close

balenformayor.com पछि अहिले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने balen4pm.com डोमेन लाइभ, तर, गर्‍यो कसले ?

टेकपाना टेकपाना

माघ ६, २०८२ १८:२

balenformayor.com पछि अहिले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने balen4pm.com डोमेन लाइभ, तर, गर्‍यो कसले ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई आगामी प्रधानमन्त्रीका प्रस्तुत गर्दै दुई नयाँ वेबसाइट लाइभ भएको पाइएको छ । ‘balen4pm.com’ र ‘balenforpm.com’ नामका डोमेन दर्ता गरी बालेनको समर्थनमा ब्यानर राखेको पाएको हो । 

हुइज लुकअपका अनुसार यी दुवै डोमेन २९ डिसेम्बर २०२५ मा दर्ता भएका हुन् । यद्यपि यी डोमेन कसले दर्ता गरेको हो भन्ने विवरण गोप्य राखिएको छ ।

वेबसाइटको होमपेजमा बालेनको तस्बिरका साथै ‘म नेपाल हाँसेको हेर्न चाहन्छु- बालेन’ भन्ने नारा राखिएको छ । तस्बिरको मुनि ‘प्रधानमन्त्रीका लागि बालेन’ (Balen for PM) लेखिएको छ ।

स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौँको मेयर पदमा उम्मेदवारी दिँदा बालेनले ‘balenformayor.com’ मार्फत आफ्नो डिजिटल उपस्थिति जनाएका थिए । सो वेबसाइटमा उनको जीवनी, योग्यता, अनुभव र चुनावी कार्ययोजना समावेश गरिएका थिए । अहिले रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेसँगै सोही शैली पछ्याउँदै यी नयाँ डोमेन सक्रिय बनाइएको देखिन्छ ।

वेबसाइटको तलपट्टि एक ‘डिस्क्लेमर’ समेत राखिएको छ, जसमा यसलाई स्वतन्त्र नागरिकको प्रतीकात्मक अभिव्यक्तिका रूपमा अर्थ्याइएको छ । डिस्क्लेमरमा भनिएको छ, “यो वेबसाइट व्यक्तिद्वारा सिर्जित एक स्वतन्त्र नागरिक अभिव्यक्ति हो । यो कुनै आधिकारिक चुनावी अभियानको वेबसाइट होइन र कुनै पनि राजनीतिक दल वा उम्मेदवारसँग सम्बद्ध छैन ।”

साथै उक्त प्लेटफर्ममार्फत कुनै पनि प्रकारको कोष, चन्दा वा आर्थिक सहयोग सङ्कलन नगर्ने र त्यहाँ प्रस्तुत सामग्रीले केवल व्यक्तिगत विचारलाई मात्र प्रतिनिधित्व गर्ने समेत स्पष्ट पारिएको छ ।

 

 

पछिल्लो अध्यावधिक: माघ ६, २०८२ १८:२