फ्याक्टचेक: भक्तपुर-२ का स्थानीयले महेश बस्नेतलाई लखेटेको दाबी गलत, भाइरल तस्बिर एआई निर्मित
माघ १३, २०८२ १४:२९
काठमाडौँ । सोमबारदेखि सामाजिक सञ्जालमा नेकपा एमालेका केन्द्रीय सचिव महेश बस्नेतबारे एउटा पोस्ट भाइरल भइरहेको छ । जहाँ बस्नेतलाई वरिपरिबाट प्रहरीले समाएको देखिन्छ भने पछाडि मानिसहरूले हात उठाउँदै नारा-जुलुस गरिरहेको जस्तो देखिन्छ । बस्नेतले भक्तपुर-२ मा भोट माग्न जाने क्रममा स्थानीयले लाठी र ढुङ्गा प्रहार गरेको दाबीसहित तस्बिर भाइरल भइरहेको हो । टेकपानाको तथ्यजाँचबाट उक्त तस्बिर एआई निर्मित रहेको पुष्टि भएको छ ।
दाबी
सामाजिक सञ्जाल फेसबुकमा भोट माग्न जाने क्रममा महेश बस्नेतलाई स्थानीयले लखेटेको दाबीसहित ‘कृष्ण अयाँल’ नामको फेसबुक अकाउन्टबाट सामग्री शेयर भएको छ । २६ जनवरी, २०२६ अर्थात् सोमबार दिउँसो १:२७ बजे गरिएको उक्त पोस्टको स्टाटसमा भनिएको छ, “सबैलाई नमस्कार भोट माग्न जादा भक्तपुर २ का जनताले लाठि र ढुङा प्रयोग गरेर बलात्कारि महेस बस्नेतलाइ आफ्नै छेत्रमा लखटेका छन् टाउको फोर्नु पर्छ ❤️🙏😊👏” । यो सामग्री तयार पार्दा सम्म उक्त पोस्टमा १० हजार बढी लाइक र ३१ सय बढी कमेन्ट गरिएको छ । हेर्नुहोस् पोस्ट, अर्काइभ लिङ्क र स्क्रिनशट ।

अनुसन्धान
सामाजिक सञ्जालमा महेश बस्नेतलाई भक्तपुर-२ का स्थानीयले लखेटेको दाबी सहितका पोस्ट सामाजिक सञ्जालमा भाइरल भएपछि हामीले उक्त दाबीसहितका अन्य पोस्टहरू खोजी गर्यौँ । यस क्रममा ‘Miss Pabi 41’ नामको फेसबुक अकाउन्टबाट २६ जनवरी बिहान ८:०८ मा सोही दाबी र फोटो सहितको पोस्ट सार्वजनिक भएको फेला पर्यो ।
उक्त पोस्टको स्टाटसमा लेखिएको छ, “Breaking: भोट माग्न जादा भक्तपुर २ का जनताबाट महेश बस्नेत ल'खे'टिए, सहि कि ग'लत कमेन्ट गर्नुहोला ❤️🙏😊👏” । पोस्टमा यो सामग्री तयार पार्दा सम्म
२३ हजार रियाक्सन, छ हजार ९०० कमेन्टमा कमेन्ट, ६५४ शेयर गरिएको छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

२६ जनवरी दिउँसो ३:२९ मा ‘Arjun Shahi’ नामको फेसबुक अकाउन्टबाट पनि सोही दाबी सहितको पोस्ट सार्वजनिक भएको छ । उक्त पोस्टमा लेखिएको छ । “breaking news सबैलाई नमस्कार भोट माग्न जादा भक्तपुर २ का जनताले लाठि र ढुङा प्रयोग गरेर बलात्कारि महेस बस्नेतलाइ आफ्नै छेत्रमा लखटेका छन् टाउको फोर्नु पर्छ ❤️🙏😊👏” । ‘Arjun Shahi’ को पोस्टमा यो सामग्री तयार पार्दा सम्म एक हजार बढी रियाक्सन, ४८३ कमेन्ट र ३४ शेयर छ । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

