बसदेखि देशविदेशको हवाई टिकेट, प्याराग्लाइडिङ-होमस्टेसम्म एपबाटै बुकिङ गर्न सकिने ‘ट्रिप टर्बो’
माघ ४, २०८२ १३:४४
काठमाडौँ । सन् २०१८/१९ तिर विभिन्न क्षेत्रमा प्रविधि भित्रिरहेको कुराहरू नजिकबाट नियालिरहेका थिए, शिखर प्रसाईं । उनलाई आफ्नो वरपर प्रविधिले ल्याइरहेको प्रगति देख्दा लाग्थ्यो, “अब मैले पनि प्रविधि क्षेत्रमा केही गर्नुपर्छ ।”
तर ५० वर्षअघि बुबाआमाले सुरु गरेको नट्राज टुर्स एन्ड ट्राभल्सको जिम्मेवारी उनकै काँधमा थियो । त्यसैले ट्राभल व्यवसाय छाडेर प्रविधिमा जानु उनको लागि सजिलो थिएन ।
सन् २०२० मा संसारभर फैलिएको कोभिड महामारीले भने प्रसाईंलाई दैनिक कामबाट केही फुर्सदिलो बनाइदियो । त्यही बेला उनी टुर्स एन्ड ट्राभल्स क्षेत्रमा नै प्रविधि भित्र्याउने सोचमा पुगे । र, ट्राभलको अनलाइन मार्केटप्लेस ‘ट्रिप टर्बो’ सुरु गर्ने निचोडमा पुगे ।
ट्रिप टर्बोलाई प्रविधिको माध्यमबाट यात्रालाई सरल बनाउने ‘टेक-इनेबल्ड’ मार्केटप्लेसका रूपमा परिभाषित गर्छन्, कम्पनीको संस्थापक प्रसाईं । उनी भन्छन्, “ट्रिप भनेको यात्रा र टर्बो भनेको ऊर्जा । हामीले ‘मेक इट सिम्पल’ भिजन राखेका छौँ । जहाँ ट्रिप टर्बोले बिना झन्झट सहज यात्रा अनुभव दिने लक्ष्य राखेको छ ।”
सन् २०२४ को सेप्टेम्बरदेखि ट्रिप टर्बोको सुरुवात भएको हो । यो प्लेटफर्मबाट लामो दुरिको बसको यात्रा, हवाई यात्रा र अन्तर्राष्ट्रिय उडानसम्मको अनलाइन टिकेट बुकिङ सेवा पाउन सकिन्छ । यस्तै, नेपालमा साहसी पर्यटनसहित यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि विभिन्न क्रियाकलापहरू एकै ठाउँबाट बुकिङ गर्न सकिने व्यवस्था पनि यसले मिलाएको छ ।
ट्रिप टर्बो गुगल प्ले स्टोर र एप स्टोरमा एपको रूपमा उपलब्ध छ । प्रसाईंका अनुसार हालसम्म तीन लाख ८० हजारभन्दा बढी पटक डाउनलोड भइसकेको यो एपमा ९० हजार बढी सक्रिय प्रयोगकर्ता छन् ।
बस टिकेटिङदेखि एड्भेन्चरसम्म
ट्रिप टर्बोले नेपालका लगभग सबै जिल्लाहरूमा अनलाइन बुकिङबाट बसको टिकेट काट्ने सुविधा उपलब्ध गराएको संस्थापक प्रसाईं बताउँछन् । “काठमाडौँबाट विराटनगर जानु पर्यो वा विराटनगरबाट काठमाडौँ फर्किनु पर्यो भने अनलाइनबाट बसको टिकेट काट्न सकिन्छ ।”
उनका अनुसार बुकिङ गर्दा आफ्नो गन्तव्य स्थान, समय, कुन सिटमा बस्ने लगायतका जानकारी रोज्न सकिन्छ । त्यसपछि अनलाइनबाट नै भुक्तानी गरेर यात्रुहरूले बसको टिकेट बुक गर्न सक्छन् । प्रायजसो सबै जिल्ला सदरमुकामसम्म पुग्न सकिने गरी बसको अनलाइन टिकेट एपमा उपलब्ध छ ।
