close

प्रेमिकाको विहे अर्कैसँग हुने भएपछि युवकले आफन्तलाई पठाइदिए सम्बन्धमा छँदा खिचेका अश्लील फोटो

डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका वडा न २ घर भएका २२ वर्षीय हरिशप्रसाद भट्ट विरुद्ध अदालतमा साइबर अपराधको मुद्दा दायर भएको छ भने उनी हाल प्रहरीको फरार सूचीमा छन् ।

टेकपाना टेकपाना

माघ १६, २०८२ १२:९

प्रेमिकाको विहे अर्कैसँग हुने भएपछि युवकले आफन्तलाई पठाइदिए सम्बन्धमा छँदा खिचेका अश्लील फोटो

काठमाडौँ । एक युवतीको अश्लील तस्बिर सामाजिक सञ्जालमा फैलाएको र चरित्र हत्या गरेको अभियोगमा डडेल्धुराका एक युवक विरुद्ध कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । डडेल्धुरा जिल्लाको भागेश्वर गाउँपालिका वडा न २ घर भएका २२ वर्षीय हरिशप्रसाद भट्ट विरुद्ध जिल्ला सरकारी वकील कार्यालयले विद्युतीय कारोबार सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता गरेको हो ।

यही १२ माघमा दायर अभियोग अनुसार भट्ट र पीडित युवतीबिच फेसबुकमार्फत चिनजान भएको थियो । विस्तारै उनीहरूबिच प्रेम सम्बन्ध सुरु भयो र विवाहको गर्ने भन्दै भट्टले अश्लील तस्बिरहरू आफ्नो मोबाइलमा खिचेर राखेका थिए ।

पछि युवतीको विवाह अर्कै व्यक्तिसँग तय भएको जानकारी पाएपछि, भट्टले प्रतिशोध साध्ने उद्देश्यले सम्झना जोशी (परिवर्तित नाम) नामक नक्कली फेसबुक आईडी प्रयोग गरी ती तस्बिरहरू युवतीका आफन्तहरूलाई पठाइदिए । उनीमाथि ती अश्लील तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोप समेत लागेको छ ।

पीडितले दिएको जाहेरीका आधारमा गरिएको अनुसन्धानबाट भट्टले मेसेन्जरमार्फत तस्बिरहरू पठाएर युवतीलाई मानसिक तनाव दिएको र 'विवाह गरेमा बर्बाद गरिदिने' भन्दै धम्की समेत दिएको बताइएको छ ।

सरकारी वकील कार्यालयले भट्टविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम सजायको माग गरेको छ । यस दफा अनुसार दोषी ठहरिएमा भट्टलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद, अथवा दुवै सजाय हुन सक्छ ।

साथै, पीडितलाई भएको क्षति बापत क्षतिपूर्ति र अपराध पीडित संरक्षण कोषमा रकम जम्मा गराउन समेत माग दाबी लिइएको छ ।

हाल प्रतिवादी हरिशप्रसाद भट्ट फरार रहेका छन् । अदालतले उनलाई म्याद जारी गरी उपस्थित गराउन र कानुनी प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । भट्टमाथि लगाइएको आरोप अदालतबाट प्रमाणित हुन भने बाँकी नै छ।

पछिल्लो अध्यावधिक: माघ १६, २०८२ १२:९