२६ जनवरी साँझ ५:३२ मा ‘Abhi Karki’ नामको फेसबुक प्रयोगकर्ताले पनि सोही फोटो र दाबीसहितको पोस्ट गरेको भेटियो । पोस्टमा लेखिएको छ, “भोट माग्न जाँदा भक्तपुर २ का जनताले लाठि र ढुङा प्रयोग गरेर महेस बस्नेतलाइ आफ्नै छेत्रमा लखटेका छन् ❤️🙏😊👏” । हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।
अर्का फेसबुक प्रयोगकर्ता ‘Surya Shrestha’ २६ जनवरी राति ८:५६ मा महेश बस्नेत मत माग्न जाँदा लखेटिएको दाबी सहित पोस्ट गरेको भेटिएको छ । उक्त पोस्टमा लेखिएको छ, “Breaking: भोट माग्न जादा भक्तपुर २ का जनताबाट महेश बस्नेत ल'खे'टिए, सहि कि ग'लत कमेन्ट गर्नुहोला ❤️🙏😊👏” हेर्नुहोस् पोस्ट, आर्काइभ लिङ्क र स्क्रिनशट ।

हामीले महेश बस्नेत भोट माग्न जाँदा लखेटिएको दाबीलाई पुष्टि गर्न सक्ने अन्य सामग्री विभिन्न सामाजिक सञ्जाल प्लेटफर्ममा खोज्यौँ । यसका लागि टिकटक, युट्युब, फेसबुक, इन्स्टाग्राममा ‘महेश बस्नेत लखेटिए’, ‘भक्तपुर २ महेश बस्नेत’, ‘महेश बस्नेत भोट विरोध’, ‘महेश बस्नेत स्थानीय आक्रोश’, ‘Mahesh Basnet Bhaktapur’, ‘लाठी ढुङ्गा महेश बस्नेत’ लगायतका किवर्ड राखेर सर्च गर्यौँ । तर महेश बस्नेतलाई स्थानीयले लखेटेको समाचार वा दाबीलाई पुष्टि गर्न सक्ने अन्य फोटो तथा भिडिओ फेला गरेनन् ।
त्यसपछि हामीले एआई डिटेक्सन टुल हाइभ मोडेरेसनमा बस्नेतलाई स्थानीयले लखेटेको दाबी गरिएको तस्बिर राखेर हेर्यौँ । उक्त टुलले बस्नेतको उक्त तस्बिर ९९.९% एआई निर्मित रहेको देखायो ।

एआई डिटेक्सन टुल ‘aiornot’ मा पनि उक्त तस्बिर राखेर हेर्यौँ । यो टुलले पनि बस्नेतको तस्बिर एआई निर्मित रहेको देखायो ।

गुगल सिन्थ-आईडी डिटेक्सन टुलमा उक्त तस्बिर गुगलका एआई टुलबाट तयार भए/नभएको पनि जाँच गर्यौँ । जाँच गर्दा उक्त तस्बिर गुगलको एआई टुल प्रयोग गरेर तयार पारेको देखियो ।

दाबी
भोट माग्नका लागि भक्तपुर क्षेत्र नं. २ मा जाँदा एमाले नेता महेश बस्नेतलाई स्थानीयले लाठी र ढुङ्गा प्रयोग गरेर लखेटे ।
दाबीकर्ता
‘कृष्ण अयाँल’, ‘Miss Pabi 41’, ‘Arjun Shahi’, ‘Abhi Karki’, ‘Surya Shrestha’ लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
महेश बस्नेतलाई भक्तपुर-२ मा भोट माग्न जाँदा स्थानीयहरूले लाठी र ढुङ्गा प्रहार गरेर लखेटेको कुनै प्रमाण भेटिएको छैन । बस्नेतलाई स्थानीयले लखेटेको देखिने भाइरल तस्बिर एआईबाट तयार पारिएको टेकपानाको तथ्यजाँचबाट पुष्टि भएको छ ।
निष्कर्ष
महेश बस्नेतलाई भोट माग्न जाँदा भक्तपुर-२ का स्थानीयले लखेटेको दाबी र भाइरल तस्बिर मिथ्या सूचना हो । गुगल एआई टुलको प्रयोग गरेर महेश बस्नेतलाई स्थानीयले लखेटेको जस्तो देखिने गरी एआई निर्मित तस्बिर तयार पारिएको हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: माघ १३, २०८२ १४:५१
