फ्याक्टचेकः जेनजी पुस्ताका एमालेकै युवाले महेश बस्नेतलाई कालो मोसो दलेको दाबी झुटो, एडिटेड फोटो भाइरल
फागुन २, २०८२ १६:१५
काठमाडौँ । सामाजिक सञ्जालमा नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतलाई जेन-जी पुस्ताका युवाले मञ्चमै पुगेर कालो मोसो दलेको दाबीसहितको तस्बिर भाइरल भइरहेको छ । तर, टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट उक्त दाबी र तस्बिर दुवै भ्रामक रहेको पुष्टि भएको छ । बस्नेत सहभागी एक पुरानो कार्यक्रमको तस्बिरलाई डिजिटल माध्यमबाट सम्पादन गरेर गलत प्रचार गरिएको पाइएको हो ।
दाबी
फेसबुकमा ‘Urrmee Xetry’ नामकी प्रयोगकर्ताले १२ फेब्रुअरी २०२६ राति ११ः१३ बजे एउटा पोस्ट राखिन् । पोस्ट गरिएको फोटोमा एमाले सचिव महेश बस्नेत देखिएका छन् । उनको शरीरमा मोसो छरिएको र गालामा मोसो लागेको देखिएको छ । उक्त पोस्टको क्याप्सनमा लेखिएको छ, “बलत्कारी आरोपी महेस बस्नेतलाई आज भक्तपुरको कार्यक्रममा यक जना जेन्जी पुस्ताका एमाले कै युवाले स्टेजमै गयर कालो मुसो दलेका छन । जेन्जिलाइ आतंककारी भनेको भन्दै उनले कालो मुसो दलेको प्रहरिलाइ जानकारी दियका छन । महेस बस्नेतले जेन्जी आन्दोलन पछि सबै जेन्जी साथिहरुलाइ आतंककारी हो भन्दै हिडेका थिय भने उनलाइ देश का विभिन्न स्थानमा लखेटियको पनि थियो । भने उन्को गाडिमा समेत रातो मसि यश अगि नै छ्यापियको थियो । बस्नेतलाइ अहिले आफुले बोल्दै आयका शब्द नै भारी परेको छ ।”
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २१०० बढी रियाक्सन र ३५३ कमेन्ट आएका छन् भने ६९ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

अनुसन्धान
टेकपाना फ्याक्टचेक डेस्कले सोही किसिमका दाबी फेला पार्न ‘महेश बस्नेत, जेन्जी कालो मुसो’ जस्ता किवर्ड फेसबुक, इन्स्टाग्राम, एक्स र टिकटकमा खोज्यो । त्यस क्रममा फेसबुकमा ‘Routine of Palpa’ नामको फेसबुक पेजले सोही फोटो र क्याप्सन १२ फेब्रुअरी राति १०ः०९ बजे राखेको फेला पर्यो । उक्त पोस्टमा यो सामग्री तयार पार्दासम्म १८०० बढी रियाक्सन, १२८ कमेन्ट आएका छन् भने ५३ पटक शेयर भएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यस्तै ‘Bhojraj Thapa’ नामको फेसबुक ग्रुपमा सूर्य श्रेष्ठ नामका फेसबुक प्रयोगकर्ताले पनि त्यही पोस्ट १४ फेब्रुअरी बिहान ०४ः४१ बजे पोस्ट गरेका छन् । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

त्यसैगरी ‘News Patrika’ नामको फेसबुक पेजले पनि त्यही पोस्ट १२ फेब्रुअरी २०२६ अपरान्ह ४ः४१ बजे शेयर गरेको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।

राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची नामको फेसबुक पेज (ओरिजिनल पोस्ट र आर्काइभ पोस्ट), सुमन कार्की नामका फेसबुक प्रयोगकर्ता (ओरिजिनल पोस्ट र आर्काइभ पोस्ट) लगायत अन्य फेसबुक प्रयोगकर्ताले पनि त्यही पोस्ट कपी पेस्ट गर्दै अपलोड गरेका छन् ।


