close

फ्याक्टचेकः बालेनले आफ्नो फेसबुक पेजमा फेक रियाक्ट हेर्न नमिल्ने गरी लुकाएको भन्ने दाबी भ्रामक

हिक्मत आचार्य हिक्मत आचार्य

माघ १९, २०८२ २१:५९

फ्याक्टचेकः बालेनले आफ्नो फेसबुक पेजमा फेक रियाक्ट हेर्न नमिल्ने गरी लुकाएको भन्ने दाबी भ्रामक

काठमाडौँ । केही दिनयता सामाजिक सञ्जाल फेसबुकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले आफ्ना फेसबुक पोस्टमा कसले ‘रियाक्ट’ गर्‍यो भन्ने कुरा हेर्न नमिल्ने बनाएको दाबीले चर्चा पाइरहेको छ । विभिन्न राजनीतिज्ञले रकम तिरेर नक्कली ‘लाइक’ ल्याउने गरेको सन्दर्भसँग जोड्दै केही प्रयोगकर्ताले बालेनले पनि नक्कली रियाक्सन लुकाउन यस्तो गरेको दाबी गरेका छन् । 

तर, टेकपानाको तथ्यजाँचबाट १० लाखभन्दा बढी फलोअर भएका हरेक फेसबुक पेजमा फेसबुकले नै स्वतः साथीहरू बाहेक अन्यको रियाक्सन हेर्न नमिल्ने फिचर लागु गरेको देखिएको छ । बालेनले नक्कली रियाक्ट लुकाउन यस्तो गरेको भन्ने दाबी भ्रामक रहेको पुष्टि भएको छ ।

दाबी

३० जनवरी २०२६ बिहान ८ः४७ बजे ‘Jaya Singh Mahara’ नामको फेसबुक अकाउन्टबाट एउटा पोस्ट अपलोड भयो । सो पोस्टमा बालेन शाहको फेसबुक पोस्टको स्क्रिनशट राखिएको छ । माथि क्याप्सनमा लेखिएको छ, “भावी प्रधानमन्त्री घोषित रास्वपा झापा- ५ का उम्मेदवार बालेन्द्र शाहको सहिद दिवससम्बन्धी फेसबुक पोस्टमा क-कसले 'लाइक, लभ...' रियाक्ट गरेछ भनेर हेर्न खोजेको लुकाइएको रहेछ । एक घण्टामै १ लाख ६३ हजार+ ले रियाक्ट गरेको छ तर आफूसँग फेसबुक साथी भएका क-कसले रियाक्ट गरेको रहेछ भन्ने मात्र देख्न पाइने बनाइएको रहेछ । लोकतन्त्र, प्रजातन्त्र भनेको पारदर्शिता, अभिव्यक्ति स्वतन्त्रता पनि हो है । यस्ता कुरासमेत लुकाएर त भोलि कस्तो शासन गर्नुहुन्छ होला ? भन्ने प्रश्न र आशंका उब्जिन्छन् नि ।”

यो सामग्री तयार पार्दासम्म सो पोस्टमा ४९५ रियाक्सन र २७७ वटा कमेन्ट आएका छन् भने पोस्ट ७ पटक शेयर भएको छ । हेर्नुहोस् पोस्ट, आर्काइभ र स्क्रिनशट ।

अनुसन्धान

टेकपाना फ्याक्टचेक डेस्कले सोही किसिमका दाबी फेला पार्न फेसबुक, इन्स्टा, एक्स र टिकटकमा ‘बालेन लाइक’, ‘लाइक लुकाउने’, ‘फेक लाइक बालेन’ लगायतका किवर्ड सर्च गर्‍यो । त्यस क्रममा ‘Bibek Thapaliya’ नामक टिकटक प्रयोगकर्ताले २३ जनवरी २०२६ मा “फेक लाइक को खेतिको आज पर्दाफास गर्दैछु! जनता पङ्गु नबाउनुहोला!” शीर्षकको भिडिओ राखेको फेला पर्‍यो । 

