close

बालेनले बोलेको ‘छौरा’लाई ‘छाउरा’ भन्दै गलत अर्थ लगाएपछि एमाले नेता बस्नेतको चौतर्फी आलोचना

टेकपाना टेकपाना

माघ ८, २०८२ ११:२९

बालेनले बोलेको ‘छौरा’लाई ‘छाउरा’ भन्दै गलत अर्थ लगाएपछि एमाले नेता बस्नेतको चौतर्फी आलोचना

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आफूलाई ‘मधेशिया छौँडा’ भन्दै दिएको अभिव्यक्तिलाई नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेतले अपव्याख्या गरेपछि यतिबेला सामाजिक सञ्जाल तातेको छ । नेता बस्नेतको यो टिप्पणीलाई लिएर मधेशी समुदाय, संस्कृतिविद् र सर्वसाधारणले तीव्र आक्रोश व्यक्त गर्दै यसलाई ‘भाषिक अज्ञानता’ र ‘मधेशप्रतिको नियोजित अपमान’ को संज्ञा दिएका छन् ।

गत सोमबार जनकपुरधाममा आयोजित रास्वपाको चुनावी आमसभालाई सम्बोधन गर्ने क्रममा बालेनले मैथिली भाषामा भाषण गरेका थिए । उनले मधेश र पहाडको भावनात्मक सम्बन्ध जोड्दै आफूलाई मधेशिया छौँडा (वा स्थानीय लवजमा ‘छौरा’) भनेर चिनाएका थिए ।

मैथिलीमा ‘छौँडा’ वा ‘छौरा’ शब्दको अर्थ नेपालीमा ‘केटो’, ‘ठिटो’ वा ‘छोरो’ हुन्छ । यो शब्द मधेशमा युवाहरूलाई माया, आत्मीयता र अपनत्व जनाउन प्रयोग गरिने अत्यन्तै आदरार्थी र प्रचलित शब्द हो । बालेनले आफू मधेशको धर्तीसँग जोडिएको र मधेशको सन्तान भएको भाव व्यक्त गर्न यो शब्द चयन गरेका थिए । जसलाई उपस्थित हजारौँले ताली बजाएर स्वागत गरेका थिए ।

तर, एमाले नेता महेश बस्नेतले बालेनको सोही शब्दलाई लिएर भक्तपुरमा आयोजित एक कार्यक्रममा विवादास्पद टिप्पणी गरे । उनले बालेनको मैथिली शब्द ‘छौरा’ लाई नेपाली भाषामा कुकुरको बच्चालाई बुझाउने ‘छाउरा’ सँग जोडेर व्यङ्ग्य गरेका थिए ।

बस्नेतले कार्यकर्तामाझ भने, “हम मधेशका बेटा हे भनेको भए एउटा कुरा हुन्थ्यो । मधेशका छाउरो हे भनेपछि तपाईँ आफैँ बुझ्नुस् छाउरो भनेको के हो । मेरो मुखबाट के भन्नु छाउरोको अर्थ के हुन्छ ? के को बच्चा छाउरो हुन्छ ?”

यसपछि केही एमाले कार्यकर्ताहरूले कुकुरको छाउरो भन्दै बालेनलाई खिसिट्युरी गरेका थिए भने महेश हाँसेका थिए ।

बस्नेतको यो भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि विशेषगरी मधेशी समुदाय आक्रोशित बनेको छ ।

संस्कृतविद् एवं मैथिली भाषाका ज्ञाता धीरेन्द्र प्रेमर्षिले सामाजिक सञ्जालमार्फत बस्नेतलाई लक्षित गर्दै लेखेका छन्, “महेसजी, भनिन्छ— दिमागमा जे हुन्छ, कानले पनि त्यही सुन्छ रे । बालेनले जनकपुरमा आफूलाई मधेशिया 'छौँडा' (मधेशी केटो) भनेको तपाईंले 'छाउरा' सुन्नुभएछ । यो मिथिला-मधेशका जनतालाई चिढ्याउने र गिज्याउने काम हो ।” उनले भावी गृहमन्त्रीको दाबी गर्ने नेता देशको विविधता र भाषाप्रति साक्षर हुनुपर्ने सुझाव समेत दिएका छन् ।

त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य वासिम आलमले पनि महेश बस्नेतले मधेशी समुदायको आत्मसम्मानमा चोट पुर्याएको बताएका छन् । आलमले भिडिओ पोस्ट गर्दै भनेका छन्, “महेश बस्नेतले बालेनलाई गाली गर्ने बहानामा मैथिली भाषा र मधेशी समुदायको अपमान गरेका छन् । 'छौँडा' भनेको केटो हो, कुकुरको बच्चा होइन । यस्तो घृणित सोच राख्ने नेताले तत्काल माफी माग्नुपर्छ ।”

