close

बालेन शाह बने फेसबुकमा सबैभन्दा धेरैले फलो गर्ने नेपाली राजनीतिक व्यक्ति*

टेकपाना टेकपाना

माघ २०, २०८२ ११:२६

बालेन शाह बने फेसबुकमा सबैभन्दा धेरैले फलो गर्ने नेपाली राजनीतिक व्यक्ति*

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले फेसबुकमा सर्वाधिक फलोअर भएका नेपाली राजनीतिक व्यक्ति बनेका छन् । उनको आधिकारिक फेसबुक पेजमा हाल ३४ लाख ६२ हजारभन्दा बढी फलोअर छन्, जसले केही समयअघि राप्रपाको राजनीतिमा सक्रिय अभिनेत्री रेखा थापालाई उछिनेको हो ।

फेसबुकमा थापाको फेसबुक पेजमा भने ३४ लाख ४६ हजारभन्दा बढी फलोअर रहेका छन् । यसअघि थापाको पेजमा सबैभन्दा बढी फलोअर रहेका थिए, तर हालै बालेनले उनलाई पछि पारेका हुन् ।

बालेनको छुट्टै फेसबुक अकाउन्ट पनि छ, जसमा ४ लाख ५२ हजार फलोअर छन् । उनको लोकप्रियता फेसबुकमा मात्र सीमित छैन । उनलाई इन्स्टाग्राममा पनि १० लाखभन्दा बढीले फलो गरेका छन् ।

काठमाडौँको मेयर पदबाट राजीनामा दिएका बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेको छ । सोही अनुरूप उनी आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार छन् ।

यो क्षेत्र नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, जुन यो निर्वाचनमा सर्वाधिक चर्चाको विषय बनेको छ । उनको फेसबुक पेजलाई म्युजिक/ब्यान्ड क्याटेगरीमा राखिएको छ । तर अब उनको मुख्य परिचय त्यसभन्दा बढी राजनीतिक व्यक्तिको रूपमा स्थापित भइरहेको छ ।

फेसबुक अकाउन्टमा भने बालेनले आफूलाई र्‍यापर, स्ट्रक्चरल इन्जिनियर र काठमाडौँको पूर्व मेयरकव रूपमा चिनाएका छन् । 

 

*यसअघिको समाचार शीर्षकमा अन्यथा पर्न गएकाले सच्याइएको छ । -स.

 

पछिल्लो अध्यावधिक: माघ २०, २०८२ १२:७