निर्वाचन आचारसंहिता विपरीत भन्दै रेटमाईनेता ब्लक, उही प्रकृतिको रेट ईकान्तिपुरलाई छुट किन ?
माघ १८, २०८२ १५:२५
काठमाडौँ । अनलाइनमार्फत नेपाली नेताहरूको लोकप्रियता मापन गर्ने प्लेटफर्म ‘रेटमाईनेता’लाई सरकारले ब्लक गरिदिएको छ ।
निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनमा मोबाइल तथा इन्टरनेट सेवा प्रदायकहरूले उक्त वेबसाइट नेपालभित्र नचल्ने बनाएका हुन् ।
अहिले रेटमाईनेताको वेबसाइट खोल्दा मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा १२१ तथा अन्य प्रचलित कानुनले बन्देज लगाएको सामग्री रहेको र नेपालमा दर्ता एवं सूचीकरण नभएको सूचना देखिन्छ ।

यस विषयमा रेटमाईनेताले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निर्वाचन आयोगको निष्पक्ष चुनाव गराउने प्रयासको सम्मान गर्ने बताएको छ ।

तर, आफूलाई मात्र रोकेर उस्तै प्रकृतिका अन्य प्लेटफर्मलाई सञ्चालन गर्न दिएकोमा भने उसले आपत्ति जनाएको छ ।
“हाम्रो जस्तै प्रकृतिका अन्य साइटहरू, जसमा कान्तिपुरले भर्खरै सुरु गरेको प्लेटफर्म पनि सामेल छ, ती भने निर्वाध सञ्चालनमा छन्,” रेटमाईनेताले भनेको छ, “यदि नागरिकको राय लिने प्लेटफर्मलाई अनुमति नदिने हो भने यो नियम सबैका लागि समान हुनुपर्छ । पारदर्शिता र एकरूपता लोकतन्त्रका लागि आवश्यक छ ।”

निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद-२ को दफा (४) को उपदफा (त) मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामको सम्बन्धमा ‘मत सर्वेक्षण’ गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा र प्रकाशन गर्न नहुने व्यवस्था छ ।
यही व्यवस्थालाई आधार मानेर रेटमाईनेतामाथि कारबाही गरिए पनि उस्तै प्रकृतिको कान्तिपुरको प्लेटफर्म (rate.ekantipur.com) भने सञ्चालनमै रहनुले विभेदको प्रश्न उब्जाएको हो । इकान्तिपुरको प्लेटफर्म बाहेक नेताजीडटकम (netajee.com), मङ्किरेटर्स (monkeyraters.com), भुगोलपार्कडटकम (Bhugolpark.com) लगायतका प्लेटफर्म सक्रिय छन् ।
रेट डट ईकान्तिपुर डटकममा विभिन्न निर्वाचन क्षेत्रबाट उठेका ६९ उम्मेदवारको सूची राखिएको छ । त्यसमा उम्मेदवारको नाम, उमेर, आवद्ध राजनीतिक दल, एप्रुभल रेटिङ, एप्रुभ वा डिसएप्रुभको अप्सन राखिएको छ । रेटमाईनेतामा पनि यही प्रकृतिका जानकारी राखिएको छ ।

सामाजिक सञ्जाल रेडिट, एक्स लगायतका प्लेटफर्ममा प्रयोगकर्ताहरूले पहुँच भएका सञ्चारगृहलाई छुट दिइएको र स्वतन्त्र अभियानलाई मात्रै निसाना बनाइएको भन्दै आक्रोश पोखेका छन् । नेपाल सोसल सबरेडिटमा एक प्रयोगकर्ताले लेखेका छन्, “रेटकान्तिपुर चलिरहेको छ तर ओरिजिनल रेटमाईनेता भने किन डाउन छ ? मैले सीजी नेटबाट एक्सेस गर्दा मुलुकी अपराध संहिता २०७४ को दफा १२१ अन्तर्गत बन्द गरिएको भन्ने सूचना देखियो । यदि बन्द नै गर्नुपर्ने हो भने दुबै प्लेटफर्म बन्द गर्नुपर्ने हो ।”
उक्त पोस्टमा कमेन्ट गर्दै केही प्रयोगकर्ताले पहुँचका कारण कान्तिपुर बन्द नभएको तर्क गरेका छन् । केहीले भने रेटमाईनेता नेपालबाहिरबाट सञ्चालन भएको तर कान्तिपुर नेपालमै मिडियाका रूपमा दर्ता भएकाले बन्द नगरिएको हुनसक्ने आशंका गरेका छन् ।
यता निर्वाचन आयोगले आचारसंहिता विपरीत काम गर्ने जोसुकैमाथि कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिने जनाएको छ । आयोगका एक प्रतिनिधिले भने, “हामीले साइबर ब्युरो, दूरसञ्चार प्राधिकरण र प्रेस काउन्सिलसँग समन्वय गरेर अनुगमन गरिरहेका छौँ । आचारसंहिता उल्लङ्घन भएको पाइएमा कारबाहीका लागि पत्राचार गर्छौँ ।”
नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले आयोगको पत्राचारका आधारमा प्लेटफर्महरू ब्लक गर्न निर्देशन दिने गरिएको बताए । यद्यपि उनले रेटमाई नेता र कान्तिपुरको प्लेटफर्मका विषयमा विस्तृत जानकारी बुझेर मात्रै उपलब्ध गराउन सकिने सुनाए । (प्राधिकरणबाट थप जानकारी प्राप्त भएमा यहीँ अपडेट गरिनेछ)
यता प्रेस काउन्सिल नेपालका प्रवक्ता दिपक खनालले माघ १४ गते नै rate.ekantipur.com विरुद्ध उजुरी परेको जानकारी दिए । “निर्वाचनको समयमा तालिमका कारण निर्णय गर्ने अधिकारीहरू बाहिर हुनुहुन्थ्यो,” उनले भने, “यस विषयमा के गर्ने भन्नेबारे आज आइतबार आवश्यक निर्णय हुनेछ ।”
इन्टरनेट सेवा प्रदायकले भने प्राधिकरणबाट माघ १४ गते नै रेटमाईनेता ब्लक गर्ने निर्देशन आएको र सोही अनुसार कार्यान्वयन गरिएको बताएका छन् । एउटै प्रकृतिको काम गर्ने एउटा प्लेटफर्म ब्लक हुँदा अर्को निर्वाध चलिरहेको भन्दै सामाजिक सञ्जालमा बहस भइरहेको छ ।
पछिल्लो अध्यावधिक: माघ १८, २०८२ १५:३३