उक्त भिडिओमा थपलियाले भनेका छन्, “बालेन शाह लगायत अरु घण्टीहरूले फेक लाइक किनेर चाहिँ जनता पङ्गु बनाएको भनेर मैले भनिराको थिएँ नि! आज सबूत पनि भेटियो। एउटा महाघण्टीले चाहिँ यसरी मान्छेलाई पङ्गु बनाएर फेक लाइक किन्ने रैछन्। यसो हेर्दा चाहिँ ओहो कति धेरै फलोअर छ जस्तो देखिने, तर त्यहाँनिर गएर यसो रियाक्सनमा गएर लभ रियाक्सनमा हेर्दा त नाम पढ्न नसकिने छ बाबा! कुन चाहिँ नेपालीको नाम यस्तो हुन्छ? कसको नाम यस्तो हुन्छ? नेपालीका लाइक त होइनन् नि। नेपाली जस्तो जस्तोको पनि त लाइक होइन यो। लौ हेर्नुस् फेक लाइक किनेको। फेक लाइक किनेर जनतालाई कहिलेसम्म पङ्गु बनाउने हो? अब यो कुरा चाहिँ बालेन शाह अलिकति बाठो भए। बालेन शाहले चाहिँ त्यो हेर्न मिल्ने हाइड गर्द्या छन् के। त्यो बाहिरबाट आएको लाइकहरू जुन छ, त्यो चाहिँ हेर्न नमिल्ने छ। जताबाट उसको लाइक आउँछ, उसले चाहिँ 'ओन्ली फलोअर क्यान सी' भनेर आएको छ त्यहाँ। त्यो त अब हामी नेपाली देख्दैनौँ। त्यो कुन चाहिँ भियतनामी गल्लीको केटा हो त्यो, अथवा त्यहाँ फार्मिङ गरेर लाइक जेनेरेट गर्या हो। सो घण्टीको चाहिँ मैले भेटिएँ एउटा। सबै विदेशी लाइक। यसो हेर्दा चाहिँ ओहो एउटा पोस्टमा ५० हजार लाइक जस्तो देखिने, एक्कैछिनमा धेरै लाइक आउने, लास्टमा त किन्यै लाइक! नाम पढ्नुस् त एकचोटि, रिपिट गरी गरी एकचोटि नाम पढ्नुस्, कति जना नेपाली भेट्नुहुन्छ त्यहाँनिर।” हेर्नुहोस् पोस्ट र स्क्रिनरेकर्ड ।

फेसबुकमा भाइरल भिडिओ पोस्ट भने थपलियाले हटाएका छन् । उनैले अर्को भिडिओमा पनि रास्वपाबाट भक्तपुर-२ मा उठेका उम्मेदवार राजीव खत्रीको फेसबुक पेजमा आएका रियाक्सनबारे प्रश्न उठाएका छन् । हेर्नुहोस् पोस्ट र स्क्रिनरेकर्ड । 

यी बाहेक अन्य केही सामाजिक सञ्जाल प्रयोगकर्ताले पनि बालेनले रियाक्सन लुकाएको दाबी गरेका छन् । एमाले समर्थक Mohan Pokharel नामक फेसबुक प्रयोगकर्ता र Mohan's Message नामक पेजबाट २४ जनवरी २०२६ मा गरिएको कोल्याब भिडिओ पोस्टको क्याप्सनमा लेखिएको छ, "Fake Likes को फन्डा बुझौं ! Balen को पोस्टमा लाइक गर्ने 'आफ्नो साथी बाहेक' को सूचि Hide गर्नुले पनि यो शंकालाई सही सावित गर्छ ।" हेर्नुहोस्, पोस्ट, अर्काइभ र स्क्रिनशट;

हामीले तथ्यजाँचका लागि ‘You can see the total number of people who reacted to this post, but only the names of friends who have reacted will be shown.’ किवर्ड खोज्यौं । त्यस क्रममा ४ महिनाअघि रेडिटको फेसबुक सबरेडिटमा यस सम्बन्धी पोस्ट राखेको फेला पर्‍यो । 

उक्त पोस्टमा ती प्रयोगकर्ताले १० लाख बढी फलोअर भएका प्रायः सबै फेसबुक पेजमा रियाक्ट गर्ने प्रयोगकर्ताको नाम हाइड भएको उल्लेख गरेका छन् । रियाक्ट गर्ने व्यक्तिको नाम लुकाउने फेसबुकको फिचरबारे खोज्दा भने आधिकारिक जानकारी फेला परेन । 

त्यसपछि हामीले १० लाख बढी फलोअर भएका नेपालका ४० बढी अकाउन्टलाई विश्लेषण गर्‍यौं । उक्त सूची यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ । बालेनले फेसबुक रियाक्सन हेर्न नमिल्ने बनाएको दाबी गर्ने जयसिँह महरा कान्तिपुर मिडिया ग्रुपमा कार्यरत पत्रकार समेत हुन् । उक्त मिडिया ग्रुप अन्तर्गत १० लाखभन्दा बढी फलोअर भएका ईकान्तिपुर, कान्तिपुर डेली र कान्तिपुर टिभी एचडी गरी तीन ओटा पेज रहेका छन् । ती तिनै पेजमा बालेनको पेजमा देखिए जस्तै प्रयोगकर्ताले आफ्ना साथी बाहेक अन्यले गरेको रियाक्सन हेर्न नपाउने सेटिङ एक्टिभ देखियो ।  

हामीले परीक्षणका क्रममा एन्ड्रोइड, विन्डोज र म्याकओएसमा १० लाख बढी फलोअर भएका सबै फेसबुक पेजमा प्रयोगकर्ताले आफूसँग एड भएका व्यक्ति बाहेक अरूको नाम नदेखिने फिचर एक्टिभ भएको फेला पार्‍यौँ । आईओएसमा भने ग्लिच भएका कारण रिफ्रेस गर्दा रियाक्ट गर्ने सबैको नाम देखिने अवस्था रहेको फेला पार्‍यौं ।

