'सोबिता गौतमले जित्ने' भन्दै समाचार लेखेपछि सेतोपाटीलाई कारबाही गर्न निर्वाचन आयोगको पत्राचार
फागुन ४, २०८२ १२:२७
काठमाडौँ । निर्वाचन आयोगले सेतोपाटी अनलाइनमाथि आवश्यक कारबाहीका लागि पत्राचार गरेको छ । सोमबार प्रेस काउन्सिल नेपाललाई पत्राचार गर्दै मत सर्वेक्षण प्रकाशन गरी निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको ठहरसहित आवश्यक कारबाहीका लागि अनुरोध गरिएको हो ।
सेतोपाटीले आइतबार 'चितवन ३ मा सोबिता गौतमले जित्ने र रेणु दाहाल दोस्रो हुने' तथा सोमबार भोट 'रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ' शीर्षकमा समाचार प्रकाशन गरेको थियो । प्रकाशित समाचार प्रति आयोगले गम्भीर ध्यानाकर्षण जनाउँदै सो कार्य निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को खण्ड (त) मा रहेको व्यवस्था विपरीत रहेको ठहर गरेको छ ।
जसमा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने व्यवस्था छ । यसका साथै सोही आचार संहिताको दफा २५ को खण्ड (ख) मा 'कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने' भनिएको छ । सेतोपाटीमा प्रकाशित समाचारले यी दुवै व्यवस्था उल्लङ्घन गरेको ठहर सहित आयोगले कारबाहीका लागि पत्राचार गरेको हो ।

पछिल्लो अध्यावधिक: फागुन ४, २०८२ १२:३०
