close

रवि लामिछानेको ‘एआई सिर्जित’ फोटो प्रयोग गरेर सामाजिक सञ्जालमा भ्रम फैलाइँदै

टेकपाना टेकपाना

माघ २४, २०८२ १३:४६

रवि लामिछानेको ‘एआई सिर्जित’ फोटो प्रयोग गरेर सामाजिक सञ्जालमा भ्रम फैलाइँदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको अस्पतालमा उपचार गराएको भनिएको ‘एआई सिर्जित’ फोटो प्रयोग गरेर सामाजिक सञ्जालमा भ्रम फैलाइएको पाइएको छ । अस्पतालमा भर्ना भएका बेलाको भन्दै भाइरल बनाइएका तस्बिर वास्तविक नभई कृत्रिम रूपमा तयार पारिएको पुष्टि भएको हो । 

यसअघि नै त्रिवि शिक्षण अस्पतालले एक विज्ञप्ति जारी गर्दै अस्पतालभित्र खिचिएको भनिएका लामिछानेका ती तस्बिर एआई सिर्जित भएको र अस्पतालको आधिकारिक तस्बिर नभएको स्पष्ट पारिसकेको छ । त्यस्तै ‘नेपाल फ्याक्टचेक’ले गरेको तथ्यजाँचबाट पनि ती तस्बिरहरू एआईको प्रयोग गरी बनाइएको पुष्टि भएको थियो ।

पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ताले तिनै नक्कली तस्बिर र लामिछानेका वास्तविक तस्बिर तुलना गरी उनले ‘जनता झुक्याएको’ भन्दै आलोचना गरिरहेका छन् । एआई सिर्जित फोटोमा दायाँ खुट्टामा प्लास्टर देखिएको र अस्पतालबाट बाहिरिँदाको वास्तविक फोटोमा बायाँ खुट्टामा ब्यान्डेज देखिएको भन्दै उनलाई ठगीको आरोप समेत लगाइएको छ ।

वास्तवमा अस्पतालभित्र लामिछानेको कुनै पनि सक्कली तस्बिर सार्वजनिक भएको थिएन । लामिछानेका समर्थक तथा रास्वपाकी समानुपातिक उम्मेदवार ज्वाला सङ्ग्रौला लगायतले समेत त्यतिबेला एआई सिर्जित शेयर गरेका थिए ।

अहिले दर्जनौँ सामाजिक सञ्जाल प्रयोगकर्ताले तिनै एआई सिर्जित नक्कली तस्बिरलाई आधार बनाएर लामिछानेले नाटक गरेको दाबीसहितका भ्रामक सामग्रीहरू पोस्ट गरिरहेका छन् । हेर्नुहोस् स्क्रिनशटहरूः

 

पछिल्लो अध्यावधिक: माघ २४, २०८२ १४:३०