फ्याक्टचेक: धनगढीमा महेश बस्नेतले कुटाई खाएको भन्दै दुई महिना पुरानो भ्रामक भिडिओ भाइरल
माघ २५, २०८२ ११:५७
काठमाडौँ । सामाजिक सञ्जालमा एमाले नेता महेश बस्नेत धनगढी पुग्दा लखेटिएको दाबी सहितको भिडिओ सामाजिक सञ्जालमा केही दिन यता भाइरल भइरहेको छ । टेकपानाको तथ्यजाँचबाट दुई महिना पहिला धनगढीमा महेश बस्नेत जाँदा जेनजी युवा र एमाले भातृसङ्गठनको युवाहरू बिच भएको झडपको भिडिओलाई हाल धनगढीबाट महेश बस्नेतलाई लखेटिएको भन्दै भ्रम फैलाइएको हो ।
दाबी
६ फेब्रुअरी (गएको बिहीबार) बिहान ११:५१ मा फेसबुक प्रयोगकर्ता ‘Deepak’ ले ‘धनगडि मा भोगटे ले कुटाई खायो’ क्याप्सन सहित एक भिडिओ सार्वजनिक गरेका छन् । भिडिओमा केही युवाहरूको प्रहरीसँग घम्साघम्सी परिरहेको देख्न सकिन्छ ।
भिडिओमा भनिएको छ, “धनगढीमा धनगढीमा । महेश बस्नेत भोगटेले खानु गोदाइ खाएछ । भोगटेका भोगटे नै बाहिर निस्किएछ । यो चाहिँ एकदमै खुसीको कुरा साथीहरू” । भिडिओलाई यो सामग्री तयार पार्दा सम्म ६ लाखभन्दा बढी पटक हेरिएको छ । भिडिओमा २० हजार बढि रियाक्सन, एक हजार ३०० कमेन्ट आएको छ भने ७३३ भन्दा धेरै पटक शेयर भएको छ ।
हेर्नुहोस् फेसबुकमा सार्वजनिक भएको ओरिजिनल भिडिओ, रेकर्डेड भिडिओ र स्क्रिनशट ।

अनुसन्धानः
धनगढीमा महेश बस्नेतले कुटाइ खाएको दाबी सहितको भिडिओ भाइरल भएको पाइएपछि हामीले गुगलमा ‘महेश बस्नेत धनगढी’, ‘महेश बस्नेत कुटाइ’ , ‘महेश बस्नेत धनगढी झडप’ लगायतका किवर्ड राखेर गुगल एड्भान्स सर्च गर्यौँ । यसरी खोजी गर्ने क्रममा ‘झर्रो नेपाली’ नामक फेसबुक पेजबाट २६ नोभेम्बर २०२५ मा सार्वजनिक भएको भिडिओ फेला पर्यो ।
उक्त भिडिओको क्याप्सनमा लेखिएको छ, “राष्ट्रिय युवा संघको कार्यक्रममा सहभागी हुन धनगढी पुगेका एमाले नेता महेश बस्नेतविरुद्ध धनगढी विमानस्थलमा जेनजी युवाहरुले विरोध प्रदर्शन गरेका छन्। सो क्रममा युवासंघ र जेनजी युवाहरुबीच झडप समेत भएको छ।”

हामीले उक्त भिडिओलाई फेसबुक प्रयोगकर्ता ‘Deepak’ ले सार्वजनिक गरेको भिडिओसँग तुलना गरेर हेर्दा दुबै भिडिओ एउटै समयको भएको देखियो ।

२६ नोभेम्बर देखि नै उक्त भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको पाइएपछि हामीले महेश बस्नेतको बारेमा त्यस समयका समाचारहरू खोज्यौँ । तर महेश बस्नेतले कुटाइ खाएको सामग्री फेला परेन ।
खोजि गर्ने क्रममा महेश बस्नेत धनगढी जाँदा झडप भएको सामग्री भने फेला पर्यो । गोरखापत्रले १० मंसीर (२६ नोभेम्बर) मा ‘युवासङ्घ र जेनजीबिच झडप, केही जेनजी घाइते’ शीर्षकमा समाचार प्रकासित गरेको छ ।
निराजन परियारको बाइलाइनमा लेखिएको उक्त समाचारमा महेश बस्नेत धनगढी पुग्दा जेनजी युवा र एमालेको भातृसङ्गठन युवाबिच सामान्य झडप भएको उल्लेख छ । समाचारमा लेखिएको छ, “धनगढीमा नेकपा (एमाले) का नेता महेश बस्नेत पुग्दा केही तनाव भएको छ । बस्नेतको विरोधमा जेनजीहरू प्रदर्शन गरेपछि अवस्था केही तनावपूर्ण बनेको हो । नेता बस्नेतको विरोधमा धनगढीको जेनजी मार्गनजिक हसनपुरमा युवाहरूको समूहले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । एमाले पोलिटब्युरो सदस्य नेता बस्नेतलाई धनगढी विमानस्थलमा स्वागत गरेर कार्यक्रमस्थलमा लग्ने क्रममा जेनजी मार्गनजिकमा जेनजी युवा र एमालेको भातृसङ्गठन युवाबिच सामान्य झडप भएको थियो ।”
समाचारमा युवाहरूले प्रदर्शन गरिरहेको तस्बिर प्रयोग गरेको छ । हेर्नुहोस् समाचार र स्क्रिनशट ।

दाबी
एमाले नेता महेश बस्नेत धनगढीबाट लखेटिए ।
दाबीकर्ता
फेसबुक प्रयोगकर्ता ‘Deepak’ सहित सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
हाल सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडिओ कम्तीमा दुई महिना पुरानो हो । महेश बस्नेत धनगढीमा राष्ट्रिय युवा सङ्घको कार्यक्रममा सहभागी हुन पुगेका बेला जेनजी युवाहरू र एमालेको भातृसङ्गठनका युवाबिच झडप भएको थियो । सो घटनामा महेश बस्नेतले कुटाइ खाएका थिएनन् ।
निष्कर्ष
धनगढीमा एमाले नेता महेश बस्नेतले कुटाइ खाएको तथा लखेटिएको दाबी सहित भाइरल भइरहेको भिडिओ भ्रामक हो । १० मंसिरमा धनगढीमा महेश बस्नेत जाँदा जेनजी युवा र एमाले भातृसङ्गठनको युवाहरू बिच भएको झडपको भिडिओलाई हाल महेश बस्नेतलाई धनगढीबाट लखेटिएको भन्दै भ्रम फैलाइएको हो ।
पछिल्लो अध्यावधिक: माघ २५, २०८२ १२:०
