close

निर्वाचन आयोगले ५२ करोड लेनदेनमा काँग्रेसको निर्णय गरेको दुर्गा प्रसाईंको आरोप, साइबर अपराधमा कारबाही गर्न पत्राचार

टेकपाना टेकपाना

माघ ४, २०८२ १८:३५

निर्वाचन आयोगले ५२ करोड लेनदेनमा काँग्रेसको निर्णय गरेको दुर्गा प्रसाईंको आरोप, साइबर अपराधमा कारबाही गर्न पत्राचार

काठमाडौँ । निर्वाचन आयोगले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । आयोगका बारेमा मिथ्या तथा भ्रामक सूचना फैलाएको भन्दै आवश्यक कारबाहीका लागि आइतबार पत्र पठाइएको हो ।

शनिबार आयोजित एक पत्रकार सम्मेलनमा प्रसाईंले गगनकुमार थापा नेतृतको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले आधिकारिकता दिंदा ५२ करोड रुपैयाँको लेनदेन भएको दाबीसहितको अपुष्ट भिडिओ सार्वजनिक गरेका थिए । सोही भिडिओ र प्रसाईंको भनाइलाई आधार बनाएर विभिन्न सामाजिक सञ्जालका पेजले भ्रामक सामग्री पोस्ट गरेपछि आयोगले कानुनी कदम चालेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले संस्थाको गरिमामा आँच पुऱ्याउने गरी गलत सूचना प्रवाह गरिएकाले कारबाहीका लागि आग्रह गरिएको जानकारी दिए । “आयोगका विषयमा मिथ्या सूचना फैलाइएकाले हामीले साइबर ब्युरोलाई आवश्यक कारबाहीका लागि पत्र पठाएका छौँ,” प्रवक्ता भट्टराईले भने ।

प्रसाईंले सार्वजनिक गरेको उक्त भिडिओको सत्यता पुष्टि नभएको र यसले संवैधानिक निकायको छविमा गम्भीर असर पुऱ्याएको आयोगको ठहर छ । यसअघि पनि प्रसाईं विभिन्न विवादास्पद अभिव्यक्तिका कारण चर्चा र विवादमा रहँदै आएका छन् । साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीलेब्युरोमा पत्र आएको पुष्टि गरेका छन् । 

 

पछिल्लो अध्यावधिक: माघ ४, २०८२ १८:४३