यसबाट के पत्ता लाग्यो भने एन्ड्रोइड, म्याकओएस र विन्डोजमा १० लाख बढी फलोअर हुने पेजका पोस्टमा रियाक्ट गर्ने सबै प्रयोगकर्ताको नाम फेसबुकले डिफल्ट (पूर्व निर्धारित) रूपमै देखाउँदैन । १० लाख बढी फलोअर भएका पेजको पोस्टमा एड भएको अकाउन्टले गरेको रियाक्ट मात्रै उसका साथीले हेर्दा देखिन्छ । 

  

तर, आईओएसमा भने पुरानै अवस्था छ । 

यसलाई थप प्रमाणित गर्न हामीले १० लाख बढी फलोअर भएका गायक अर्जुन सापकोटा र एलिना चौहानको पेज व्यवस्थापन गर्ने एड्मिन सन्तोष सापकोटालाई सम्पर्क गर्‍यौँ । उनले पेजको सेटिङमा रहेको प्राइभेसी सेक्सनको स्क्रिनशट उपलब्ध गराए । त्यसमा रियाक्ट गर्ने अकाउन्टको नाम लुकाउने भन्ने कुनै अप्सन नरहेको देखियो । हेर्नुहोस् स्क्रिनशटहरूः 

  

यसअघि एक्सले १२ जुन २०२४ मा कुनै पोस्टमा कसले लाइक गर्‍यो भन्ने नदेखाउने फिचर सुरु गरेको थियो । हेर्नुहोस्, एक्सले फिचर घोषणा गरेको पोस्ट । यही फिचर मेटाले फेसबुकमा लागु गर्न थालेको देखिन्छ । यद्यपि फेसबुकको हकमा १० लाखभन्दा बढी फलोअर हुने पेजमा डिफल्ट रूपमै यो फिचर एक्टिभ हुने विषयमा कुनै ब्लग/समाचार फेला परेन । 

यी विभिन्न तथ्यलाई आधार मान्दा ‘बालेनले नक्कली रियाक्ट लुकाउने फिचर अन गरे’ भन्ने दाबी भ्रामक देखिन्छ । फेसबुकले १० लाख बढी फलोअर भएका पेजमा यस्तो फिचर डिफल्ट रूपमा उपलब्ध गराउँदै आएको छ । तर, यो फिचरको असर हाल आईओएस बाहेक अन्य प्रयोगकर्ताले देख्न सक्छन् । 

दाबी

रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आफ्नो फेसबुक पोस्टमा क-कसले रियाक्ट (लाइक, लभ आदि) गरे भन्ने विवरण लुकाएका छन् । उनले नक्कली 'रियाक्सन' वा 'फेक लाइक' लुकाउनका लागि यस्तो सेटिङ मिलाए । 

दाबीकर्ता

‘Jaya Singh Mahara’, Mohan Pokharel नामक फेसबुक प्रयोगकर्ता र ‘Bibek Thapaliya’ नामक टिकटक प्रयोगकर्ता लगायत ।

तथ्य

१० लाख (१ मिलियन) भन्दा बढी फलोअर भएका फेसबुक पेजमा फेसबुकले नै स्वतः रूपमा यस्तो फिचर लागु गरेको छ, जहाँ प्रयोगकर्ताले आफ्नो ‘फ्रेन्ड लिस्ट’ मा भएका बाहेक अन्य अपरिचित व्यक्तिको रियाक्सन विवरण हेर्न मिल्दैन । एन्ड्रोइड, विन्डोज र म्याकओएस प्रयोगकर्ताले १० लाखभन्दा बढी फलोअर भएका कुनै पनि ठुला पेजमा रियाक्सन विवरण हेर्न नपाउने तथ्य फेला परेको छ । आईओएसमा भने प्राविधिक कारणले कहिलेकाहीँ सबै विवरण देखिने गरेको छ ।

त्यस्तै १० लाख बढी फलोअर भएका अन्य ठुला फेसबुक पेजका एड्मिनसँग बुझ्दा पेजको सेटिङमा रियाक्सन गर्नेहरूको नाम लुकाउने कुनै पनि ‘म्यानुअल’ विकल्प नभएको पुष्टि भयो । यो नियम बालेनको पेजमा मात्र नभएर १० लाख बढी फलोअर भएका सबै जसो (परीक्षण गरिएका) पेजमा कायम रहेको देखियो ।

निष्कर्ष 

बालेन शाहले नक्कली रियाक्सन लुकाउन सेटिङ परिवर्तन गरेको भन्ने दाबी भ्रामक छ । रियाक्सनको विस्तृत विवरण नदेखिनु बालेनको निजी निर्णय वा सेटिङ नभएर १० लाखभन्दा बढी फलोअर भएका पेजहरूका लागि फेसबुकले नै डिफल्ट रूपमा लागु गरेको प्रणालीगत फिचर हो ।

 

 

प्रतिक्रिया

तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुकइन्स्टाग्रामटिकटकएक्स

युट्युबलिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ २०, २०८२ ५:५०