नकारात्मक कमेन्ट आउन थालेपछि निशा अधिकारी भन्छिन्- महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन
माघ २४, २०८२ २३:१
काठमाडौँ । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि काठमाडौँ क्षेत्र नं. ५ बाट उम्मेदवार बनेकी अभिनेत्री एवं राजनीतिकर्मी निशा अधिकारीले आफूमाथि भइरहेको सामाजिक सञ्जालको दुर्व्यवहारप्रति आपत्ति जनाएकी छिन् । शनिबार फेसबुकमा एक पोस्ट राख्दै उनले महिला उम्मेदवारमाथि गरिने घृणात्मक र अपमानजनक टिप्पणीहरू समाजमा गहिरो गरी जरा गाडेको ‘महिलाविरोधी सोच’ को प्रतिविम्ब भएको बताएकी हुन् ।
गतिशील लोकतान्त्रिक पार्टीबाट ‘ब्याट्री’ चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएकी अधिकारीले आफूविरुद्ध आएका नकारात्मक र अश्लील प्रकृतिका कमेन्ट सार्वजनिक गर्दै यस्तो प्रतिक्रिया दिएकी हुन् । उनले भनिन्, “यस्तो भाषा असहमति वा बहस होइन । यो शक्ति र डरबाट जन्मिएको, महिलालाई सार्वजनिक जीवनबाट हटाउन, डराउन र चुप गराउन प्रयोग गरिने हिंसा हो ।”
आफूमाथि भएका प्रहारहरू व्यक्तिगत मात्र नभई राजनीति र नेतृत्वमा रहेका सम्पूर्ण महिलामाथि लक्षित रहेको उनको ठहर छ । उनले सामाजिक सञ्जालमा क्षमता र एजेन्डाभन्दा पनि महिला भएकै कारण चरित्र र अस्तित्वमाथि प्रहार गर्ने प्रवृत्ति बढेकोमा चिन्ता व्यक्त गरेकी छिन् ।
विभिन्न अनलाइन दुर्व्यवहार सामना गरिरहेका अन्य महिलासँग दृढ ऐक्यबद्धता व्यक्त गर्दै अधिकारीले लेखेकी छिन्, “हामी चुप लाग्ने छैनौँ, पछाडि हट्ने छैनौँ । महिलालाई अपमान गरेर राजनीति शुद्ध हुँदैन र लोकतन्त्र पनि बलियो हुँदैन ।”
समर्थकबाट प्राप्त माया र विश्वासले आफूलाई थप ऊर्जा दिएको उल्लेख गर्दै उनले यो लडाइँ व्यक्तिगत नभई सम्पूर्ण महिलाको अधिकार, सम्मान र बराबरीको लडाइँ भएको बताएकी छिन् । उनले “जब महिला अघि सर्छ, तब देश अघि बढ्छ” भन्ने दृढ संकल्पका साथ आफ्नो चुनावी अभियानलाई जारी राख्ने उद्घोष गरेकी छिन् ।
अभिनेत्रीबाट राजनीतिमा प्रवेश गरेकी अधिकारीले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि काठमाडौँ-५ बाट उम्मेदवारी दिएकी हुन् । उनीविरुद्ध आएका कतिपय कमेन्टहरू उल्लेख गर्नै नसकिने खालका भए पनि उनले त्यसको डटेर सामना गर्ने बताएकी छिन् ।
महिला उम्मेदवारमाथि प्रयोग गरिने घृणात्मक र अपमानजनक शब्दहरूले महिलाको हैसियत होइन, हाम्रो समाजमा गहिरो गरी जरा गाडेको महिला–विरोधी सोच प्रतिबिम्बित गर्छ। यस्तो भाषा असहमति होइन। यो बहस होइन। यो शक्ति र डरबाट जन्मिएको, महिलालाई सार्वजनिक जीवनबाट हटाउन, डराउन र चुप गराउन .. (1/) pic.twitter.com/0Bd9gwVf5e
— Nisha Adhikari (@nishaadhikari4u) February 7, 2026
पछिल्लो अध्यावधिक: माघ २४, २०८२ २३:५९