संस्थापक प्रसाईंले भने, “नेपालमा प्रायः सबैभन्दा धेरै काठमाडौँबाट अन्य जिल्लामा जाने मानिसहरू हुन्छन् । अझ दशैँमा यात्रा गर्नेहरू धेरै हुन्छन् । हाम्रो एपबाट टिकेट बुकिङ गरेर जाने अधिकांश यात्रुहरू फर्किँदा पनि यहीँबाट बुकिङ गर्नुहुन्छ ।” बस टिकेटिङका लागि बस सेवा प्रदायक कम्पनीहरूसँग सहकार्य गरिएको छ ।
उनका अनुसार नेपालको सडक पूर्वाधार, खराब मौसम र वर्षाको समयमा आउने बाढी-पहिरो जस्ता कारणले बस सेवामा अवरोध पुग्ने गरेको छ । यस्तो समयमा भने वैकल्पिक व्यवस्था मिलाउनु वा ग्राहकलाई जानकारी दिनु चुनौतीपूर्ण हुने गरेको संस्थापक प्रसाईंको अनुभव छ ।
यस्तै, ट्रिप टर्बोले अनलाइन हवाई टिकेट बुकिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ । यसका लागि नेपालका लगभग सबै आन्तरिक एयरलाइन्सहरूसँग सहकार्य गरिएको छ । धेरै एयरलाइन्सको विकल्प हुँदा प्रयोगकर्ताले विभिन्न एयरलाइन्सको उडान समय र भाडा दर तुलना गरेर आफ्नो लागि सहज हुने टिकेट बुक गर्न सक्ने संस्थापक प्रसाईंले बताए । अन्तर्राष्ट्रिय उडानका लागि हवाई टिकेट बुकिङको सुविधा पनि एपमा उपलब्ध छ ।
एक्टिभिटिज अन्तर्गत घुमफिरका क्रममा गरिने क्रियाकलापहरू समावेश गरिएका छन् । कास्की, इलाम जस्ता पर्यटकीय गन्तव्यमा उपलब्ध आउटडोर एक्टिभिटिज अनलाइन बुकिङको सुविधा एपमा दिइएको हो । जसअन्तर्गत प्याराग्लाइडिङ, स्विङ, बन्जी जम्पिङ, जिप लाइन, हर्स राइडिङ, हट एयर बलुन टुर, र्याफ्टिङ, स्काइ साइकिलिङ जस्ता एड्भेन्चरस एक्टिभिटिज उपलब्ध छ । यस्तै ट्रिप टर्बोमा नै होमस्टेहरूको बुकिङ, नेपालका विभिन्न रमणीय स्थानहरूको भ्रमणको प्याकेज पनि लिन सकिने सुविधा छ ।
अनलाइनबाट नै यात्राका बुकिङ गर्ने संस्कृति नेपालमा क्रमशः बिस्तार भइरहेको प्रसाईंको अनुभव छ । उनका अनुसार गत वर्ष एपमा उपलब्ध सबै किसिमका बुकिङ गरेर ट्रिप टर्बोमार्फत ४० हजार टिकेट काटिएका थिए । “अहिलेका नयाँ पुस्ताहरू सबै काम अनलाइनबाट गर्न चाहन्छन् । पुराना पुस्ताहरू पनि अनलाइनबाट गर्न सिक्दैछन्,” उनी भन्छन् ।
अझै पनि धेरै प्रयोगकर्तालाई ट्रिप टर्बोको बारेमा जानकारी नभएको प्रसाईंको स्वीकारोक्ति छ । त्यसैले प्लेटफर्मलाई धेरै यात्रुहरू माझ चिनाउन मेहनत गरिरहेको उनले बताए ।
आइडिया फुरेको चार वर्षपछि सुरु भएको कम्पनी
कोभिड १९ को महामारीमा नै उत्कृष्ट ट्राभलिङ मार्केटप्लेस तयार गरेर बजारसम्म ल्याउने सपना देखे पनि यसलाई सार्वजनिक गर्न चार वर्षभन्दा लामो समय लागेको प्रसाईंले सुनाए । आफ्नो अनुभव र अध्ययनभन्दा सूचना प्रविधि क्षेत्र बाहिर रहेकाले सुरुवातमा उनले अन्य कम्पनीबाट आईटी सहायता लिएर प्लेटफर्म बनाउने काम गरेका थिए ।