एमालेकै मधेशी नेताहरू समेत बस्नेतको यो व्यवहारबाट असन्तुष्ट देखिएका छन् । आफ्नै नेताको भाषिक दरिद्रताले गर्दा मधेशमा पार्टीलाई मुख देखाउन गाह्रो हुने उनीहरुको गुनासो छ । एमालेका नेता शम्भु साह फेसबुकमा लेख्छन्, “एमाले पार्टीको मधेसप्रतिको दृष्टिकोण, व्यवहार र प्रयोग हुने भाषामा सुधारको आवश्यकता छ। कमरेड तपाईं पार्टीको सचिव, राष्ट्रिय स्तरको नेतृत्वमा रहेको व्यक्तिले पनि मैथिली भाषा र मधेशी संस्कृतिको शब्दलाई अपमानजनक रूपमा प्रस्तुत गर्नु दु:खद विषय हो । यो कुनै भाषिक भूल मात्र नभई मधेशी पहिचान र अस्मितामाथि लक्षित आघातको रूपमा पनि देखिन्छ ।”

राजनीतिमा विचार र नीतिमा असहमति स्वाभाविक हुने भएपनि शब्दको अर्थ तोडमोड गरी सम्पूर्ण समुदायलाई होच्याउने वा अपमान गर्ने काम कुनै पनि राजनीतिक दल वा नेताले गर्न नहुनेमा उनले जोड दिए ।

फेसबुक, टिकटक, एक्स लगायतका प्लेटफर्ममा नेता बस्नेत विरुद्ध हजारौँ नकारात्मक प्रतिक्रियाहरू आएका छन् । प्रयोगकर्ताहरूले यसलाई ‘हेट स्पिच’ (घृणास्पद अभिव्यक्ति) को रूपमा परिभाषित गरेका छन् । कतिपयले त यसअघि एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मधेश आन्दोलनका क्रममा सहिद भएकाहरूलाई ‘दुई-चारवटा आँप झरेका’ भनी दिएको अभिव्यक्तिको स्मरण गर्दै एमालेको नेतृत्व तह नै मधेशविरोधी रहेको आरोप लगाएका छन् ।

जनकपुर नागरिक समाजका मुरली मनोहर मिश्रका अनुसार मधेश शताब्दीयौँदेखि बहुभाषिक, बहुसांस्कृतिक र सहिष्णु समाजको रूपमा रहिआएको छ, जहाँ मैथिली भाषा केवल संवादको माध्यम मात्र नभएर आत्मसम्मान र संस्कारको प्रतीक हो । “जब कुनै राष्ट्रिय स्तरको राजनीतिक नेताले मैथिलीको ‘छौरा’ शब्दलाई ‘कुकुरको छाउरा’ जस्तो अपमानजनक अर्थमा प्रयोग गर्छन्, तब त्यो कुनै व्यक्तिमाथिको टिप्पणी मात्र नभई सिङ्गो मधेशी समुदाय, भाषा र संस्कृतिमाथिको प्रहार बन्न पुग्छ,” उनले भने ।

मिश्रले एमालेभित्र रहेका मधेशी नेताहरूको मौनतामाथि पनि प्रश्न उठाएका छन् र आफ्नो मातृभाषा र पहिचानको अपमान हुँदा पद र कुर्सीको लागि चुप बस्नुलाई मौन सहमति मानिने उनको तर्क छ । 

स्थानीय मिडिया आई लभ मिथिलाले आफ्नो फेसबुक पोस्टमा लेखेको छ, “मैथिली भाषामा 'छौँड़ा' शब्दको अर्थ नेपाली भाषामा 'केटो' वा 'ठिटो' हुन्छ। 'छौँड़ा' लाई 'छाउरा' भनेर बालेनलाई 'मधेशको कुकुर' संज्ञा दिएर व्यङ्ग्य गर्नु भाषिक अज्ञानता मात्र नभई नियतवश गरिएको मधेशी सामुदायको अपमान हो । स्वस्थ आलोचना लोकतन्त्रको सुन्दरता हो, तर व्यक्तिगत गालीगलौज र समुदाय लक्षित अपमानले राजनीतिको स्तर गिराउँछ। यसले नैतिकताको पतनतर्फ संकेत गर्छ। राजनीतिक प्रतिस्पर्धा विचारमा हुनुपर्छ, कसैको भाषा वा जातिय पहिचानलाई 'गिजाएर' होइन। देशको दोस्रो ठूलो भाषा 'मैथिली' र मधेशी समुदायप्रति लक्षित यो अभिव्यक्तिलाई कसरी लिनु हुन्छ त ?”

