फ्याक्टचेकः केपी ओलीको चुनाव प्रचारमा 'नक्सा लिन वडामा आइज' भन्ने व्यक्ति वडा सदस्य नेम्वाङ
माघ २७, २०८२ ०:४८
काठमाडौँ । मङ्गलबार साँझदेखि सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी प्रचार प्रसारको एउटा भिडिओ भाइरल बन्यो । जसमा एक जना व्यक्तिले ओलीलाई प्रश्न सोध्ने मतदाताहरूलाई “नक्सा लिन वडामा आइज्’ भन्दै थर्काइरहेका थिए ।
यसरी चुनावी प्रचारमा हिँड्ने र मतदातालाई वडामा आउन भन्दै थर्काउने व्यक्ति कुनै जनप्रतिनिधि हुनसक्ने भन्दै कतिपय प्रयोगकर्ताले फ्याक्टचेकका लागि टेकपानालाई मेन्सन गरेका छन् । फ्याक्टचेकका क्रममा चुनावी प्रचारमा हिँडेर मतदातालाई थर्काइरहेको जस्तो गर्ने व्यक्ति झापाको गौरादह नगरपालिकाको वडा नम्बर ४ का सदस्य रहेको पुष्टि भएको छ ।
दाबीः
जेनजी आन्दोलनकी नेतृ भावना राउतले १० फेब्रुअरी २०२६ का दिन राति ८ः३० मा फेसबुकमा Damak Info नामक पेजमा पोस्ट भएको एउटा भिडिओ शेयर गरेकी छिन् । उनले भिडिओ शेयर गर्दै पोस्टमा लेखेकी छिन्, “यो वडामा आइज, काम हुँदैछ भन्ने को हो? यदि वडाका सदस्य, अध्यक्ष केही हो भने निर्वाचन प्रचार–प्रसारमा किन छन्? Fact check please TechPana CC To Nepal Police Election Commission, Nepal” हेर्नुहोस् उनको पोस्ट र स्क्रिनशट ।

अनुसन्धानः
टेकपाना फ्याक्टचेकका क्रममा हामीले ‘केपी ओली लालपुर्जा’, ‘केपी ओली लालपुर्जा थर्काए’, ‘केपी ओली नक्सा’, केपी शर्मा ओली चुनाव प्रचार धम्की’ जस्ता किवर्ड राखेर सामाजिक सञ्जालमा सर्च गर्यौँ । त्यस क्रममा Popular Network नामक पेजमा सोही घटनाको भिडिओ राखिएको छ । जसको क्याप्सनमा लेखिएको छ, “- केपी ओलीका झो*ले गु*ण्डाले प्रश्न गर्ने जनतालाई थ*र्काए प्रश्न सोध्ने अवस्था बनेको छ राम्रो । तर "झोले" हरूले प्रश्नकर्तालाई यसरी थर्काएछन । "वडामा आइजा लालपुर्जा दिन्छु" रे ।” हेर्नुहोस्, भिडिओ र त्यसको स्क्रिनशट ।

Kalinchowk online नामक फेसबुक पेजले पनि सोही घटनाको भिडिओ पोस्ट गरेको छ । “झापामा केपी ओलीलाई धनी पुर्जा आएको खोइ भन्दै पारे रयाख-रयाख्ती” भन्दै राखिएको भिडिओको कमेन्टमा Nabin Subedi नाम गरेका प्रयोगकर्ताले टेकपानालाई मेन्सन गरेका छन् । उनले भनेका छन्, “यो नक्सा म दिन्छु भन्ने कुन गुण्डा नाइके हो ? 🤔 यो कस्तो दादागिरी हो ?Election Commission, Nepal TechPana” हेर्नुहोस्, भिडिओ र त्यसको स्क्रिनशट ।

BaahraKhari नामक फेसबुक पेजले पनि सोही घटनाको भिडिओ पोस्ट गरेको छ । जसको क्याप्सनमा लेखिएको छ, “ओलीमाथि खनिए झापा गौरादहका स्थानीय” । हेर्नुहोस् भिडिओ र त्यसको स्क्रिनशटः