एक्समा ‘MissionFagun21’ ह्यान्डल भएका प्रयोगकर्ताले त्यही फोटो पोस्ट राख्दै यो साँचो हो ? भन्दै प्रश्न राखेका छन् । (आर्काइभ लिङ्क) । इन्स्टाग्राम र टिकटकमा भने यस्ता दाबीको भिडिओ वा फोटो फेला परेन ।
यस विषयको तथ्यजाँचका लागि गुगल रिभर्स इमेज सर्च गर्दा २३ नोभेम्बर २०२५ मा अन्नपूर्ण एक्सप्रेस डटकममा प्रकाशित ‘Protesters hurl balloons, spray paint on Mahesh Basnet’s car in Biratnagar’ (विराटनगरमा महेश बस्नेतको गाडीमा प्रदर्शनकारीद्वारा बेलुन प्रहार र स्प्रे पेन्ट) शीर्षकको समाचारमा उक्त फोटो प्रयोग भएको पाइयो । यो फोटो अन्नपूर्ण एक्सप्रेसले नै खिचेको उक्त समाचारमा उल्लेख छ । हेर्नुहोस् समाचार ।

यससम्बन्धी अन्य फोटो खोज्ने क्रममा २० नोभेम्बर २०२५ मा कर्पोरेट नेपालको युट्युब च्यानलनमा शर्ट्स भिडिओ अपलोड भएको पाइयो । हेर्नुहोस् भिडिओ ।
कालो मोसो दलिएको भन्दै भाइरल भइरहेको फोटो र समाचारमा देखिएको फोटो मेल खाएको पाइयो । तर, भाइरल भएको फोटोमा पछिबाट कालो रङ्ग छरिएको देखिने गरी एडिट गरिएको देखिन्छ ।

फोटो एआईको सहायताले एडिट गरिएको हो वा होइन भन्ने विश्लेषण गर्न हाइभ मोडरेसन टुलमा जाँच गर्दा ७९.७ प्रतिशत एआई वा डिपफेक हुन सक्ने देखियो ।

त्यसबाहेक फ्याक्टचेक डेस्कले महेश बस्नेत सहभागी कार्यक्रममा उनलाई मोसो दलिएको भन्ने विषयमा तयार पारिएका समाचार खोज्यौं । तर, कुनै पनि मूलधार र व्यावसायिक सञ्चार माध्यममा त्यस विषयमा समाचार राखिएको फेला परेन । यी विभिन्न तथ्यलाई विश्लेषण गर्दा महेश बस्नेत सहभागी भक्तपुरको एक कार्यक्रममा जेन-जी पुस्ताका एमाले युवाले नै कालो मोसो दलेको भन्ने दाबी मिथ्या पुष्टि हुन्छ । साथै त्यसमा प्रयोग गरिएको फोटो एडिटेड रहेको देखिन्छ ।
दाबी
नेकपा एमालेका सचिव एवं सांसद महेश बस्नेतलाई भक्तपुरको एउटा कार्यक्रममा जेन-जी पुस्ताका युवाले मञ्चमै गएर कालो मोसो दले ।
दाबीकर्ता
‘Urrmee Xetry’, ‘Routine of Palpa’, ‘News Patrika’ सूर्य श्रेष्ठ, सुमन कार्की, 'राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँची' लगायतका फेसबुक पेज तथा प्रयोगकर्ता ।
तथ्य
गुगल रिभर्स इमेज सर्च गर्दा भाइरल फोटो २३ नोभेम्बर २०२५ मा ‘अन्नपूर्ण एक्सप्रेस’मा प्रकाशित समाचारको भएको पाइयो । उक्त तस्बिर विराटनगरमा बस्नेतको गाडीमा रातो मसी छ्यापिएको घटनाको थियो । भाइरल बनाइएको फोटोलाई एआई वा अन्य प्रविधि प्रयोग गरेर एडिट गरिएको पाइएको छ । 'हाइभ मोडरेसन टुल'बाट जाँच गर्दा उक्त फोटो ७९.७ प्रतिशत एआई वा डिपफेक हुन सक्ने देखिएको छ । त्यसैगरी कुनै पनि मूलधारका विश्वसनीय सञ्चार माध्यमले महेश बस्नेतलाई भक्तपुरमा कालो मोसो दलिएको बारे कुनै समाचार वा सूचना सम्प्रेषण गरेका छैनन् ।
निष्कर्ष
महेश बस्नेतलाई जेन-जी पुस्ताका एमाले युवाले नै कालो मोसो दलेको भन्ने दाबी मिथ्या हो । पुरानो र फरक सन्दर्भको तस्बिरलाई एडिट गरी गलत प्रचार गरिएको पुष्टि हुन्छ ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: फागुन ४, २०८२ ११:४
