close

अमिताभ बच्चन, अक्षय कुमार आदिले अभिनेता थापालाई श्रद्धाञ्जली दिएको भन्दै एआई भिडिओ भाइरल

टेकपाना टेकपाना

माघ २५, २०८२ १२:४१

अमिताभ बच्चन, अक्षय कुमार आदिले अभिनेता थापालाई श्रद्धाञ्जली दिएको भन्दै एआई भिडिओ भाइरल

काठमाडौँ । नेपाली चलचित्र उद्योगका स्थापित अभिनेता सुनिल थापाको निधनको दुःखद घडीमा एआईको दुरुपयोग गरी बलिउड कलाकारले श्रद्धाञ्जली दिएको भन्दै सञ्जालमा भ्रामक भिडिओ बनेका छन् ।

शनिबार हृदयघातका कारण थापाको निधन भएलगत्तै टिकटक लगायतका माध्यममा अमिताभ बच्चन, अक्षय कुमार र आमिर खान जस्ता भारतीय कलाकारले शोक व्यक्त गरेको देखिने नक्कली भिडिओ फैलिन थालेका हुन् ।

विशेषगरी ‘speed8817’ नामक टिकटक ह्यान्डलबाट पोस्ट गरिएको अमिताभ बच्चनको एउटा भिडिओले यो सामग्री तयार पार्दासम्म ३३ लाखभन्दा बढी भ्युज र ३ लाख ६० हजारभन्दा बढी लाइक बटुल्दै दर्शकलाई भ्रममा पारेको छ । 

यही भिडिओ डाउनलोड गर्दै अन्य प्रयोगकर्ताले फेसबुकमा समेत अपलोड गरेका छन् । यद्यपि टेकपानाले जाँच गर्ने क्रममा ती भिडिओ पूर्णतः एआई सिर्जित भएको पुष्टि भएको छ । 

अमिताभ बच्चनको आधिकारिक फेसबुक वा एक्स अकाउन्टमा सुनिल थापाप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको कुनै पनि पोस्ट भेटिएको छैन भने ‘हाइभ मोडरेसन’ जस्ता प्राविधिक टुलले पनि उक्त भिडिओ एआईद्वारा बनाइएको उच्च सम्भावना देखाएका छन् ।

सोही टिकटक प्रयोगकर्ताले अक्षय कुमार र आमिर खानका नाममा पनि यस्तै भ्रामक सामग्री अपलोड गरेका छन् । तर, आमिर खान सामाजिक सञ्जालमा सक्रिय नरहेको र अक्षय कुमारको आधिकारिक पेजमा पनि यस्तो कुनै भिडिओ नभएकाले यी सामग्री बनावटी भएको बुझ्न सकिन्छ । 

नेपाल र भारतका कुनै पनि आधिकारिक सञ्चारमाध्यमले यसबारे समाचार सम्प्रेषण नगरेकाले श्रद्धाञ्जलीका नाममा भाइरल भइरहेका यस्ता एआई भिडिओहरू तथ्यहीन र भ्रमपूर्ण रहेको पुष्टि हुन्छ । हामीले उक्त अकाउन्ट विश्लेषण गर्दा ती प्रयोगकर्ता नेपाली रहेको र उनले एआई सिर्जित भ्रामक भिडिओ राख्दै आएको पायौँ । 

पछिल्लो अध्यावधिक: माघ २५, २०८२ १२:४१