टेकपाना फ्याक्टचेक डेस्कले २०७९ सालमा भएको स्थानीय निर्वाचनमा गौरादह नगरपालिकामा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको सूची निर्वाचन आयोगको वेबसाइटबाट निकाल्यौँ र उनीहरूको नाम विभिन्न सामाजिक सञ्जाल तथा गुगलमा खोज्यौँ । तर केपी शर्मा ओलीको प्रचारमा सहभागी व्यक्तिको अनुहारसँग मेल खाने व्यक्ति पहिचान गर्न सकिएन ।

त्यसपछि हामीले गौरादह नगरपालिकाको वेबसाइट तथा फेसबुक पेजमा उपलब्ध सबै फोटोहरू विश्लेषण गर्यौँ । तर पनि ती व्यक्तिको नाम र परिचय खुल्ने तस्विर फेला परेन । विकल्पको रूपमा टेकपाना फ्याक्टचेकले गौरादहको नगर प्रमुखमा निर्वाचित छत्रपति सुवेदीको फेसबुक पेज खोतल्यो, जो एमालेको तर्फबाट २०७९ सालको स्थानीय निर्वाचनमा विजयी भएका थिए ।
उनको फेसबुक पेजमा २०७९ सालको स्थानीय निर्वाचनमा गौरादह नगरपालिकामा विजयी उम्मेदवारहरूलाई निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र वितरण प्रमाणपत्र ग्रहण गर्दै गरेका तस्विरहरू भेटिए । तल हेर्नुहोस्, फेसबुक पेजमा त्यस्ता तस्विरहरू देखिने स्क्रिनशट ।

ती तस्विरहरू एकएक गरी केलाउँदा केपी शर्मा ओलीको प्रचारमा मतदातालाई थर्काउँदै गरेका व्यक्तिको अनुहारसँग मेल खाने एउटा तस्विर फेला पर्यो । हेर्नुहोस् उक्त तस्विर र त्यसको लिङ्क ।
ती व्यक्तिले ग्रहण गर्दै गरेको प्रमाणपत्र जुम गरी हेर्दा उनको नाम ‘सूर्य…’ लेखे जस्तो देखिए पनि स्पष्ट बुझिएन । तल हेर्नुहोस्, झुम गरिएको प्रमाणपत्र ।

नगर प्रमुख सुवेदीको पेजमा रहेका अन्य फोटोहरू खोज्दै जाँदा अर्को पोस्ट भेटियो । जसमा उनले गौरादह-४ मा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्ष दुर्गामणी बस्नेत आफ्नो प्यानल सहित विजयी भएकोमा बधाई दिएका छन् । उक्त पोस्टरमा हामीले पहिचान गर्न खोजेका व्यक्तिको नाम सूर्यबहादुर नेम्वाङ रहेको देखियो । उनी खुला तर्फबाट गौरादहको वडा नम्बर ४ को सदस्यमा निर्वाचित भएका रहेछन् । हेर्नुहोस्, उक्त पोस्टर, पोस्टरको फेसबुक लिङ्क ।

नाम यकिन गरिसकेपछि उनी निर्वाचिन जनप्रतिनिधि हुन् कि होइनन् भन्ने कुरा बुझ्न हामीले थप अनुसन्धान थाल्यौँ । निर्वाचन आयोगको निर्वाचन परिणाम समावेश पोर्टलमा कोशी प्रदेश, झापा जिल्ला, गौरादह नगरपालिका, वडा नम्बर ४ का सदस्यको नतिजा हेर्दा एमालेको तर्फबाट सूर्यबहादुर नेम्वाङ सुब्बा विजयी भएको देखियो । हेर्नुहोस् निर्वाचन आयोगको मतपरिणाम खोज्न मिल्ने पोर्टल र त्यसको स्क्रिनशट । 
त्यस्तै नगरपालिकाको वेबसाइटमा वडा नम्बर ४ का पदाधिकारीहरूको सूचीमा पनि उनको नाम वडा सदस्य भनेर उल्लेख रहेको भेटियो । हेर्नुहोस् नगरपालिकाको वेबसाइटमा सूचीकृत उनको नाम देखिने लिङ्क र त्यसको स्क्रिनशट ।