प्रसाईं भन्छन्, “तर सोचे जस्तो प्लेटफर्म बनाउन सहयोग मिलेन । आईटी सपोर्ट राम्रो नहुँदा ट्रिप टर्बोलाई बजारमा ल्याउन समय लाग्यो ।” त्यसपछि ट्रिप टर्बोले बाहिरी प्राविधिक सहयोग नभइ इन हाउस एप निर्माण गरेको उनले बताए ।
यता, बुकिङका क्रममा केही प्राविधिक समस्या आएमा वा ग्राहकलाई अन्योलता भएमा कम्पनीको कस्टमर सपोर्ट टिमले व्यक्तिगत रूपमै सहयोग गर्ने सुविधा प्रदान गर्दै आएको उनले बताए । उनले भने, "हामीले दिने सेवा एक ‘कन्टिन्युअस प्रोसेस’ हो । ग्राहकको फिडब्याक र आवश्यकता अनुसार सिस्टमलाई निरन्तर अपग्रेड गर्दै लगेका छौँ । इन हाउस प्राविधिक टोली हुँदा प्रयोगकर्ताहरूले दिएको सुझाव अनुसार एपका फिचरहरूमा परिवर्तन ल्याउन पनि सजिलो भएको छ ।”
ट्रिप टर्बोले नेपाली बजारमा प्रमुख ट्राभल टेक प्लेटफर्ममध्ये एक बन्ने लक्ष्य राखेको संस्थापक प्रसाईं बताउँछन् । यात्राका लागि टिकेट, गन्तव्य स्थान (होटल, होमस्टे) देखि यात्रामा रमाइलोका लागि गरिने सम्पूर्ण एक्टिभिटी ट्रिप टर्बोमा उपलब्ध गराउने योजना बनाइएको छ ।
यसका लागि एक दुई महिनाभित्र नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका होटेलहरूको बुकिङ सुविधा पनि एपमै उपलब्ध गराउने योजना बनाइएको छ । संस्थापक प्रसाईंले भने, “नेपाल तथा विदेशमा ट्राभल गर्नुपर्यो भने सबै कुराहरू बुकिङ गर्न सकिने प्लेटफर्म भनेको नै ट्रिप टर्बो नै हो भनेर चिनाउने गरी हाम्रा सेवाहरू थपिरहेका छौँ ।”
शब्द-चित्रमा ट्रिप टर्बो
|
विवरण |
जानकारी |
|
कम्पनीको नाम |
ट्रिप टर्बो प्रालि |
|
सेवा क्षेत्र |
ट्राभल टेक, ट्राभल मार्केटप्लेस |
|
सुरुवाती लगानी |
N/A |
|
कम्पनीको मूल्याङ्कन |
N/A |
|
वार्षिक आम्दानी |
N/A |
|
संस्थापक |
शिखेर प्रसाईं |
|
कार्यकारी निर्देशक |
शिखेर प्रसाईं |
|
सीटीओ |
विकास डंगोल |
|
स्थापना वर्ष |
२०२१ |
|
ठेगाना |
ज्वागल १० कुपण्डोल, ललितपुर |
|
ईमेल |
|
|
सम्पर्क नम्बर |
०१-५९७०५६५ |
|
संस्थागत विकास |
|
|
सामाजिक सञ्जाल |
वेबसाइट, फेसबुक, इन्स्टाग्राम, लिङ्क्ड इन, टिकटक
|
|
सेवा |
|
|
लक्षित ग्राहक |
नियमित यात्रु, आन्तरिक यात्रु तथा पर्यटक, एड्भेन्चर मन पराउने व्यक्तिहरू, अन्तर्राष्ट्रिय यात्रु तथा यात्रु सेवा प्रदायकहरू । |
|
विशिष्ट विशेषता |
यात्राका लागि आवश्यक पर्ने सबै सेवा एउटै एपबाट उपलब्ध गराउने । टीटी कोइन्स लोयल्टी तथा पार्टनर रिवार्ड । विभिन्न सेवा प्रदायकहरूबाट सस्तोमा भाडादर पाउन सकिने । |
|
अवार्ड/ प्रमाणपत्र |
आईसीटी अवार्ड २०२५ मा पब्लिक च्वाइस अवार्डबाट सम्मानित |
|
अबको योजना |
|
|
कर्मचारी सङ्ख्या |
३५ |
पछिल्लो अध्यावधिक: माघ ५, २०८२ १८:९
