close

आचारसंहिता उल्लंघनको प्रश्न उठेपछि कान्तिपुरले बन्द गर्‍यो नेताहरूको रेटिङ गर्ने वेबसाइट

टेकपाना टेकपाना

माघ १९, २०८२ १७:१७

आचारसंहिता उल्लंघनको प्रश्न उठेपछि कान्तिपुरले बन्द गर्‍यो नेताहरूको रेटिङ गर्ने वेबसाइट

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुप अन्तर्गतको ईकान्तिपुरले सुरु गरेको नेताको रेटिङ देखाउने अनलाइन प्लेटफर्म बन्द भएको छ । निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै सरोकारवाला निकायले प्रश्न उठाएपछि कान्तिपुरले सोमबारदेखि उक्त प्लेटफर्म बन्द गरेको हो ।

हाल उक्त वेबसाइट (rate.ekantipur.com) खोल्दा ‘Kasto छ ?’ लेखिएको लोगोमाथि एउटा सूचना राखिएको छ । जसमा भनिएको छ, ‘नेताहरूको रेटिङप्रति निर्वाचन आयोग र प्रेस काउन्सिलले व्यक्त गरेको सरोकारलाई सम्बोधन गर्दै यो रेटिङ बन्द गरिएको छ ।’

यसअघि नेपाल दूरसञ्चार प्राधिकरणले उस्तै प्रकृतिको ‘रेट माई नेता’ नामक प्लेटफर्मलाई ब्लक गरिदिएको थियो । एउटै प्रकृतिको कार्य गर्ने एउटा प्लेटफर्ममाथि प्रतिबन्ध लगाइएको र कान्तिपुरको प्लेटफर्म भने निर्बाध सञ्चालनमा रहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको थियो ।

निर्वाचनको समयमा उम्मेदवार वा नेताहरूको रेटिङ गर्दा मतदाता प्रभावित हुने र निर्वाचन आचारसंहिता उल्लंघन हुने भन्दै नियामक निकायहरूले यस्ता गतिविधिमाथि निगरानी बढाएका छन् । सोही दबाब र कानुनी सरोकारलाई मध्यनजर गर्दै कान्तिपुरले आफ्नो प्लेटफर्म बन्द गरेको हो । 

 

पछिल्लो अध्यावधिक: माघ १९, २०८२ १७:१७