दाबी
सामाजिक सञ्जालमा भाइरल भएको केपी शर्मा ओलीको चुनावी प्रचारसम्बन्धी भिडिओमा एक व्यक्तिले मतदाताहरूलाई “नक्सा लिन वडामा आइज” भन्दै थर्काएको देखिन्छ। उक्त व्यक्तिको व्यवहार आक्रामक र धम्कीपूर्ण देखिएकाले उनी कुनै जनप्रतिनिधि हुन् वा होइनन् भन्ने प्रश्न उठाइएको छ ।
जेनजी आन्दोलनकी नेतृ भावना राउतले उक्त भिडिओ फेसबुकमा शेयर गर्दै “यो वडामा आइज, काम हुँदैछ भन्ने को हो?” भन्दै प्रश्न गरेकी छिन् । उनले यदि उनी वडा सदस्य वा अध्यक्ष नै हुन् भने निर्वाचन प्रचारमा किन सक्रिय छन् भनेर टेकपानालाई फ्याक्टचेक गर्न आग्रह गरेकी थिइन् ।
दाबीकर्ता
भाइरल भिडिओको सन्दर्भमा जेनजी आन्दोलनकी नेतृ भावना राउतले फेसबुक पोस्टमार्फत उक्त व्यक्ति जनप्रतिनिधि हुनसक्ने आशङ्का व्यक्त गरेकी हुन् । उनले टेकपानालाई मेन्सन गर्दै नेपाल प्रहरी र निर्वाचन आयोगलाई समेत सीसी राखेर तथ्य पुष्टि गर्न अनुरोध गरेकी थिइन् ।
त्यस्तै, विभिन्न फेसबुक पेजहरूमा भिडिओ पोस्ट भएपछि प्रयोगकर्ताहरूले पनि उक्त व्यक्तिलाई 'गुण्डा नाइके' भन्दै आलोचना गरेका छन् र उनी को हुन् भन्ने विषयमा टेकपानालाई फ्याक्टचेक गर्न आग्रह गरेका छन् ।
तथ्य
टेकपाना फ्याक्टचेक डेस्कले उक्त भिडिओसँग सम्बन्धित सामग्री ‘केपी ओली लालपुर्जा’, ‘केपी ओली नक्सा’, ‘केपी ओली चुनाव प्रचार धम्की’ जस्ता किवर्ड प्रयोग गरी खोजी गर्दा BaahraKhari, Popular Network र Kalinchowk Online लगायतका फेसबुक पेजहरूमा पनि भिडिओ पोस्ट भएको भेटियो । यसले भिडिओ व्यापक रूपमा फैलिएको पुष्टि हुन्छ ।
त्यसपछि गौरादह नगरपालिकाका जनप्रतिनिधिहरूको सूची र सार्वजनिक फोटोहरू अध्ययन गर्दा नगर प्रमुख छत्रपति सुवेदीको फेसबुक पेजमा प्रमाणपत्र वितरण समारोहका तस्वीरहरू फेला परे । ती तस्विर विश्लेषण गर्दा भिडिओमा देखिएको व्यक्तिसँग मिल्दोजुल्दो अनुहार भएको व्यक्ति भेटियो । थप अनुसन्धानपछि गौरादह-४ को एमाले प्यानलको पोस्टरमा उक्त व्यक्तिको नाम सूर्यबहादुर नेम्वाङ रहेको स्पष्ट भयो । निर्वाचन आयोगको मत परिणाम पोर्टल र गौरादह नगरपालिकाको वेबसाइटमा पनि उनी गौरादह नगरपालिका वडा नम्बर ४ का वडा सदस्य भएको पुष्टि भयो ।
निष्कर्ष
केपी शर्मा ओलीको चुनावी प्रचारमा “नक्सा लिन वडामा आइज” भन्दै मतदातालाई थर्काइरहेको देखिएको व्यक्ति झापा जिल्लाको गौरादह नगरपालिका वडा नम्बर ४ का वडा सदस्य सूर्यबहादुर नेम्वाङ सुब्बा नै भएको पुष्टि भएको छ । निर्वाचन आयोगको नतिजा पोर्टल र नगरपालिकाको आधिकारिक सूचीले उनलाई निर्वाचित वडा सदस्यको रूपमा देखाएको छ ।
यसकारण सामाजिक सञ्जालमा उठाइएको आशङ्का सही ठहरिन्छ - भिडिओमा देखिएको व्यक्ति एमालेका सामान्य कार्यकर्ता होइनन्, निर्वाचित जनप्रतिनिधि (वडा सदस्य) हुन् । त्यसैले यो दाबी सत्य भएको निष्कर्ष निस्किएको छ ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: माघ २८, २०८२ १९:४२