मानवअधिकारवादी नेता सुवोधराज प्याकुरेलले महेश बस्नेतको पछिल्लो अभिव्यक्तिप्रति कडा आपत्ति जनाउँदै सार्वजनिक रूपमा माफी माग्नुपर्ने बताएका छन् । नेतालाई खुसी पार्न प्रतिपक्षीलाई ललकार्ने र खुइल्याउने अन्धभक्तहरूको उत्ताउलोपनले पार्टी र देशकै मानमर्दन गरिरहेको प्याकुरेलको तर्क छ ।

एमालेकै नेता अरबिन्द सिंहले फेसबुकमा लेखेका छन्, “यसलाई सम्झाओस् कसैले नत्र यो फटाहासंगै हाम्रो पार्टीको समेत हिसाबकिताब राम्ररी गर्नेछन् मधेसका जनताले।... हामी दुई तिहाई ल्याउने अभियानमा छौँ । यो फटाहाले तीन तिहाई ल्याएरै छोड्ने भो। 😡😡 ...गुण्डुको गुण्डाले आफ्नो भाषा सुधारोस् नत्र "लातके भुत बातसे ना मानी" तब ओकर निमनसे हिसाबकिताब होइ✊✊”

फेसबुकमा मिश्र सरोज लेख्छन्, “मैथिली भाषा नबुझ्नेले राजनीति गर्ने कि भाषा सिक्ने? बालेनलाई गाली गर्दा सिङ्गो मधेशलाई गाली गर्ने अधिकार कसले दियो?”

अभिनाश गुप्ता लेख्छन्, “राजनीतिक फाइदाका लागि भाषामा घृणा फैलाउन बन्द गर। #मैथिलीभाषा #StopLanguageHate”

SiDhu Royal लेख्छन्, “कारबाही गर्नु पर्छ, हाम्रो भाषाको शब्द लाई नराम्रो अपनमा जनक अर्थ निकालेको छन् यो पुरा मधेशीबासी को भाषा संस्कृतीको उलङ्घन हो 😢😢😢”

Shushil Dahal लेख्छन्, “महेश जी पनि अलग्गै प्राणी हुन । "जी" भन्ने लायक नै छैनन । तीनको बोलिहरु सुनिरहेकै हौं । मुर्ख देखि दैव डराउँछ... भनेको यहि होला ।”

त्यस्तै Suman Ghimire लेख्छन्, “यो महेश भन्‍ने मानिसले साम्प्रदायिक सद्भाव बिथोल्ने काम गर्दै छ। यो एक नम्बर फटाहा मान्छे रहेछ। जसको जुठो खायो आखिर हुने त त्यही हो। बालेनप्रति मधेश, पहाड र हिमालका मानिसको बढ्दो क्रेज देखेर यो रातभरि निदाएको छैन जस्तो छ। बर्बराएको बर्बरायै छ।”

Narayan Tiwari लेख्छन्, “सही हो, उनले छौँडाको अर्थ बुझेनन् र गलत किसिमले टिप्पणी गरे । बालेनले अहिले जसरी जनकपुरमा मन्तव्य राखे, त्यो पनि वेश ! तर, उनको पूर्ववत् फेसबुके स्टाटस(टिप्पणी) योभन्दा तुच्छ, अरूलाई अपमानित गर्ने, गाड्ने, जलाउने, तेरो, बाबन्न सकिनस् जस्ता अराजक, असंस्कारिक, असन्तुलित हुन्थे भन्नेमा मचाहिँ कमसेकम सहमत छु । बाका सन्ततिहरूलाई त्यस्ता बचन बिझाएर अहिले प्रकट हुने कुरा पनि एकप्रकारले बुझ्नु पर्ला । तर, त्यो पनि र यो पनि ठीकचाहिँ होइन । यी दुवै मेरा दृष्टिमा गलत !”

Anjali Patel लेख्छिन्, “अल्पज्ञान खतरनाक हुन्छ भनेको यही हो। अर्थ काे अनर्थ बनाएर अरूलाई गिज्याउने वहां काे संकीर्ण मानसिकता लाई झल्काउँछ। विनाशकाल विपरीत बुद्धि।।”

केही सामाजिक प्रयोगकर्ताले महेश बस्नेतको अभिव्यक्तिलाई लिएर मधेशमा एमालेविरुद्ध बहिष्कार अभियानै चलाउनुपर्ने धारणा राखेका छन् भने केहीले कानुनी कारबाहीको माग राखेका छन् ।

सामाजिक सञ्जालमा आलोचना भइरहे पनि एमाले नेता बस्नेतले यो सामग्री तयार पार्दासम्म आफ्नो भनाइप्रति स्पष्टीकरण दिने वा माफी माग्नेबारे आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् । 

पछिल्लो अध्यावधिक: माघ ८, २०८२ १३:२६