मिथ्या सूचना रोक्न टेकपानासँग निर्वाचन आयोगको सहकार्य, एआई-आधारित टुलबाट मिडिया मनिटरिङ गरिने
माघ ९, २०८२ १६:२६
काठमाडौँ । आगामी निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन निर्वाचन आयोगले टेकपानासँग सहकार्य गर्ने भएको छ । सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा फैलिन सक्ने मिथ्या सूचना र द्वेषपूर्ण अभिव्यक्तिलाई एआईको माध्यमबाट न्यूनीकरण गर्न आयोगलाई सघाउन दुई पक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
बिहीबार भएको समझदारी अनुसार निर्वाचन प्रक्रियालाई थप सुदृढ बनाउन टेकपानाले अयोगलाई सघाउनेछ । आयोगले टेकपानाद्वारा विकसित एआईमा आधारित इलेक्सन मिडिया मनिटरिङ सिस्टम प्रयोग गर्नेछ । यो सिस्टमले विशेषगरी निर्वाचन आचारसंहिता, २०८२ को उल्लङ्घन पहिचान र अनुगमन गर्ने कार्यमा सहयोग गर्नेछ ।
यो प्रणालीले डिजिटल माध्यममा हुने गलत प्रचारलाई पहिचान, विश्लेषण र न्यूनीकरण गर्न मद्दत गर्ने विश्वास लिइएको छ । यस प्रविधिको प्रयोग गर्दा कुनै पनि राजनीतिक दल, उम्मेदवार वा समूहप्रति पूर्वाग्रह नराखी पूर्ण रूपमा निष्पक्ष र तटस्थ रहने समझदारी पत्रमा उल्लेख छ ।
समझदारी पत्र अनुसार टेकपानाले निर्वाचन आयोगलाई आवश्यक फ्याक्ट-चेकिङमा सहयोग समेत गर्नेछ । निर्वाचनलाई स्वच्छ र निष्पक्ष राख्न टेकपानाले उल्लिखित सहयोग आयोगलाई निःशुल्क रूपमा उपलब्ध गराउन लागेको हो ।
समझदारी पत्रमा निर्वाचन आयोगको तर्फबाट उपसचिव लक्ष्मिदत्त कलौनी र टेकपाना मिडियाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय तिमल्सिनाले हस्ताक्षर गरेका छन् । समझदारीले निर्वाचनको समयमा डिजिटल माध्यमबाट हुने भ्रामक प्रचारलाई रोक्न र निर्वाचनको विश्वसनीयता कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा छ ।
पछिल्लो अध्यावधिक: माघ ९, २०८२ १६:४२
