close

२ वर्षमा टिकटकले हटायो नेपालीका झन्डै ३ लाख भ्रामक भिडिओ

टेकपाना टेकपाना

माघ ७, २०८२ २१:५७

२ वर्षमा टिकटकले हटायो नेपालीका झन्डै ३ लाख भ्रामक भिडिओ

काठमाडौँ । शर्ट भिडिओ स्ट्रिमिङ प्लेटफर्म टिकटकले पछिल्लो दुई वर्षको अवधिमा नेपालबाट झन्डै तीन लाख ओटा भ्रामक (मिसइन्फर्मेसन) भिडिओ हटाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२३ को जुलाईदेखि २०२५ को सेप्टेम्बरसम्मको अवधिमा कुल दुई लाख ७४ हजार ३३३ ओटा भ्रामक भिडिओ हटाइएका हुन् ।

टिकटकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०२३ को जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनामा कुल १२ लाख ७१ हजार २०६ भिडिओ हटाइएको थियो । जसमध्ये २.६२ प्रतिशत अर्थात् ३३ हजार ३८२ ओटा भिडिओ भ्रामक सूचना फैलाएको आधारमा हटाइएका थिए । सोही वर्षको अन्तिम त्रैमासिक (अक्टोबर-डिसेम्बर २०२३) मा १२ लाख १९ हजार ९६१ भिडिओ हटाइएकोमा २.१३१ प्रतिशत अर्थात् २५ हजार ९९७ ओटा भ्रामक श्रेणीमा परेका थिए ।

  

सन् २०२४ को सुरुवाती ६ महिना (जनवरीदेखि जुन) सम्मको तथ्याङ्क भने शून्य देखिएको छ । सो अवधिमा नेपालमा टिकटकमाथि प्रतिबन्ध लागेको थियो । प्रतिबन्धका बाबजुद प्रयोगकर्ताले विभिन्न तरिका अपनाएर भिडिओ अपलोड गर्ने गरेको भए पनि कम्पनीले कति भिडिओ हटाइए भन्ने तथ्याङ्क उपलब्ध गराएको छैन ।

प्रतिबन्ध हटेपछि सन् २०२४ को जुलाईदेखि सेप्टेम्बरमा ९ लाख ७५ हजार ६७७ भिडिओ हटाइएकोमा १६ हजार ५४७ ओटा भ्रामक ठहरिएका थिए । त्यस्तै, अक्टोबरदेखि डिसेम्बरसम्म १४ लाख ७६ हजार ८६२ कुल भिडिओमध्ये २८ हजार ७९९ ओटा भ्रामक भिडिओ हटाइएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०२५ मा आइपुग्दा भ्रामक भिडिओ हटाउने दरमा उल्लेख्य वृद्धि भएको देखिन्छ । सन् २०२५ को जनवरीदेखि मार्चसम्म ५५ हजार ९५९ ओटा र अप्रिलदेखि जुनसम्म सबैभन्दा बढी ६१ हजार ६११ ओटा भ्रामक भिडिओ हटाइएका छन् । यो अवधिमा कुल हटाइएका भिडिओको संख्या पनि २४ लाख नाघेको थियो । सन् २०२५ को जुलाईदेखि सेप्टेम्बर महिनामा भने २८ लाख २९ हजार ६१२ भिडिओ हटाइएकोमा ५२ हजार ३७ ओटा भिडिओ भ्रामक श्रेणीका थिए ।

दुई वर्षको समग्र तथ्याङ्कलाई हेर्दा टिकटकले नेपालमा आफ्नो सामुदायिक निर्देशिका पालनामा कडाइ गर्दै लगेको देखिन्छ । यस अवधिमा कुल १ करोड २१ लाख भन्दा बढी भिडिओहरू विभिन्न कारणले कारबाहीमा परेकोमा झन्डै पौने तीन लाख भिडिओहरू गलत वा भ्रामक सूचना प्रवाह गरेका कारण हटाइएको कम्पनीले जनाएको छ ।

टेकपानाले सामाजिक सञ्जालका विभिन्न माध्यममा फैलिने भ्रामक तथा मिथ्या सूचना विरुद्ध लड्न ‘टेकपाना फ्याक्टचेक डेस्क’ नै स्थापना गरेर विगत ११ महिनादेखि तथ्यजाँच गर्दै आएको छ । टेकपाना फ्याक्टचेकका अनुसार नेपालमा राजनीतिक विषयवस्तु, धार्मिक तथा सामाजिक विषयवस्तु, स्वास्थ्य, प्राकृतिक प्रकोप, आर्थिक ठगी लगायतका विषयमा भ्रामक सूचना फैलिने गरेका छन् ।

पछिल्लो अध्यावधिक: माघ ७, २०८२ २२:२०