरीले आधा घण्टाभित्र सक्छ, म काठमाडौँमै छु र मेरो सबै विवरण साइबर ब्युरोलाई दिइसकेको छु । त्यसै पनि हामीले अबको १२ देखि २४ घण्टामा साइबर ब्युरोमै उपस्थित हुने कुरा समेत लिखित रूपमा जानकारी गराइसकेका छौँ ।” 

उनले ब्युरोको टोली आफू बसेको अपार्टमेन्टसम्म पुगिसकेको समेत जानकारी दिए । काठमाडौँमा व्यापार व्यवसाय गर्दै आएको बताउने अर्यालले अब आफू कानुनी प्रक्रिया पूरा गरी सकारात्मक रूपमा अगाडि बढ्न चाहेको बताए । 

उनले भने, “नेपालको साइबर सुरक्षा अत्यन्तै कमजोर छ । म आफूले भोग्नुपर्ने सजाय र जरिबाना भोग्न तयार छु । तर त्यसपछि सरकारसँग मिलेर यो क्षेत्रलाई सुरक्षित बनाउन सहयोग गर्न चाहन्छु ।” 

अर्यालले आफ्नो लुकेको जीवन र व्यक्तिगत जीवनलाई एकै ठाउँमा ल्याएर अब फेस-टु-फेस अगाडि बढ्ने योजना रहेको सुनाए । उनले भने, “मैले गल्ती स्वीकार गरिसकेको छु, अब प्रहरीसँग मलाई पक्राउ गर्ने र अनुसन्धान गर्ने स्पष्ट आधार छ ।”

यसअघि विभिन्न सञ्चार माध्यममा ‘राजावादी ह्याकर’का रूपमा यस समूहलाई चित्रण गरिएकोमा अर्यालले यसको खण्डन गरेका छन् । आफू लोकतन्त्रमा विश्वास गर्ने र लोकतन्त्रकै लागि यो सबै गरिएको उनको भनाइ छ । 

“हामीलाई सम्भवतः दुर्गा प्रसाईंको उक्साहटमा लागेर साइबर आक्रमण गरेको भएर राजावादी ह्याकर भनियो,” उनले भने, “तर, हामी सभ्य लोकतन्त्रमा विश्वास गर्छौँ । हामी राजावादी ह्याकर होइनौँ ।”

पछिल्लो अध्यावधिक: पुस ३०, २०८२ १८:५६